काठमाडौं- दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रदर्शनीको उद्घाटन उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङदेनले गर्ने छन्न । प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहनेछन् । नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन विशेषताहरू प्रदर्शनी, सम्मेलन र साझेदारी हुने आयोजकले जनाएका छन् । प्रदर्शनी, सम्मेलन र साझेदारी गरी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापारका अवसरहरू बढाउने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको हो।
यो प्रदर्शनीेले विभिन्न देशका कम्पनीहरू र ब्राण्डहरूसहित विजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्नेछ । एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिने आयोजकले जनाएका छन् ।
नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरूमा भारत लगभग ८०% यातको साझेदार रहेको अवस्थामा अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीपका विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्न मद्दत गर्ने अपेक्षा लिइएको छ।यस्तै नेपाली चिकित्सा प्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्ने दावी गरिएको छ ।