काठमाडौं । काँधदेखि मुनि तल्लो करंगसम्म को भागमा हुने दुखाईलाई छातीको दुखाई भनिन्छ । छातीको दुखाई तथा कक्रक्याई कहिलेकाहीं हृदयाघातका कारणले उब्जिएको गम्भीर लक्षण पनि हुन सक्छ।
तर छाती दुख्दैमा त्यसलाई हृदयाघातकै लक्षण ठानी हाल्नु पनि हुँदैन । छातीको दुखाईले अस्पतालको आकस्मिक कक्ष छिरेका धेरैजसो मानिसहरुमा मांसपेशी दुखाई, असन्तोष वा चिन्ता, अम्लपित्त जस्ता अन्य समस्याहरु देख्ने गरिएको छ । जे होस् छातीको दुखाईलाई यो यही हो भनेर निश्चय गर्न गाह्रो हुन्छ।
किन हुन्छ ?
यदि तपाईंलाई छाती दुखाई तथा कक्रक्याई गम्भीर रुपले भएको छ भने त्यो असामान्य पनि हुन सक्छ । यदि पहिले पनि हृदयाघात भएको थियो भने यो दुखाईलाई अरु महत्वका साथ लिनुपर्ने हुन्छ । हृदयाघातले छातीमा तिब्र पीडा हुनुका पछाडी मुटुका मांसपेशीमा भएको अरक्तता सम्बन्धी (इस्कमिक) क्षति ले भूमिका खेलेको हुन्छ ।
जब मुटु मा रगत लैजाने धमनीहरु मा अवरोध उत्पन्न हुन्छ र मुटु का मांसपेशी रगत अभावका कारण क्षतिग्रस्त हुन्छन् तब मुटु मा असह्य पीडाको जन्म हुन्छ । कहिलेकाहीं त यस किसिमको मुटु दुखाई पछि मुटु नै फेल भएर ज्यानै लिन पनि सक्छ।
छाती दुखाई का अरु सामान्य कारणहरु मा छाती का मांसपेशी मा भएको सुजन वा क्षति, अम्लपित्त वा मानसिक तनाव आदि हुन सक्छन् जसको निर्क्योल विभिन्न विशेष जाँचहरु द्वारा गरिन्छ ।
कारणहरु
हृदयाघात (मियोकार्डीअल इन्फार्क्सन) अथवा एन्जाइना
छाती दुख्नुको एउटा महत्वपूर्ण कारण हृदयाघात हो, जसले ज्यानै लिन पनि सक्छ । मुटु का मांसपेशी मा रगत लैजाने कोरोनरी धमनीहरुमा अकस्मात भएको अवरोधले यस किसिम को दुखाई अनुभूत हुन्छ जसलाई डाक्टरी भाषामा एन्जाइना भनिन्छ ।
कोरोनरी धमनी का भित्री भित्ताहरु मा बोसो थुप्रिदै जानाले धमनीहरु साँगुरिदै जान्छन् र मुटु का मांसपेशी मा यथेष्ट रक्त प्रवाह हुँदैन । फलस्वरूप एन्जाइना अर्थात् कडा प्रकार को छाती को दुखाई महसुस हुन्छ । यस समस्या का पछाडी अनेक कारक तत्वहरु छन् । ती मध्ये कतिपय सुधार गर्न नसकिने खालका हुन्छन् भने कतिपय सुधार गर्न सकिने खालका हुन्छन् । सुधार गर्न सकिने खालका कारक तत्वहरू निम्न प्रकारका छन् –
धुम्रपान,. मधुमेह. उच्च रक्तचाप,मोटाई, अस्वस्थकर खानपान, मुख्य गरेर चिल्लोयुक्त खानेकुरा,निष्क्रिय र तनावयुक्त जीवन आदि ।
कोस्टोकोंड्राइटिस
यो प्राय धेरै जनामा देखिने सामान्य छातीको दुखाई हो । स्तनको मुनिपट्टि करङ र कार्टिलेज अर्थात् कुरकुरे हाडका बीच सुन्निएको भए यस किसिमको दुखाई महसुस हुन्छ ।
मुखबाट अमिल्चुक आउने रोग
