काठमाडौं । मुखभित्रका चोटपटकले हुने घाउ अचानक टोकिँदा, कृत्रिम दाँतले बनाएका, ब्रेसेसको तारले कोरेर, किराले खाएका दाँत फुटेर धारिलो हुँदा जस्ता कारणले गाला तथा जिब्रोमा घाउ हुन सक्छ ।
यस्तै सही तरिकाले दाँत नमाझ्दा पनि गिजा तथा गालामा घाउ हुन सक्छ । चोटपटकले बनाएका घाउ र अन्य घाउ छुट्याउनुपर्छ । अर्कोतिर दाँत दुखेका बेला घरेलु रुपमा प्रयोग गरिने ल्वाङको तेल गिजामा पर्दा पनि घाउ हुन सक्छ । यो निको हुन समय लाग्छ । अरु केमिकलको प्रयोगले मुख तथा जिब्रोमा घाउ हुन सक्छ ।
मुखमा घाउ आउने कारण
—मुखभित्र चोटपटक लागेर
—तातोले पोलेर
—एप्थस अल्सरका कारण
—क्यान्सर लागेर
भिटामिन, खनिज पदार्थको कमीले पनि घाउ आउन सक्छ । तनावका बेला घाउ आउन सक्छ । तर यस्तो घाउ तनाव घटेपछि आफैं निको हुन्छ । केहीमा भने एचआइभी, यौनरोग जस्ता कारणले गर्दा घाउ आउँछ । केहीमा भने औषधिले गर्दा पनि मुखमा घाउ आउँछ । क्यान्सरले गिजा तथा जिब्रोमा घाउ आउन सक्छ । विशेषतः चुरोट, सूर्ति खाने मानिसमा यस्तो समस्या देखिन्छ । मुखमा घाउ आएर एक–दुई हप्तामा निको भएन भने क्यान्सर हुनसक्ने सम्भावना बढी हुन्छ।
मुखमा घाउ पार्ने चिज छन् भने सबैभन्दा पहिले ती चिज हटाउनुपर्छ । चोटपटकका घाउका लागि पेनकिलर प्रयोग गरिन्छ । संक्रमण भएर आएको घाउका लागि एन्टिबायोटिकको प्रयोग गरिन्छ । क्यान्सर छ भने पहिले मासुको जाँच गरेर त्यहीअनुसार किमोथेरापीको प्रयोग गरिन्छ । केही अवस्थामा शल्यक्रिया पनि गरिन्छ । ओरल क्यान्सर प्रायःजसो पुरुषमा देखिन्छ । विशेगरी गुट्का, पानपराग, सुपारी खानेहरुलाई मुख क्यान्सर हुने सम्भावना बढी हुन्छ।
त्यसैले मुखमा कसरी घाउ आएको हो, मुखको पनि कुन अंगमा आएको छ, कुन प्रकृतिको छ जस्ता विषयमा सचेत हुनुपर्छ । मुखको घाउ भनेर बेवास्ता गर्नुहुन्न । कुनै घाउ गम्भीर प्रकृतिका पनि हुन्छन् । समयमै चिकित्सकलाई देखाउने र रोग पहिचान गरेर उपचार गर्ने हो भने सजिलै र छिट्टै निको पार्न सकिन्छ।