एजेन्सी । हामी बच्चा हुँदा हामीलाई भनिन्थ्यो- लट्ठी र ढुङ्गाले हड्डी भाँचिन सक्छ तर शब्दले भने कहिल्यै दुख्दैन।
तर अनुभव बढ्दै जाँदा यो पुरानो लोकोक्ति सत्यताभन्दा धेरै टाढा छ भन्ने वयस्कहरूले बुझ्छन्- शरीरमा लागेको चोट त केही सातामा निको हुन्छ तर नकारात्मक टिप्पणीले भने जीवनभरका लागि पीडा छोडेर जान्छ।
चाहे विद्यालयमा शिक्षकले गर्ने आलोचना होस् हो प्रेमी वा साथीले चर्को विवादका बेला गर्ने निर्मम टिप्पणी त्यसलाई हामी सकारात्मक टिप्पणीभन्दा धेरै लामो समय सम्झने गर्छौँ। त्यसलाई नेगेटिभिटी बायस अर्थात् नकारात्मक रूपमा राखिने पूर्वाग्रह भनिन्छ।
खासमा, जटिल असरहरू यही पूर्वाग्रहमार्फत् व्याख्या गर्न सकिन्छ जुन भनेको सकारात्मक भावनाभन्दा नकारात्मक भावनाले हामीलाई बढी सशक्त रूपमा असर गर्छ।
युनिभर्सिटी अफ क्वीन्सल्यान्डका सामाजिक मनोवैज्ञानिक तथा द पावर अफ ब्याड: एन्ड हाउ टु ओभरकम इटका सहलेखक रोए बउमाइस्टरका अनुसार त्यस्तो पूर्वाग्रहका कारण हामीले धम्कीपूर्ण वा जोखिमपूर्ण अवस्थामा विशेष ध्यान दिने र खतराहरू बढाइचढाइ गर्ने गर्छौँ।
विश्वको नराम्रो पक्षतर्फ धेरै ध्यान दिएको कुराले विषादको सम्भावना बढाउने जस्तो सुनिए पनि यसले मानिसहरूलाई प्राकृतिक विपद्देखि युद्धसम्मका घटनामा कसरी जुध्ने भनेर तयारी अवस्थामा रहन पनि मद्दत गर्छ। (यद्यपि आशावादी हुँदा त्यसले पनि चरम अवस्थाहरूमा हुने तनावबाट जोगाउँछ भन्ने प्रमाणहरू छन्।)
मानव मस्तिष्क हाम्रो शरीरको रक्षा गर्न र जीवन्त राख्न बनेको हो जसमा नयाँ खतरासँग जुध्न तीन वटा चेतावनी प्रणाली हुन्छ।
मस्तिष्कको केन्द्र भागमा हुने प्राचीन बेसल गाङ्ग्लिया प्रणालीले हामीलाई कुनै पनि कुरासँग भिड्ने वा छोडेर हिँड्ने भन्ने नियन्त्रण गर्छ।
त्यस्तै लिम्बिक प्रणालीले कुनै पनि खतराहरूसँग जुध्नका लागि भावनाहरू विकास गर्न र सबैभन्दा आधुनिक प्रि-फ्रन्टल कर्टेक्सले जोखिमहरूसँग तार्किक रूपमा सामना गर्ने प्रणाली सक्रिय बनाउँछ।
“त्यस्तो नकारात्मक पूर्वाग्रह हुने हाम्रा पुर्खाहरू बाँच्ने सम्भावना धेरै हुन्थ्यो,” बउमाइस्टरले भने।
जम्मा ८ महिना मात्रै हुँदा पनि मानव मस्तिष्क जोखिमहरू पहिचान गर्न सक्छ र त्यो दिगो रूपमा विकसित भएको हुन्छ। बच्चाहरूले भ्यागुतोभन्दा सर्पको तस्बिरलाई तत्काल देख्छन्।
पाँच वर्षका हुँदासम्म उनीहरूले हँसिलो भन्दा दुखी वा डराएको अनुहारलाई प्राथमिकता दिन सिकिसकेका हुन्छन्।
