काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको ११ वडामा दादुरा फैलिसकेको छ भने ७६ जना बिरामी फेला परेका छन् ।
उपमहानगरपालिकाको २३ वडामध्ये ११ वडामा दादुराको फैलिसकेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । अहिलेसम्म ७६ जनामा दादुरा पुष्टि भइसकेको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।
उनका अनुसार गत सातादेखि फैलिएको दादुराले नेपालगञ्ज वडा नम्बर ५ का सलामत शेषका ३१ महिनाका छोराको मृत्यु भइसकेको छ ।
दादुरा रोकथामका लागी आज विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डाक्टर स्थानीय स्वास्थ्यकर्मी सहितको एक टोली छलफल गरी आगामी योजना बनाएको रिजालले जानकारी दिए ।
समुदायस्तरमै दादुरा प्रभावित बालबालिकाको सङ्ख्या बढ्दै गएपछि उपमहानगरपालिका नौ महिनादेखि १५ वर्ष उमेरभित्रका बालबालिकालाई शुक्रबारबाट वडा नं ५, ६ र ७ मा खोप लगाउन शुरु गरेको उनले जानकारी दिए ।
उनका अनुसार खोप अभियान शुरुमा दादुरा प्रभावित वडामा सञ्चालन गरिने छ । त्यसपश्चात उपमहानगर अन्तर्गतका २३ वडाका करिब चार हजार ५०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
५ वर्षमाथिका बालबालिकामा दादुराको प्रकोप देखिएकाले नौ महिनादेखि १५ वर्ष उमेरका सबै बालबालिकामा खोप अभियान सञ्चालन गरिएको हो ।
अघिल्लो साता उपमहानगरपालिकाको वडा नम्बर ७ को एकै परिवारका पाँच जना बालकमा दादुरा देखिएको थियो ।
उपमहानगरपालिकामा दादुरा महामारी नियन्त्रणका लागि खोप अभियानसँगै बिरामीको खोजी र सचेतना अभियान पनि सञ्चालन गरिएको छ ।