नेपाली संस्कारमा चामल दैनिक रुपमा उपयोग हुने खाद्यवस्तु हो । चामल नेपालीको मुख्य खाना हो । चामलबाट कार्बोहाइड्रेट लगायतका शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । तर, यस्तो चामल पनि विभिन्न प्रकार र गुणस्तरमा बजारमा उपलब्ध छन् । जसका फाइदा पनि फरक–फरक हुन्छन् । कतिपय चामल भने गुणस्तरहीन पनि हुन्छन् । त्यसैले यसको छनोटमा ध्यान दिनुपर्ने हुन्छ । त्यसैमध्येको एउटा चामल हो, कालो चामल ।
यस्ता छन् कालो चामलका फाइदाः
- डाइबिटिजका बिरामीलाई कालो चामल निकै उपयोगी मानिन्छ ।
- मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ ।
- यस्तो चामलमा प्रोटिन, आइरन हुने भएकाले अरूको तुलनामा बढी शक्ति प्रदान गर्छ ।
- शरीरलाई सन्तुलित राख्न तथा मोटोपनालाई नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।
- क्यान्सरका बिरामीका लागि समेत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ ।
- कालो चामलले विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्तिसमेत प्रदान गर्छ ।
- सिामान्यतया आधा कप पाकेको कालो चामलमा १६० क्यालोरी, १५ ग्राम चिल्लो पदार्थ, ३४ ग्राम कार्बोहाइड्रेट, २ ग्राम फाइबर, ५ ग्राम प्रोटिन र ४ प्रतिशत आइरन प्राप्त हुन्छ ।
- कालो चामललाई प्राकृतिक र परम्परागत ग्लुटिन फ्री ग्रेनका रूपमा लिइन्छ । यो चामल पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिने भएकाले यसको साइड इफेक्ट हुँदैन ।
- सामान्य चामल तयार पार्दा यसलाई पोलिस गरी रिफाइन गरिन्छ । जुन स्वास्थ्यका लागि त्यति धेरै राम्रो मानिँदैन । यस्तो चामलको बोक्रा मात्र छिल्ने भएकाले पनि बढी स्वस्थकर मानिन्छ ।
परिकार
कालो चामलको एकपटकमा १८० देखि २०० ग्राम मात्र प्रयोग गर्दा राम्रो हुन्छ ।
कालो चामलको भातबाहेक अन्य परिकार बनाएर पनि प्रयोग गर्न सकिन्छ । यसको २० वटा त सलादकै परिकार बनाउन सकिन्छ ।
कालो चामलको खिर तयार पारेर पनि प्रयोग गर्न सकिन्छ । यसको खिर स्वादिलो त हुन्छ नै, साथमा स्वास्थ्यका लागि पोषिलो पनि हुन्छ ।
अन्य चामलको तुलनामा यो चामल पाक्न केही बढी समय लाग्छ । त्यसैले यसलाई पकाउनुभन्दा तीन घन्टा पहिलेबाट भिजाएर राख्दा राम्रो हुन्छ ।
कहाँ–कहाँ प्रयोग हुन्छ ?
यस्तो चामल युरोपेली देशमा अत्यधिक प्रयोग हुन्छ । यस्तो चामल नेपालका सुपरमार्केटहरूमा सजिलै उपलब्ध हुन्छ । र, नेपालको होटेल तथा रेस्टुरेन्टमा पनि यसको प्रयोग बढ्दै गएको छ ।
चीनमा पनि कालो चामलको प्रयोग अत्यधिक मात्रामा हुन्छ । र, यो क्रम बढ्दो छ ।
कालो चामललाई जापान र कोरियामा सुसी बनाउन र इटालीमा रिसोटो बनाउने प्रयोजनमा प्रयोग गरिन्छ ।