काठमाडौं । साना बालबालिकामा कानको संक्रमणको जोखिम बढी हुन्छ । साना बालबालिकामा नुहाउँदा र दूध खुवाउने सही आसन नमिल्दा कान पाक्ने जोखिम हुन्छ।
चिकित्सकहरुका अनुसार कानको संक्रमण धेरै देखिने मध्येको एक समस्या हो। बढी रुघा लाग्ने भएकाले उनीहरूमा कान पाक्ने समस्या धेरै देखिन्छ। किनकि नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ। जसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ। बच्चाहरूलाई रुघा लागेपछि त्यही पाइप हुँदै कानमा संक्रमण हुने चिकित्सकहरु बताउँछन्।
साथै बालबालिकालाई सुताएर दूध खुवाउँदा पनि कानको संक्रमण हुने जोखिम हुन्छ। सुताएर दूध खुवाउँदा नाक र कानको नली सिधा हुन्छ र दूध माथिल्लो घाँटीको भाग हुँदै कानमा गएर संक्रमण हुन सक्ने चिकित्सकहरु बताउँछन्।
माथिका दुई कारणले मात्र नभई बालबालिकाको कानमा अन्य कारणले पनि संक्रमण हुनसक्छ। जन्मजात नै कानको संक्रमण हुन सक्छ। बच्चा जन्मिएपछि कानमा तेल हालिदिने, कान सफा गर्न भन्दै कोट्याइदिने, धेरै रुघा लाग्ने र नाक टाल्लिने समस्या भएका बच्चामा कान पाक्ने समस्या हुन सक्ने चिकित्सकको भनाई छ।
जोगाउने कसरी ?
बालबालिकामा कानको संक्रमण तथा कान पाक्ने समस्या छ भने कान जथाभावी कोट्याउनु हुँदैन।
कानमा तेल वा अन्य तरल पदार्थ पनि हाल्न हुँदैन।
बच्चामा बेलाबेलामा रुघाखोकी लागि रहन्छ भने सतर्कता अपनाउनुपर्छ।
आमाले बच्चालाई सुताएर स्तनपान नगराउने, सरसफाइ र पौष्टिक आहारमा ध्यान दिनुपर्छ।