बउमाइस्टरका अनुसार समस्यालाई एकत्रित वा केन्द्रित गर्ने कुरा राम्रो रणनीति हुनसक्छ। “पहिला नकारात्मकताबाट पार पाउ र समस्या समाधान गर। आवश्यक पर्दा मात्रै बोल।”
तर, नराम्रो हुनसक्नेबारे घोत्लिइरहँदा त्यसले हामीलाई चरम अवस्थामा सुरक्षित राख्न सक्छ, जबकि नकारात्मक पूर्वाग्रह भने दैनिक रूपमा असहयोगी प्रमाणित हुनसक्छ।
बउमाइस्टर ठान्छन् कि जबसम्म हामीले नकारात्मकताको असमान असरलाई जित्न सक्दैनौँ तबसम्म संसार हेर्ने हाम्रो दृष्टिकोण र त्यसमा जनाउने प्रतिक्रियालाई त्यसले असर गर्छ।
उदाहरणका लागि, पत्रिकाका पृष्ठहरूमा जीवन निराश देखिन्छ। पत्रकारहरूमाथि धेरैजसो नराम्रो समाचार खोज्छन् भन्ने आरोप लाग्छ किनभने त्यस्ता समाचारले पाठकको ध्यान तान्छ।
यो आंशिक रूपमा सत्य हुनसक्छ तर अनुसन्धानकर्ताहरूले हताहतीका कथाहरूतर्फ पाठकहरू तानिने र त्यस्ता कथाहरू अन्यसँग शेअर गर्ने देखिएको बताउँछन्।
फाइदा हुने खालका हल्लाहरूभन्दा सम्भावित खतराहरूबारेका हल्ला मानिसहरूमाझ धेरै फैलिन्छ, चाहे ती घटित नै नहुने अवस्था किन नहोस्।
एउटा अध्ययनमा क्यानडाको मक्गिल विश्वविद्यालयका वैज्ञानिकहरूले प्रयोगकर्ताहरूको ध्यान कस्ता समाचारहरूले तान्छ भनेर ‘आइ ट्र्याक’ गर्ने प्रविधिको अध्ययन गरेका थिए।
उनीहरूको अध्ययनमा मानिसहरूले सकारात्मक समाचारभन्दा भ्रष्टाचार, बेथिति, पाखण्ड र अन्य खराब समाचारहरू धेरै पढेको पाइयो।
समसामयिक र राजनीतिक विषयका समाचारमा रुचि राख्ने मानिसहरू धेरैजसो नकारात्मक समाचार पढ्न खोज्छन् र जब तिनै मानिसहरूलाई सोधिन्छ उनीहरू आफूले राम्रो समाचार पढ्न चाहने बताउँछन्।
डरलाग्दो तर काल्पनिक अवस्थाबारे हामी त्रसित भइरहँदा कुनै एउटा सानो नराम्रो अनुभवको असर हाम्रो पूरै दिनमा पर्न सक्छ।
सेन्ट लुईस्थित वाशिङ्टन विश्वविद्यालयका मनोविज्ञान तथा मस्तिष्क विज्ञानका प्राध्यापक र्यान्डी लार्सनले सकारात्मक भन्दा नकारात्मक भावना लामो समय रहन्छ भन्ने प्रमाणबारे पुनः अध्ययन गरेका छन्।
उनको अध्ययनबाट मानिसहरू राम्रोभन्दा नराम्रो घटनाहरूबारे धेरै सोच्छन् भन्ने पाइयो। सायद त्यसैले अप्ठ्यारो क्षण वा आलोचनात्मक टिप्पणीले मानिसलाई वर्षौँ सताइरहन्छ।
“अनजान मानिसभन्दा हामीले माया र विश्वास गर्ने मानिसहरूबाट आएका नकारात्मक टिप्पणीको असर धेरै हुन्छ भन्ने म सोच्थेँ,” बउमाइस्टरले भने।
