वीरगन्ज । वीरगन्ज–३१ बेलवाकी विमला मिजार २ सन्तानकी आमा हुन्। १ छोरा र १ छोरीलाई जन्म दिइसकेपछि उनले बुधबार स्थायी बन्ध्याकरण गरेकी छिन्। वीरगन्ज महानगरपालिका–३० लालपर्सास्थित स्वास्थ्य चौकीमा विमलासँगै ३ दिनमा ९५ महिलाले स्थायी बन्ध्याकरण गरे।
वीरगन्ज महानगरपालिकाले सोमबार सुरु गरेको निःशुल्क स्थायी बन्ध्याकरण शिविरमा उनीहरूले स्थायी बन्ध्याकरण गरेका हुन्। महानगरपालिकाले महिलाका लागि भ्यासेक्टोमी र पुरुषका लागि मिनिल्याप दुवै शिविर सञ्चालन गरेको छ।
तर बिहीबारसम्म १ जना पनि पुरुषले बन्ध्याकरण नगरेको लालपर्सा स्वास्थ्य चौकीकी सिनियर अनमी किरण सिंहले बताइन्। पुरुषले पनि गर्नुपर्छ भन्ने मानसिकताको विकास नहुँदा र यस भेगमा अभ्यासमा नआएकाले पुरुषले बन्ध्याकरण नगरेको स्वास्थ्यकर्मी अनिषकान्त कुशवाह बताउँछन् ।
महिलाको तुलनामा पुरुषलाई सहज हुने र छिटै ठिक हुने भए पनि महिलाले नै बन्ध्याकरण गरेकामा कुशवाहले चिन्ता व्यक्त गरे। वीरगन्ज– ३१ कै ३४ वर्षीय लुपमान मियाँ अन्सारी आफ्नी पत्नीको बन्ध्याकरण गराउन लालपर्सा स्वास्थ्य चौकी पुगेका थिए।
लुपमानकी पत्नीले २८ वर्षकै उमेरमा ३ छोरा र २ छोरीलाई जन्माइसकेपछि मिनिल्याप गराएकी हुन्। ५ सन्तानमध्ये २ जनालाई शल्यक्रिया गरेरै जन्म दिएकी उनले मिनिल्याप गरेसँगै अब सन्तान जन्माउन नपर्ने भन्दै सुखको सास फेरिन्।
२ पटक शल्यक्रियामार्फत र ३ पटक बिनाशल्यक्रिया गरी ५ सन्तानलाई जन्म दिएकी उनलाई आफ्ना पतिलाई बन्ध्याकरण गर्न लगाउनुको साटो किन आफैँ गरेको भन्ने प्रश्न सोध्दा यसरी जबाफ यसरी दिइन्, ‘हामी महिला त घरमै बस्छौँ, केही काम गर्नुपर्दैन, बाहिरको काम गर्ने, खर्चको जोहो गर्ने मान्छेले बन्ध्याकरण गर्दा कमाइ कसले गर्छ? अनि घर कसरी चल्छ ?’
वीरगन्ज– ३२ टेढाकी नगिना खातुन पनि यस्तै व्यथा सुनाउँछिन्, ‘पुरूष आफैँले म बन्ध्याकरण गर्छु भनेर सोच्दैनन्, घरबाट बाहिर गएर काम गर्ने हुँदा कसले कमाउने भन्ने सोचेर हामी आफैँ गर्छाैं। अझ पुरुषले पनि गर्न सक्छन् भन्ने जानकारी पनि छैन।’
परिवार नियोजन गर्ने सोच बनाएको २ वर्ष बित्दा पनि वीरगन्ज आउने समय नमिल्दा ४२ वर्षीय नगिनाले बन्ध्याकरण गर्न पाएकी थिइनन्। तर महानगरले शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य चौकीसम्म ल्याउने र लैजाने व्यवस्था मिलाउँदा वीरगन्ज आउजाउ गर्दा हुने खर्च जोगिएकामा उनी खुसी छिन् ।
बन्ध्याकरणकै लागि वीरगन्ज आउँदा भाडा, खाजासहित अस्पतालमा लाइन लाग्नुपर्ने, पुर्जी काट्नुपर्ने झन्झटबाट वीरगन्ज महानगरपालिका– २२, २८, २९, ३०, ३१ र ३२ गरी ६ वटा वडाका महिला मुक्त भएका छन् । अझ महानगरले न्यानो कपडासमेत उपलब्ध गराएको हुँदा अहिले बढ्दै गरेको चिसो मौसममा काम लाग्ने भन्दै बन्ध्याकरण गर्न आएकाहरू खुसी देखिन्थे।
ग्रामीण क्षेत्रलाई लक्षित गर्दै वीरगन्ज महानगरपालिकाले निःशुल्क स्थायी बन्ध्याकरण शिविरको आयोजना गरेको हो। वीरगन्ज महानगरपालिका–२५ स्थित सिर्सिया स्वास्थ्य चौकी र वडा– ३० लालपर्सा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको वीरगन्ज महानगरको स्वास्थ्य महाशाखाकी इन्दिरा लोहनीले जानकारी दिइन्। उक्त शिविरबाट १६ वडाका महिला लाभान्वित भएका छन्।