बुटवल । केही दिन यता रुपन्देहीलगायत लुम्बिनी प्रदेशका तराईका जिल्लामा बिहान बाक्लो हुस्सु लाग्न थालेको छ । अन्य समयभन्दा तुलनात्मक रुपमा दिउँसोमा घाम मधुरो भएको छ । यसले चिसो ह्वात्तै बढेको छ ।
मंसिरभरि घमाइला दिन थिए । साँझ बिहान बाहेक चिसो थिएन । पुसको मध्यसँगै भएपछि जाडो बढेको हो । अहिले पहाडमा कुहिरो र तराईका जिल्लामा हुस्सु लाग्न थालेको छ ।
चिसो बढेपछि सर्वसाधारणका दैनिक कामकाज प्रभावित हुन्छन् । यससँगै विभिन्न रोगको जोखिम बढ्ने गरेको छ । चिसोका बेला रुघाखोकी र स्वासप्रश्वासका बिरामी बढ्छन् ।
अर्कोतर्फ दीर्घरोगीलाई समस्या हुने गरेको छ । जिल्लाका चिकित्सकका अनुसार अहिले श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । अहिले जिल्लाका अस्पतालमा चिसोका कारण विभिन्न समस्या देखिएका बिरामी आउन थालेका छन् ।
बिरामीको संख्या बढेपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा.सुदर्शन थापाले अधिकांशमा श्वासप्रश्वासको समस्या पाइएको बताए ।
उनका अनुसार अस्पतालमा आउने एक सय बिरामीमध्ये ६० प्रतिशतमा श्वासप्रश्वास, रुघाखोकी र फोक्सोको समस्या देखिने गरेको छ । चिसो ह्वात्तै बढेकाले मर्निङवाक गर्ने वृद्धवृद्धा साथै बालबालिकालाई घाम लागेपछि हिंड्न, न्याना लुगा लगाउन, तातो खानेकुरा खान उनले अनुरोध गरे ।
अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासमा गाह्रो भएर धेरै बिरामी आउने गरेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।
जाडो याममा अन्य रोगका बिरामीभन्दा दम, ज्वरो, खोकीका अधिकांश बिरामी आउने र भर्ना भइ उपचार गर्नुपर्ने स्थितिका समेत रहने गरेको उनले बताए ।
प्रदेशका पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लाहरूमा पनि चिसोका विरामी बढ्न थालेका छन् । चिकित्सकहरूले सावधानी अपनाउन अनुरोध गरेका छन् ।