सामान्यतया मुटु पोल्यो भनिने यो रोग मुखबाट हुचुक्क अमिलो पानी आउने समस्यासँग सम्बन्धित छ। यो रोगमा आमाशय भन्दा माथी झण्डै छातीको बीच भागमा हृदयाघात जस्तै लाग्ने गरी समय समयमा दुख्ने र पोल्ने हुन्छ।
तनाव
जब डर, चिन्ता, तनावले मन उद्वेलित हुन्छ तब यसले शारीरिक रूपमा छाती दुख्ने र पोल्ने जस्ता लक्षण देखाउँछ ।
प्ल्युरिसी
निमोनिया, फोक्सोको क्षय, फोक्सोमा रगत जम्नु जस्ता घटनाहरुले फोक्साको वरिपरि रहेको प्ल्युरा सुन्निने सम्भावना हुन्छ जसलाई प्ल्युरिसी भनिन्छ । विशेष गरेर छातीमा फोक्सो वरिपरि रहेको सो प्ल्युरा संक्रमणद्वारा प्रभावित अवस्थामा दवाव पर्यो भने दुखाईको अनुभूति हुन्छ, जस्तो कि लामो सास फेर्दा वा खोक्दा ।
अन्य कारणहरू
छाती दुख्नुका अरु पनि अनेक कारण हुन सक्छन् जसमध्ये केही यसप्रकार छन् ।
हृदयाघात भन्दा बाहेकका मुटुका समस्या, जस्तो कि मुटुका मांसपेशीको संक्रमण, फोक्सो प्रभावित समस्याहरू, जस्तो कि निमोनिया, न्युमोथोरक्स (फोक्सो बाहिर हावा हुनु), फोक्सोको अन्तःशल्यता (फोक्सोका रक्तावाहिनी नलीहरू मा रगत जम्नु), पाचन नलीका समस्याहरू, जस्तो कि ग्यास्ट्राइटिस, पाचन नलीमा हुने घाऊ वा इर्रिटेबल बोवेल सिंड्रोम, ठेउला, जनैखटिरो जस्ता रोग पछि देखिने भैंसे दाद,शल्यक्रिया लगायतका छातीमा भएका कुनै पनि क्षति आदि ।
उपचारकाे विधि
हृदयाघात नै भएको अवस्थामा पनि कहिलेकाहीं मानिसहरूले छातीको दुखाईलाई सामान्य र केही समय मै आँफै हराएर वा निको भएर जाने सोचेर अस्पताल वा चिकित्सकको सहयोग लिन ढिलाई गर्छन् । यसो गर्नाले मुटुमा स्थायी र गम्भीर क्षतिको जोखिम व्यहोर्नुपर्ने हुन सक्छ । यहाँ सम्म कि आकस्मिक मृत्यु हुने सम्भावना पनि रहन्छ ।
यदि तपाईंमा हृदयाघात हुन सक्ने कारक तत्वहरु छन् र तपाईंले छाती दुखेको महसुस गर्नु भयो भने तत्काल आफुले गरिरहेको कामबाट विश्रान्ति लिनुहोस् र चाँडो भन्दा चाँडो अस्पताल पुग्ने कोशिस गर्नुहोस् ।
अस्पतालको आकस्मिक कक्षमा ईसीजी, छातीको एक्सरे र रक्त परीक्षण जस्ता केही जाँचहरू हुने छन्, जसले तपाईंलाई साँच्चीकै मुटुको समस्या भएको हो कि होइन भनेर किटान गर्न सघाउने छन् । तपाईंलाई तत्कालै अक्सिजन र केही औषधि दिएर तपाईंको दुखाई लाई घटाउने छन् र मुटुलाई अरु क्षति हुनुबाट जोगाउने छन् ।
जे भए पनि छाती दुखाईका अरु कारणहरू हृदयाघात जस्ता गम्भीर हुँदैनन् । छाती पोलेको अवस्थामा डाक्टरले तपाईंलाई अम्ललाई प्रभावहीन पार्ने औषधि वा भित्र हुने अम्लस्रावलाई घटाउने औषधि दिने छन् । तपाईंले नियमित रूपमा खाना खानु पर्ने छ, यथेष्ट पानी पिउनु पर्ने छ र रक्सी बार्नु पर्ने छ। दुखाई कम गर्ने औषधि सेवन गर्दा तथा चिसोले सेक्दा पनि मांसपेशी तथा करङ दुखाईमा राहत महसुस हुन्छ । निराेगी नेपालबाट