गुल्मी । गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ डक्टरसहितको सेवा सुरु भएको छ। गुल्मी अस्पतालले सुरु गरेको हाडजोर्नी विशेषज्ञ सेवामा रेसुङ्गा नगरपालिकाले पनि सहकार्य गर्ने भएको छ।
जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन डक्टरहरुको अभाव हुने भएपछि रेसुङ्गा नगरपालिकाले पनि प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालिएको हो। गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञा डक्टर प्रदीप सिवाकोटीको टोलीले सेवा दिन थालेको छ।
जिल्लामा हाडजोर्नीसम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो। तर केहि दिनदेखि गुल्मी अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएपछि सेवाग्रहीलाई सहज हुने भएको छ।
हाडजोर्नी विशेषज्ञ सेवा सुरु गर्न गुल्मी अस्पतालका प्रमुख उत्तम पच्या र रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले सम्झौता गरेका छन्। पहाडी भेगमा हाडजोर्नीसँग सम्बन्धित बिरामीको संख्या धेरै हुने गरेको छ।
यो सेवा गुल्मीमा सुरु भएपछि जिल्लासँगै छिमेकी जिल्लाका बिरामीलाई राहत पुग्ने रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए।
बिभिन्न कारणले हाडजोर्नीमा चोट बोकेका, हाटजोर्नी भाँचिएर बाङ्गो भएका तथा हाडजोर्नीसम्बन्धी विभिन्न समस्या भएका बिरामीहरुले सेवा पाउनेछन्। हाडजोर्नीसम्बन्धी उपचारको क्रममा शल्यक्रिया लागि आबश्यक सी–आरएम मेसिन रेसुङ्गा नगरपालिकाले खरिद गर्ने भएको छ।
विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक आधारभूत उपकरण खरिद प्रक्रिया अगाडि बढाइने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताए। विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने अरु सामग्री र जटिल प्रकारको सर्जरी गर्नुपरेमा आवश्यक पर्ने अरु औजार, उपकरण तथा थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि पनि अहिलेदेखि नै योजना बनाइएको गुल्मी अस्पतालले जनाएको छ। भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन पनि बन्न थालको छ।