एजेन्सी । तपाईंले कस्तो किसिमको खाना खानुपर्छ भन्ने कुरा, भोजनबारे तपाईंको सोचाइ कस्तो छ अनि तपाईंका मूल्य र मान्यताहरू के–कस्ता छन् भन्ने विषयमा निर्भर रहनु हुँदैन— बरु, शरीरले के चाहन्छ भन्ने कुरामा निहित रहनुपर्छ। किनकि, भोजन शरीरसँग सम्बन्धित हुन्छ ।
जब के खाने र के नखाने भन्ने कुरा आउँछ, तब आफ्नो डाक्टर वा पोषणविद्लाई नसोध्नुहोस्, किनकि उनीहरू हरेक ५ वर्षमा आफ्ना धारणाहरू फेरिरहेका हुन्छन्। जब खानाको कुरा आउँछ, तब कस्तो प्रकारको खानेकुरा खाँदा यो प्रसन्न महसुस गर्छ भनेर आफ्नै शरीरलाई सोध्नुहोस्।
फरक–फरक खानेकुराहरू खानुहोस् अनि खाना खाइसकेपछि शरीरले कस्तो महसुस गर्दछ भन्ने कुरामा ध्यान दिनुहोस्। यदि तपाईंको शरीर एकदमै फूर्तिलो, ऊर्जावान् र आनन्दित महसुस गऱ्यो भने, शरीर प्रसन्न रहेको छ भनेर बुझ्न सकिन्छ। यदि शरीर सुस्त र अल्छी महसुस गर्दछ अनि जागा अवस्थामा रहनको लागि निरन्तर कफी, चिया, चुरोट लिइरहनु पर्ने भएको छ भने, शरीर प्रसन्न अवस्थामा छैन भनेर बुझ्न सकिन्छ, होइन र?
कसरी शाकाहारी बन्ने ?
शाकाहारी भोजनलाई नपकाएको स्थितिमा खानुहोस् अनि त्यसले शरीरमा कस्तो फरक पार्छ भनेर हेर्नुहोस्। यसको पछाडि रहेको सोच के हो भने, हामी सम्भव भएसम्म खानालाई जीवित रूपमा खान चाहन्छौँ— जे–जति सम्भव हुन्छ, हामी तिनलाई ताजा रूपमै खान चाहन्छौँ। जीवनलाई कायम राख्नको लागि जीवित कोषिकामा सबैथोक रहेको हुन्छ ।
यदि तपाईंले जीवित कोषिका उपभोग गर्नुभयो भने, तपाईंको प्रणालीको स्वास्थ अहिले सम्मको भन्दा निकै फरक हुनेछ। जब हामी खानेकुरा पकाउँछौँ, तब त्यसको जीवन नष्ट हुन्छ। खानेकुरालाई नष्ट गरिसकेपछि खाँदाखेरी, त्यही मात्रामा जीवन ऊर्जा प्राप्त हुँदैन। तर, यदि तपाईंले खानेकुरालाई काँचै अवस्थामा खानुभयो भने, यसले तपाईंमा छुट्टै स्तरको जीवन्तता ल्याउँछ। यदि तपाईंले प्रशस्त मात्रामा टुसाएका गेडागुडीहरू, फलफूल र अरू सागसब्जीहरूलाई जीवित रूपमा खानुभयो भने—आफ्नो आहारमा कम्तीमा पनि ३०–४० प्रतिशत काँचो खानेकुरा समावेश गर्न सक्नुभयो भने—तपाईंले यो स्पष्ट महसुस गर्न सक्नुहुन्छ कि यसले तपाईंभित्रको जीवनलाई पनि एकदमै राम्रोसँग राख्नेछ।
सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तपाईं जुन खानेकुरा खानुहुन्छ, त्यो आफैँमा जीवन हो। हाम्रो जीवनलाई थामेर राख्नको लागि अरू जीवनहरूले आफैँलाई बलिदान गरिरहेका छन्। यदि हामीले आफूलाई जीवित राख्नको लागि आफ्नै जीवन त्यागिरहेका ती सम्पूर्ण जीवनहरूप्रति अत्यन्तै कृतज्ञताको भावले भोजन ग्रहण गऱ्यौँ भने, त्यही भोजनले तपाईंभित्र एकदमै छुट्टै तरिकाले व्यवहार गर्नेछ !