केही घटनाहरूमा हामीले माया गर्ने मानिसबाट आउने नकारात्मक टिप्पणीले दिने पीडाले हामीलाई मानसिक रूपमा लामो समय आघात पुर्याउँछ जसले सम्बन्ध नै पनि तोड्न सक्छ।
अमेरिकास्थित युनिभर्सिटी अफ केनटकीका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा सम्बन्धमा आएका समस्यामा जो “निष्क्रिय रूपमा बफादार” बसे उसैले सम्बन्ध जोगाउनसकेको देखियो।
अर्को अध्ययन जसमा जोडीहरूलाई १० वर्षभन्दा बढी समय पछ्याइएको थियो त्यसमा विवाहको पहिलो दुई वर्षमा व्यक्त हुने नकारात्मक भावनाहरूले उनीहरू छुट्टिन्छन् कि छुट्टिँदैनन् त्यो अनुमान गर्न सकिने र जुन सम्बन्धमा नकारात्मक भावनाहरू धेरै व्यक्त भए उनीहरूबीच सम्बन्ध विच्छेद नै भएको पाइयो।
समाचारमा हामीले के पढ्छौँ र के हेर्छौँ भन्ने कुराले हाम्रो डर बढाउँछ। उदाहरणका लागि आतङ्कवाद शब्दबाट हामी त्रसित हुन्छौँ जबकि विगत २० वर्षमा अमेरिकामा आतङ्कवादी समूहबाट मृत्यु हुने मानिसको सङ्ख्याभन्दा अमेरिकामै बाथटबमा त्यही समयमा मृत्यु हुने अमेरिकीको सङ्ख्या बढी छ।
यसबारे बउमाइस्टरले आफ्नो पुस्तकमा व्याख्या गरेका छन्।
नकारात्मक पूर्वाग्रहले किन हामीमध्ये धेरैले हाम्रो सम्बन्ध राम्रो भइरहँदा किन त्यसलाई गम्भीर रूपमा लिएनौँ भनेर पछि पश्चात्ताप महसुस गराउँछ। छिट्टै साना समस्याहरू ठूला समस्यामा परिणत हुन्छन् र हामी साना साना कमजोरीहरू याद गर्न थाल्छौँ।
बउमाइस्टरले सामाजिक सञ्जालमा आउने नकारात्मकतासँग जुध्ने क्षमता हामीसँग नभएको भन्दै सचेत गराएका छन्।
हाम्रो मस्तिष्क निकट समुदायबाट आउने चेतावनीसँग जुध्न सक्ने भए पनि सयौँ वा हजारौँ अनजान मानिसहरूबाट आउने चेतावनी झेल्न नसक्ने उनले बताए। “त्यसैले ठूलो सङ्ख्यामा मानिसहरूबाट आउने नकारात्मक कुराहरू हामीलाई सुन्न प्रलयकारी हुन्छ,” उनले भने।
पक्कै पनि साथीबाट हुने अनलाइन ट्रोल वा आलोचनाले गर्ने असर व्यक्तिपिच्छे फरक पर्छ। तर त्यसलाई ग्रहण गर्ने र आत्मसात गर्ने गर्दा त्यसले तनाव, वितृष्णा र चिन्ता बढाउने लन्डन स्कुल अफ इकोनोमिक्सकी भिजिटिङ फेलो लुसिया मचिया बताउँछन्।
“यस्ता नकारात्मक टिप्पणीसँग जुध्दा त्यसले हाम्रो शरीरमा ठूलो असर गर्छ र शारीरिक पीडासम्म हुनसक्छ,” उनले भनिन्।
मानिसहरू उमेर भएसँगै सकारात्मक कुरा धेरै हेर्न खोज्ने अध्ययनहरूले देखाएका छन्।
बउमाइस्टर ठान्छन् यस्तो किन हुन्छ भने हामी कम उमेरमा गल्ती र आलोचनाबाट सिक्छौँ र उमेर बढेसँगै त्यसरी सिक्ने क्रम घट्छ।
