काठमाडौं । जाडो मौसम धेरैलाई मनपर्छ। यो सिजन रमाइलो र खानपिनका लागि जति राम्रो हुन्छ, त्यति नै यो मौसममा शारीरिक समस्या पनि सृजना हुन्छ । चिसो लाग्ने वित्तिकै विभिन्न रोगको प्रकोप बढ्छ ।
जाडोमा शारीरिक मात्र नभई डिप्रेसन र मुड डिसअर्डरजस्ता मानसिक रोग पनि बढेको पाइन्छ । जाडो मौसममा घामको मुख देख्न नपाउँदा मानसिक समस्या बढ्दै जान्छ, जसले हाम्रो मानसिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने केही हर्मोनलाई असर गर्छ ।
डिप्रेसन यस्तो मानसिक रोग हो जसको समयमै उपचार गरिएन भने यसले हाम्रो मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्छ । डिप्रेसन जस्तो समस्या जुनसुकै मौसममा पनि हुन सक्छ तर जाडोमा यसको सामना गर्न केही गार्हो छ । केही प्रभावकारी उपायहरू पालना गरेर जाडोमा मानसिक तनाव , अवसाद वा मुड स्विङ जस्तो समस्याबाट मुक्त हुन सकिन्छ।
भिटामिन डि तथा बि १२ को परीक्षण : भिटामिन डि तथा बि १२ हाम्रो मानसिक स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण छन् । बि १२ को कमीले चिडचिडापन, चिन्ता, तनाव जस्ता समस्या निम्त्याउँछ । त्यसैले यी भिटामिनहरूको जाँच गराउनु महत्त्वपूर्ण छ।
आफुलाई हाइड्रेटेड राख्नुहोस : जाडोमा मानिसहरु कम मात्रामा पानी पिउँछन जसले हाम्रो शरीरमा नकारात्मक असर गर्छ । नियमित रुपमा तातो पानी पिउनु जरुरी छ । दिउँसो सादा चिया वा कफी पनि पिउन सकिन्छ ।
नकारात्मक सामग्रीबाट टाढा रहनुहोस् : जाडोमा अधिकांश मानिसहरू घरमै बढी समय बिताउँछन् । यस्तो अवस्थामा टिभी वा मोबाइलमा बढी समय बित्छ । त्यसैले आफुले जे सामग्री हेरिएको छ त्यसले मानसिक रुपमा नकारात्मक प्रभाव नपरोस् भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।
आफ्नो ख्याल राख्नुहोस् : जाडो मौसममा डिप्रेसनबाट जोगिने उत्तम उपाय भनेको आफ्नो ख्याल राख्नु हो । सबैभन्दा पहिले आफ्नो छालालाई स्वस्थ राख्नुहोस् र राम्रो मोस्चराइजर प्रयोग गर्नुहोस् । केशमा तेल प्रयोग गर्नुहोस्, स्वस्थ र सन्तुलित आहार खानुहोस् र सुत्ने समय तालिका सेट गर्नुहोस् ।
व्यायाम र आरामका लागि समय निकाल्नुहोस् : जाडोमा आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नु महत्त्वपूर्ण छ ।
जाडोमा कम शारीरिक परिश्रमका कारण मानसिक स्वास्थ्यमा असर पर्छ, त्यसैले दिनहुँ केही समय व्यायाम गर्नुपर्छ । मनलाई शान्त राख्न केही समय ध्यान समेत गर्न सकिन्छ।
सामाजिक कार्य बढाउनुहोस : चिन्ता र तनावबाट टाढा रहने सबैभन्दा राम्रो उपाय मानिसहरूसँग जोड्नु हो । सामाजिक कार्यमा संलग्न हुँदा आफुलाइ सताउने कुराहरूबाट टाढा रहन मद्दत मिल्छ ।