काठमाडौं । मधुमेहका रोगीको संख्या बढ्दो छ । यसको रोकथामका लागि औषधिको प्रयोग गर्नेहरु पनि धेरै छन् । मधुमेहको समस्या भएकाहरु आफूलाई खान मन लागेका खाना नखाई बसिरहेका हुन्छन् । मधुमेह रोगका बारेमा आम मानिसमा अन्य धेरै भ्रम छन् ।
फेरिएको जीवनशैली र खानपानमा परिवर्तनका कारण मधुमेहको समस्या बढिरहेको छ । मधुमेह भएकाले चामल र आलु खानै हुन्न भनेको पनि हामीले सुन्ने गर्छौं । तर खाना खान हुँदैन भन्ने विषय सत्य नभएको चितिक्सकहरु बताउँछन् । ‘मधुमेह भएकाले खानपानमा क्यालोरीलाई ध्यान दिनुपर्छ, हाई क्यालोरी भएको खाना कम खानु पर्छ,’ चिकित्सकहरु भन्छन्,‘त्यसैले चामल, आलु, तारेको खानेकुरा कम खानु राम्रो हुन्छ ।’
सेतो चामलमा कार्बोहाइड्रेट तथा ग्लाइसेमिक सूचांकको उच्च मात्रा हुन्छ । जसले चिनीको मात्रालाई अझ बढावा दिने काम गर्छ । मधुमेहका बिरामीले कम मात्रामा चामलको भात खानुपर्छ तर खानै हुन्न भन्नु भ्रम मात्र हो ।
मधुमेहका बिरामीले आलु खानु हुँदैन भन्ने पनि भ्रम रहेको छ । मधुमेहका बिरामीले आलु नै खान नहुने भन्ने हुँदैन । उचित मात्रामा तथा थोरै थोरै खाएमा आलुले पनि मधुमेहलाई खासै समस्या पार्दैन । मधुमेह भएकाहरूले खानपानमा कटौती गर्नु राम्रो मानिन्छ । दैनिक शरीरलाई कति क्यालोरी आवश्यक पर्छ त्यही अनुसार खायो भने त मधुमेह, उच्च रक्तचाप लगायतका अन्य रोग लाग्नबाट नै बच्न सकिन्छ ।
एउटा स्वास्थ मानिसलाई २४ घण्टामा १८ सयदेखि २ हजार क्यालोरी जरुरी हुन्छ । कडा परिश्रम गर्ने व्यक्तिलाई धेरै क्यालोरी जरुरी हुन सक्छ । त्यसैले क्यालोरी बढी हुने खानेकुराजस्तै तारेको भुटेको खानेकुरा, कोल्ड ड्रिक, रातो मासु एकदमै कम खाएको राम्रो मानिन्छ ।
खानपानमा कटौती गरेर मोटोपना कम गर्दा मधुमेहबाट हुन सक्ने अन्य जोखिमलाई कम गर्न सकिन्छ । मधुमेहको समस्या भएकाले त खाना कटौती गर्नु नै पर्छ । मधुमेह नियन्त्रणमा छैन धेरै बढेको छ भने त खानपानमा झन् बढी कटौती गर्नुपर्छ ।
मधुमेहका समस्या भएका अधिकांशले चामल वा भात छाडेर रोटी खाने गर्छन् । खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने हो । भात र रोटीमा लगभग उत्ति नै सुगर हुन्छ, यसले मधुमेह नियन्त्रण गर्न सहयोग गर्दैन । भात, रोटी, ढिंडो जे खाए पनि मात्रा मिलाएर थोरै खानुपर्छ । भात नखाने तर एक छाकमा ५–६ वटा रोटी खाँदा मधुमेह नियन्त्रण हुनुको साटो बढ्छ ।
मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा सुगर अनियन्त्रित बन्छ । त्यसैले गुलियो प्रयोग भएको मिठाई नखानु राम्रो हुन्छ । मधुमेह भएकाले धेरै गुलिया आँप, भुइँकटहरजस्ता फलफूल एकदमै कम खानु राम्रो हो । स्याउ, सुन्तलाजस्ता फलफूल दैनिक खादा हुन्छ।
शरीरमा ब्लड सुगर नियन्त्रणमा छ भने घाउ–चोट लाग्यो भने पनि निको हुन्छ । तर शरीरमा ब्लड सुगरको मात्रा धेरै छ भने घाउ वा चोटपटक चाँडै निको हुँदैन । बरु उल्टै संक्रमणको जोखिम हुन्छ । मधुमेहका बिरामीलाई कुनै कारणवश शल्यक्रिया गर्नुपर्ने भएमा जटिल हुन्छ पनि भनिन्छ तर मधुमेह नियन्त्रणमा छ भने खासै जटिलता हुँदैन ।