भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपांगता परिक्षण स्वास्थ्य शिविर हुने भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको संयुक्त आयोजनामा माघ ७ गते (शनिवार) शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर हुने भएको हो। उक्त शिविर भीम अस्पताल परिसरमा सञ्चालन हुनेछ।
सर्वसाधारणका हितका लागि नगरमा शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर संचालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए।
१८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर शिविर सञ्चालन हुने भए पनि उक्त उमेर समूहभन्दा बढीका कोही सर्वसाधारण आएको अवस्थामा समेत सेवा प्रवाह गरिने नगरपालिकाको कार्यालयले जनाएको छ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले शिविरका क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षणका साथै आवश्यकताअनुसार व्हिलचेयर, बैशाखीलगायत सहायता सामग्रीसमेत उपलब्ध गराउने बताइन्।
उनका अनुसार उक्त शिविरमा कृत्रिम अंगको आवश्यक भएका शारीरिक अपांगता भएका व्यक्तिको नापजाँच गरिने र सो नापअनुसार उनीहरुलाई शिविरपश्चात् कृत्रिम अंग उपलब्ध गराइनेछ।
शारीरिक अपांगता व्यक्तिका साथै हाडजोर्नीसम्बन्धी समस्याका व्यक्तिहरुले पनि शिविरमा सेवा लिन सकिने उनले बताइन्।
पैताला भित्र फर्केको, अंगहरु एक आपसमा टाँसिएको, भाँचिएर बांगो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो, वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पांग्रो खुस्किएकोलगायत समस्या भएको व्यक्तिले शिविरमा सेवा लिन सकिने सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको प्रमुख कौशिल्या चौधरीले बताइन्।