काठमाडौं । नेपालमा मांसाहारीबीच रातो मासु निकै लोकप्रिय छ। यद्यपि, कतिले रातो मासुलाई स्वास्थ्यका लागि राम्रो मान्ने गरेका छन् भने धेरैले नराम्रो पनि भन्ने गरेका छन्।
स्तनधारी प्रजाति, जसमा राँगा, सुँगुर, भेडा आदिमा रातो मासु समावेश हुन्छ। यसमा प्रोटिन, आइरन, जिंक, भिटामिन डी र ओमेगा–थ्री फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ जुन शरीरका लागि निकै महत्वपूर्ण छन्।
यसमा भारी मात्रामा फ्याट र कोलेस्ट्रोल पनि पाइन्छ जसले ब्लड सुगर, मुटु रोग, मोटोपना र विभिन्न प्रकारका रोगलाई निम्तो दिन्छ । रातो मासुमा अत्यधिक मात्रामा आइरन हुने हुँदा यो खाँदा अल्जाइमर्सको जोखिम हुने विभिन्न अध्ययनले देखाएका छन्।
मुटु रोगको खतरा
वैज्ञानिकहरुले बारम्बार रातो मासु र मुटु रोगबीच सम्बन्ध हुने पुष्टि गरेका छन् । पछिल्लो एक अध्ययनअनुसार रातो मासु र मुटु रोगको सम्बन्ध मासुमा हुने चिल्लो पदार्थ र कोलेस्टेरोलमा मात्र सीमित छैन ।
बरु रातो मासुमा पाइने कार्निटाइन नामको यौगिकलाई हाम्रो पाचनप्रणालीले टुक्राई ट्रिमेथाइलेमिन एन अक्साइड (टीएमएओ) उत्पादन गर्छ । टीएमएओले मुटुका धमनीमा चिल्लो पदार्थ जम्मा गरिदिई हृदयाघात गराइदिन्छ।
गुद्वारको क्यान्सर
रातो मासुले गुद्वारको क्यान्सर हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । अमेरिकामा गरिएको एक अध्ययनमा यो पुष्टि भएको हो । ५० वर्षदेखि ७४ वर्षमाथिका साढे १ लाख मानिसमा गरिएको सो अध्ययनमा रातो मासु खाने धेरै मानिसमा गुद्वारको क्यान्सर भएको पाइएको थियो। सम्भावित क्यान्सरबाट बच्न स्वास्थ्य विज्ञहरुले रातो मासुको सट्टा माछा खानुपर्ने सुझाएका छन् ।
चिनी रोगको कारक
रातो मासु चिनी रोगसँग पनि प्रत्यक्ष सम्बन्धित छ । हरेक साता नियमित रूपमा रातो मासु खाँदा चिनी रोग हुन सक्ने सम्भावना ५० प्रतिशत रहने विज्ञहरु बताउँछन् ।
युरिक एसिडको खानी
रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ, जसका कारण यसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर हानि गर्छन् । शरीरमा फ्याटी एसिड, कोलेस्टेरोलको संग्रहले दीर्घकालीन रूपमा नसासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ ।