काठमाडौं । कुनै पनि गर्भवती महिलाले आफ्नो स्वास्थ्य जाँच गराउन जादाँ आफ्नो गर्भ पाठेघरभित्र बसेको छ छैन त्यसको समेत परिक्षण गराउनु पर्दछ । कतिपय अवस्थामा बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । जो आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ।
समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, पाठेघरमा नबसी पाठेघरबाहिर बच्चा बस्यो भने यो जोखिमयुक्त हुन्छ। पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ ।
धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यो अवस्था किन खतरनाक हुन्छ त ? यसबारे बुझ्न आवश्यक छ।पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ।
किन पाठेघर बाहिर बस्छ त बच्चा ?
१. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएमा।
२. ट्युबको पहिला शल्यक्रिया भएमा।
३. बाँझोपनको उपचारबाट गर्भ रहेमा।
४. पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भएमा।
५. कपर टीको प्रयोग गरेको भएमा।
महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हुने भएकाले यसबारे निकै सचेत हुन आवश्यक हुन्छ। किनभने एउटा गर्भ रहँदा त्यहा आमा र बच्चा गरी दुई जीवनको सवाल हुन्छ । त्यसैले गर्भावस्थामा कम्तीमा ३ पटक (हरेक तीन महिनाको अन्तरालमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ।