काठमाडौं - बन्दाबन्दीमा धेरै मानिसहरु फुर्सदिलो जिवन बिताइरहेका छन् । हरेक मानिस घर घरमा थुनिएका छन् । बाहिर निस्किएर सक्रिए जिवन बिताउने चाहाना हुदाँ हुदै पनि कोभिड १९ अर्थात कोरोनाभाइरसबाट जोगिनका लाग घरमा नै बस्नु उपयुक्त हुन्छ । तर घरमा नै बसिरहँदा शरिर आलस्य हुने तनाब बढ्ने समस्या हुन सक्छ । साथै घरमा विभिन्न परिकार बनाएर खादाँ शरीरमा अनावश्यक बोसो बढेको अर्थात मोटोपना हुनसक्छ । यस्तो अवस्थामा घरमा नै केही योगासन र प्राणायामहरू गर्न सकिन्छ । त्यसमध्ये एक सजिलो योगासन हो बालासन । यो आसनमा रहेर योग गर्दा स्फूर्ति बढ्नुका साथै तनावमुक्त हुन सघाउँछ । हाम्रो प्रतिरक्षा प्रणाली पनि बलियो बनाइराख्न मद्धत गर्छ ।
बालासन गर्ने तरिका यस्तो छ ।
बालासन गर्न शुरूमा समथर धरातल भएको जमीनमा आफ्नो योगा म्याट ओछ्याउनुपर्छ । त्यसपछि घुँडा मारेर कुर्कुच्चालाई थिचेर बस्नुहोस्, त्यसरी बस्दा दुवै पैताला आकाशतिर फर्किएको र दुवै बूढीऔंला जोडिएको हुनुपर्छ ।
ढाड सीधा बनाउनुहोस्, हत्केला घोप्टो पारेर हात सीधा अगाडि लानुहोस् । अब लामो श्वास तान्दै हात नखुम्च्याई माथितिर लानुहोस् ।
मन्द गतिमा श्वास छाड्दै हात नखुम्च्याई पञ्जाले जमीन छोउञ्जेल अगाडितिर झुक्नुहोस् । अगाडि झुक्दा कम्मरको भागबाट नझुकी नितम्बको जोर्नी भएको भागतिरबाट झुक्नुहोस् ।
विस्तारै निधारलाई जमीनमा अड्याएर राख्नुहोस् ।
अब बालासनमा शरीरलाई आरामको मुद्रामा खुकुलो पारी लामो गहिरो श्वास करीब ३० सेकेन्ड लिने र छाड्ने गर्नुहोस् । समय जान्न तपाईंले मनमनै १, २, ३ गर्दै ३० सम्मको गन्ती गर्न पनि सक्नुहुन्छ ।
यही मुद्रामा करीब ३० सेकेन्डदेखि ५ मिनेटसम्म सासको गति सामान्य राखेर रहन पनि सक्नुहुन्छ ।
त्यसपछि विस्तारै टाउकोलाई उठाउँदै बज्रासनमा (दुवै खुट्टा खुम्च्याएर नितम्बलाई कुर्कुच्चामाथि राख्ने) बस्नुहोस् ।
यो आसनमा रहेर योग गर्दाका फाइदाहरु यसप्रकार रहेका छन् ।
नितम्ब, तिघ्रा र गोलीगाँठाहरूलाई विस्तारै तन्काउँछ ।
मस्तिष्कलाई शान्त राख्छ ।
थकान र तनाव हटाउँछ ।
ढाड र कम्मरको दुखाइमा पनि आराम मिल्छ ।
यो गर्दा अपनाउनुपर्ने सावधानी यस्ता छन्
पखाला लागेको वेला र गर्भावस्थामा यो आसन गर्नुहुँदैन ।
घुँडा सम्बन्धी समस्या भएका बिरामीहरूले यो आसन गर्दा जानकार योग प्रशिक्षकको निगरानीमा मात्र गर्नुपर्छ ।