काठमाडौं । जाडोयाममा मानिसमा चिसोको इन्फेक्सन, दम, खोकी, पिनास जस्ता समस्या देखा पर्दछन् । यस्ता समस्या हटाउन योग पनि एउटा सजिलो विधि हो ।
उपनिषद्मा भनिएको छ, ‘शरीरमाध्यमम् खलु धर्मशाधनम्’ अर्थात् ‘शरीर नै सबै धर्म (कर्तव्य) पूरा गर्ने साधन वा माध्यम हो ।’ त्यसैले चिसोमा रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घ रोगबाट ग्रसित व्यक्तिमा बढी स्वास्थ्य समस्या देखिन्छ । यसले अवश्य पनि हाम्रो दैनिक जीवनलाई प्रभावित बनाएको हुन्छ । तर नियमित केही आसन र प्राणायाम गर्ने हो भने यस्ता समस्या समाधान गर्न सकिन्छ ।
योगका आठवटा अंग भएपनि मुख्य तीनवटाको विश्लेषण गरौं- आसन, प्राणायाम र ध्यान । त्यसमध्ये यी तीनै अंग जाडोयाममा निम्तिने स्वास्थ्य समस्या समाधानको लागि उपयुक्त मानिन्छ ।
चिसो मौसमका लागि केही आसनहरु छन्, जुन हामीले नियमित प्रयोग गर्नसक्छौं । अहिले धेरै मानिसमा १५-१८ वर्षमै ढाड दुख्ने समस्या देखा पर्ने गरेको छ । अहिले धेरैको जीवनशैली र खानपान व्यवस्थित छैन । कतिपय धेरै मोटरसाइकल चलाउनेहरुमा पनि यस्तो समस्या देखिन्छ । लामो समय अफिसमा बसेर काम गर्नेलाई पनि ढाड सम्बन्धी समस्या देखिने गर्छ । यस्तो समस्या हुने मान्छेले २० मिनेटदेखि बढीमा एक घण्टासम्म समय निकालेर थोरै वार्मअप गरी शरीर तताउनुपर्छ । शरीर तातिसकेपछि ढाड कम्मर दुख्ने समस्या भएकाहरुले सामान्य आसनबाट योग शुरु गर्न सकिन्छ ।
धेरैले युट्युब हेरेर योग गर्ने गर्नुहुन्छ । यस्तो गल्ती कहिलै पनि गर्नुहुन्न । किनभने युट्युब हेरेर योग गर्दा तपाईंले गल्ती गरेको ठाउँ बताइदिने कोही हुँदैनन् । योगमा जहिलेपनि सिम्पल टु कम्प्लेक्स हुनुपर्छ । ‘जाने योग, नजाने रोग’ भन्ने चलन छ । त्यसैले एक्कासी गाह्रो योग गर्दा यसले समस्या निम्त्याउन सक्छ ।
जाडो मौसममा उठेर गर्ने योगासन
आसनले शरीरको रोग नियन्त्रण गर्न सहयोग गर्छ । प्राणायामले मनको समस्या समाधानमा सहयोग गर्छ । जस्तो हामीले लिने सासको गति मिल्नेबित्तिकै तनाव कम हुन्छ । हामी आत्तिएको बेलामा सास छिटोछिटो फेर्छौं, लामो सास फेरेपछि हामी शान्त हुन्छौं । जाडो मौसममा केही आसन विशेष छन् । जसले विभिन्न स्वास्थ्य समस्याबाट बचाउन सहयोग गर्छ ।
-ताडासन
-वृक्षासन
-कटिचक्रासन
-हस्त उत्थानासन
-त्रिकोणासन
-सिंहासन
-परिघासन
-गोमुखासन
-उष्ट्रासन
-भुजंगासन
यसबाहेक अगाडि झुकेर गर्ने आसनहरु पनि छन् । यी आसन नियमित गर्दा सेल बढ्दै जान्छ र यसले शरीरलाई लचिलो बनाउँछ, यसो हुँदा जति निहुरिँदा पनि दुख्दैन ।
जाडोमा हातखुट्टा बढी चिसो हुने तथा रक्तचाप कम भएका मानिसले अग्निसार, कपालभाँती, भस्त्रिका र अनुलोमविलोम गर्न सकिन्छ । पिनास र माइग्रेनको समस्या देखिएमा भ्रामरीको प्राणायाम र ओम शब्दको उच्चाहरणसहित ५ मिनेट ध्यान गर्न सकिन्छ । यो जाडोयाम र अरु समयमा पनि सहजै गर्नसक्ने विधि हो । यो प्राणायाम र ध्यान जुनसुकै समयमा पनि गर्न सकिन्छ । यो सामान्यतया खाली पेटमा र लुज कपडा लगाएर गर्नु उचित हुन्छ । जुनसुकै आसन र प्राणायाम गर्दा पनि बाहिरको फ्रेस हावामा खाना खाएको ५ घण्टापछि गर्न सकिन्छ ।
त्यसो त यस्तो समस्या दैनिक जीवनमा देखिने व्यावहारिक समस्या समाधानमा पनि प्रयोग गरिन्छ । जस्तो, चाँडो रिसाउने मान्छेहरुले नियमित रुपमा अनुलोमबिलोम, भ्रामरी र ओमको उच्चारण गर्ने गरिन्छ । ढाड दुख्ने जस्ता समस्या भएका मानिसमा ताडासन, मर्करासन, भुजंगासन जस्ता आसनको प्रयोग गरिन्छ भने कन्स्ट्रिबेसन भएका मान्छेले कपालभाँती र अनुलोमविलोम गर्न सक्छन् ।