खास व्यक्तित्व भएका मानिसहरूमा नकारात्मकता धेरै हुने भन्ने विषय धेरै विवादास्पद रहेको मचिया बताउँछिन्।
तर हालैको एउटा अध्ययनले मानिसको व्यक्तित्व अथवा राजनीतिक सिद्धान्त र नकारात्मक पूर्वाग्रहबीच कुनै प्रमाण नभएको देखाएको छ।
मचिया भन्छिन्,”नकारात्मक टिप्पणीसँग जुध्ने एउटा रणनीति के हुनसक्छ भने जसले त्यस्तो टिप्पणी गर्छ त्यसलाई टिप्पणी गरिनेलाई भन्दा बढी असर गर्छ।”
नकारात्मक असर पहिचान गरेर हामीले अनावश्यक प्रतिक्रियालाई पन्छाउन र त्यसबाट बरु फाइदा लिन सक्छौँ।
उदाहरणका लागि युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसकी सामाजिक मनोविज्ञानकी प्राध्यापक शेली टेलरले स्तन क्यान्सर भएका महिलाहरूले कहिलेकाहीँ अवास्तविक रूपमा आशावादी हुँदा त्यसले उनीहरूलाई स्वास्थ्य समस्यासँग जुध्न मद्दत गरेको देखिएको बताइन्।
यस्ता “सकारात्मक भ्रम” मानिसको मानसिक र शारीरिक स्वास्थ्य फाइदासँग जोडिएको बताइन्छ।
स्काइडाइभर फेलिक्स बउमगार्टनरलाई डरको सामना गर्न त्यसलाई कम गर्ने उपाय आवश्यक पर्छ भन्ने कुरा तपाईँलाई विश्वास लाग्दैन होला।
तर ओलिम्पियनहरूसँग काम गर्ने मनोविद् माइकल गर्भाइसले बउमगार्टनजलाई पहिलो स्काइडाइभर हुने उद्देश्य हासिल गर्न उनमा डरको सामना गर्ने उपाय सिकाएर मद्दत गरेका थिए।
उनले दिएको अन्तर्वार्ता अनुसार बउमगार्टनज स्काइडाइभ गर्दा लगाइने पोसाकमा फसिने हो कि भनेर डराउँथे।
यसलाई नकारात्मक रूपमा हेर्नुको सट्टा गेर्भाइसले उनलाई कसरी उक्त पोसाकले उनलाई सुपर हिरो बनाउन सक्छ भन्ने सकारात्मक कुराको कल्पना दृश्यमा गर्न सिकाए जसले गर्दा फाइदा बढ्यो र त्यसको नकारात्मक पक्ष घट्यो।
सास फेर्ने तरिका र कग्निटिभ बिहेभेरिअल थेरापीका कारण बउमगार्टनजले उक्त पोसाकमा सहज महसुस गर्न सके र आफ्नो लक्ष्य पूरा गरेर उनी “फियरलेस फेलिक्स” बन्न सके।
बउमगार्टनजको जस्तै उद्देश्य सबैको हुँदैन तर हामीले उनीबाट सिक्न सक्छौँ। नकारात्मक कुरालाई दबाएर र सकारात्मकलाई जोड दिएर हामीले हाम्रा सपना पूरा गर्ने मौका छोप्न सक्छौँ।
यद्यपि, नकारात्मक टिप्पणी जुन कुनै उमेरका लागि पनि हानिकारक हुनसक्छ खासगरी जोखिमको उमेरमा यसले धेरै सताउन सक्छ।
“जब तपाईँ कुनै कुराले पहिला नै कमजोर महसुस गर्नुभएको हुन्छ, त्यस्तो बेला नकारात्मक टिप्पणी ग्रहण गर्न अझै कठिन हुनसक्छ र तपाईँलाई त्यसबाट उठ्न गाह्रो हुनसक्छ,” बउमाइस्टरले भने।
बीबीसी