काठमाडौं - बन्दाबन्दीमा रहँदा सबैले गर्न सकिने केही योगासन र प्राणायामहरू छन् जसले स्फूर्ति बढाउने र तनावमुक्त हुन सघाउँछ । साथै हाम्रो प्रतिरक्षा प्रणाली पनि बलियो बनाइराख्न सक्छ । त्यसमध्ये उत्तानपादासन एक हो । उत्तानपादासन गर्ने तरिका यस्तो छ ।
समथर जमीनमा म्याट ओछ्याएर उत्तानो परेर सुत्नुहोस्, दुवै हत्केला जमीनतिर फर्काएर नितम्ब नजिकै राख्नुहोस् ।
दुवै गोडाका घुँडा र बूढीऔंला जोड्नुहोस् ।
सास तान्दै दुवै गोडाका कुर्कुच्चा र बूढीऔंला स्पर्श गर्दै घुँडा नखुम्च्याई माथितिर लानुहोस् । करीब ४५ देखि ६० डिग्रीको कोणमा अडिनुहोस् । यसलाई ९० डिग्रीसम्म पनि लान सक्नुहुनेछ ।
श्वास–प्रश्वास प्रक्रियालाई सामान्य बनाउँदै कम्तीमा ३० सेकेण्डदेखि ५ मिनेटसम्म यही मुद्रामा रहनुहोस् ।
विस्तारै सास छाड्दै आरामले दुवै गोडा जमीनमा राख्नुहोस् ।
यो प्रक्रिया कम्तीमा ३ देखि ५ पटकसम्म दोहोर्याउनुहोस् ।
फाइदा
तनाव र चिन्तामुक्त हुन सहयोग गर्छ ।
पाचन प्रणाली बलियो बनाउँछ ।
ढाड, गर्धन र कुममा रहेको दुखाइ कम गर्छ ।
शरीरको रक्तसञ्चार (विशेषगरी माथिल्लो भाग) प्रक्रियालाई सजिलो बनाउँछ ।
माइग्रेन र टाउकोदुखाइमा राहत प्रदान गर्छ ।
अनिद्रा हटाउन मद्दत गर्छ ।
महीनावारी सम्बन्धी समस्यालाई हटाउँछ ।
प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ ।
सावधानी
महीनावारी भएका वेला यो आसन गर्नुहुँदैन ।
दिसापिसाब लागेको वेलामा यो आसन गर्नुहुँदैन ।
आँखाको अत्यधिक समस्या भएकाहरू (जस्तो ग्लुकोमा) ले यो आसन गर्नुहुँदैन ।