काठमाडौं । नेपालीले योगलाई जीवनशैलीको अंग बनाए चिकित्सा क्षेत्रमा हुने ९० प्रतिशतसम्म खर्च जोगिन सक्ने दाबी योगगुरुहरूको छ ।
योगले शारीरिक स्वास्थ्यमा बल प्रदान गर्नुका साथै मानसिक तनावसमेत हर्ने भएकाले यस्तो परिवर्तन देखिन सक्ने उनीहरूको अनुमान हो ।
शारीरिक, मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने भएकैले हाम्र मुलुकमा नियमित योग गर्ने करिब १० लाख व्यक्ति रहेको आकलन छ । अझ योगलाई जानेका र एक पटक योग गरेकाहरूको संख्या ५० लाखभन्दा बढी रहेको दाबी गरिन्छ ।
पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रमुख लवदेव मिश्र मुलुकभरि गरिएको सर्वेक्षणलाई औंल्याउँदै उक्त दाबी गर्ने गर्छन् ।
यसैले होला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्व एसियाकी निर्देशक डा। पुनम खेत्रपाल सिंह योग सबै उमेरमा गर्न सकिने जनाउँदै बालबालिकाले सातामा ६० मिनेट र वयस्कले सातामा १५० मिनेट योग गर्दा नसर्ने रोगबाट टाढा रहन सकिने बताउँछिन् ।
हाल सहरिया जीवनशैली, शारीरिक सक्रियताको कमी लगायतले गर्दा दक्षिण–पूर्व एसियामा समेत नसर्ने रोगको जोखिम बढ्दो छ ।
६५ वर्षभन्दा माथिका लागि योगले डिप्रेसनको जोखिम कम गर्न सघाउनुका साथै संज्ञानात्मक क्षमतालाई कायम राख्ने उल्लेख गर्दै डब्लूएचओ, दक्षिण–पूर्व एसियाले यो क्षेत्रका ७० प्रतिशत युवा र ८० प्रतिशत युवतीले पर्याप्त शारीरिक गतिविधि नगर्ने गरेको जनाउँछ । बर्सेनि यो क्षेत्रमा नसर्ने रोगले गर्दा ८५ लाख मानिसको मृत्यु हुने गर्छ ।
५ हजार वर्षदेखि गरिँदै आएको योग शारीरिक शक्ति र लचिलोपना वृद्घिको प्रभावकारी उपाय रहेको उल्लेख गर्दै डब्लुएचओले यसले मुटुसम्बन्धी स्वास्थ्य राम्रो पार्नुका साथै, क्यालोरी डढाउने मात्र नभई मस्तिष्कलाई समेत आराम पुर्याउने जनाएको छ ।
स्वास्थ्यसम्बन्धी आधिकारिक निकायहरूले नै योगलाई प्रस्तावित गर्न थालेपछि विश्वमा पश्चिमा मुलुकसँगै सबै भागमा हाल योगप्रतिको आकर्षण बढ्दै छ ।
मुलुकमा समेत सामान्य अवस्थामा दिनहुँ २५ सय योग कक्षा सञ्चालन हुनुका साथै अनुकूल मौसममा त यो कक्षाको संख्या ५ हजारसम्म पुग्ने गरेको छ ।
सम्पूर्ण जीवनको विज्ञान योग सुरु हुनुअघि वैदिक कालमा हाम्रै क्षेत्रमा भएको थियो । योग हाम्रो धरोहर हो । यो नेपालीको जीवनशैलीको एउटा सशक्त खण्डसमेत रहेको छ । तर बढ्दो सहरीकरणसँगै आधुनिकताले हालका दिनमा योग विज्ञानप्रतिको आकर्षण पुनस् जागृत गर्नुपर्ने अवस्था आउन थालेको छ ।पहिले हाम्रो जीवनको अंग रहेको योगलाई हाल समाजमा सामान्य व्यायाम ठान्ने गरिएको विज्ञहरू बताउँछन् ।
‘योगलाई व्यायाम मात्र नठानौं, गलत रूपले योग गर्दा शरीरमा कुप्रभावसमेत पर्छ,’ स्वास्थ्य मन्त्रालयको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा। सिद्घार्थ ठाकुर भन्छन् ।
डा. ठाकुरका अनुसार विश्वका करिब १० करोडभन्दा बढी व्यक्तिले दिनहुँ गर्ने योग एउटा यस्तो क्रिया हो, जसले शरीरमा प्राणवायु (अक्सिजन) को स्तर बढाउँछ । यसले शरीरको विषाक्ततामा कमी ल्याउँछ र शरीरको प्राकृतिक आधारलाई सन्तुलनमा ल्याउँछ ।
योग गर्नमा उमेर बाधक नभए पनि प्रशिक्षक योगकर्मी वा चिकित्सकको सल्लाह र सुझावमा योग गर्नु उपयुक्त हुन्छ।शरीरमा भएका रोग विशेषको प्रभाव न्यून गर्न गरिने योग फरक हुने भएकाले यसलाई चिकित्सकले भनेअनुसार मात्र गर्नुपर्ने डा. ठाकुर बताउँछन् ।
बालबालिका, वयस्क र वृद्घका लागि योग
बालबालिकाका लागि सहज व्यायाम र सहज आसन प्रभावकारी हुन्छ । यसअन्तर्गत सूर्य नमस्कारलगायतका विभिन्न योग पर्छन् । बालबालिकाले विभिन्न योगक्रिया जानी वा नजानीसमेत गरिरहेका हुन्छन् ।
वयस्कका लागि आसन, सूक्ष्म व्यायाम र प्राणायाम आवश्यक हुन्छ । योगगुरु मिश्रका अनुसार बूढेसकालमा सूक्ष्म व्यायाम र प्राणायाम गर्नुभन्दा महत्त्वपूर्ण हो ।