नेपालमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा बढिरहँदा बिरामीका आफन्तले रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीका लागि रगत खोज्ने क्रम पनि बढिरहेको देखिन्छ। ।
पछिल्लो समय सामाजिक सञ्जालमै पनि दिनहुँजसो मानिसहरूले रेम्डेसिभिर र रगतको उपलब्धताबारे सहयोग माग्ने गरेका छन्।
माग बढेसँगै व्यापारीहरूले रेम्डेसिभिरको मूल्य बढाएको गुनासोबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार रेम्डेसिभिरको काठमाण्डूस्थित आधिकारिक आयातकर्ताको सम्पर्क र मूल्यसहित एउटा सूचना नै जारी गर्नुपर्यो।
मन्त्रालयले प्रतिभाएल रेम्डेसिभिरको ४,९०० रुपैयाँ तोकेको छ।
औषधि लिन जान व्यक्तिले आफ्नो परिचयपत्रको प्रमाणसहित बिरामी रहेको अस्पताल तथा चिकित्सकको प्रेस्किप्शन देखाएर खरिद गर्न सक्ने उक्त सूचनामा उल्लेख छ।
रम्डेसिभिरको प्रयोग नभई नहुने हो?
विश्व स्वास्थ्य सङ्गठनले अस्पतालमा भर्ना भएका बिरामीको हकमा रेम्डेसिभिरको सशर्त प्रयोगको सिफारिस गरेको छ।
"रेम्डेसिभिरले कोभिड-१९ का बिरामीमा जीवन रक्षा गर्न सघाउने अन्य परिणाम दिने पुष्टि गर्न अहिले प्रमाण उपलब्ध नरहेको" डब्ल्यूएचओले जनाएको छ।
संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी निकाय एफडीएले रेम्डेसिभिरको आपत्कालीन प्रयोग अनुमति दिएको छ।
उसको निर्देशिकामा भनिएको छः "अस्पतालमा भर्ना भएका अक्सिजन दिनुपर्ने बिरामीहरूमा यसको प्रयोगका लागि अनुमति दिइएको छ।"
"यद्यपि मेकानिकल भेन्टिलेशन आवश्यक पर्ने बिरामीको हकमा प्रयोग गर्न यो सामान्यतया सिफरिस गरिँदैन किनकि रोगको यस्तो चरम अवस्थामा यो उनीहरूका लागि फाइदाजनक हुन्छ भनेर देखाउने पर्याप्त तथ्याङ्क छैनन्।"
कोरोनाभाइरसबाट सङ्क्रमित हुनासाथ र कुनै लक्षण नदेखिए पनि बिरामीलाई रेम्डेसिभिर दिइहाल्नपर्ने औषधि नभएको पल्मोनरी एन्ड क्रिटिकल केअरसम्बन्धी विज्ञ प्राध्यापक डा. अर्जुन कार्की बताउँछन्।
"अक्सिजनको मात्रा नै घटेर नाकबाट अक्सिजन दिनुपर्ने चरणमा पुगेपछि रेम्डेसिभिर दिने हो। रोग गम्भीर अवस्थामा पुगिसकेपछि यसको धेरै प्रभावकारिता देखिएको छैन।"
"कोभिड हुनासाथ सबै बिरामीलाई यो लगाइहाल्नुपर्छ र यो लगाउने बित्तिकै सब ठिक हुन्छ भन्ने बुझाइ सत्य होइन," डा. कार्कीले थपे।
लक्षणसहित सङ्क्रमण देखिएका केही सीमित व्यक्तिमा रेम्डेसिभिरको केही फाइदा देखिएको आईसीयू फिजिसियन डा. हेमराज पनेरू बताउँछन्।
"सङ्क्रमित भएको हप्ता अथवा दश दिनपछि भेन्टिलेटरमा राखिएका विरामीलाई दिँदा त्यो पनि प्रभावकारी देखिएको छैन। कोभिड हुनासाथ जसरी माग हुन थालेको छ त्यस्तो हुनुपर्ने होइन," बीबीसी न्यूज नेपालीसित उनले भने।
कोभिड-१९ का बिरामीलाई रेम्डेसिभिरको सट्टा डेक्सामिथासोन प्रयोग हुने भए पनि यो महामारीमा त्यसले त्यति चर्चा नपाएको सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात बताउँछन्।
"शरीरमा अक्सिजनको मात्रा कम भएपछि डेक्सामिथासोनको प्रयोग गर्न सकिन्छ। यो सस्तो र सुलभ पनि छ। यो त झ्याली पिटेसरी भन्नुपर्यो," उनी भन्छन्।
यद्यपि बिरामीको शरीरमा अक्सिजन कम हुनासाथ डेक्सामिथासोनको प्रयोग गरिहाल्न नहुने चिकित्सकहरूको सुझाव छ।
"आफूखुशी प्रयोग गर्नुभएन। चिकित्सकलाई भेटेर सल्लाहबमोजिम लिनुपर्ने हुन्छ। निःसन्देह यसका साइड इफेक्टहरू पनि छन्,"प्राध्यापक बस्न्यातले सुझाए।
बिरामीको सम्पूर्ण पक्षको विश्लेषण गरेपछि विशेषज्ञ चिकित्सकले सघन उपचार कक्षमा दिने औषधि भएकोले आफैँले प्रयोग गर्न नहुने डा. कार्कीको पनि सुझाव छ।
के हो डेक्सामिथासोन?
चिकित्सकहरूका अनुसार यो स्टेरोइडमा आधारित एक प्रकारको औषधि हो जुन विभिन्न रोगमा प्रायः प्रयोग भइराख्छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित छाती रोग विशेषज्ञ डा. शान्तकुमार दासका अनुसार निमोनिया, निश्चित प्रकारको बाथ रोग र ब्याक्टेरीअल मेनेन्जाइटिस लगायतका बिरामीमा यसको प्रयोग हुन्छ।
निमोनियाको बिरामीका हकमा पनि यसले मृत्युदर घटाएको र बिरामीलाई भेन्टिलेटरमा जानबाट रोक्न सघाएको डा. दास बताउँछन्।
गत वर्ष यूकेमा गरिएको एउटा अध्ययनले डेक्सामिथासोनले भेन्टिलेटरमा राखिएका आठ बिरामीमा एकजना र अक्सिजन दिइएका २५ मा एक जनाको जीवन जोगाउने देखाएको थियो।
अनुसन्धानकर्ताहरूले त्यतिबेला यदि उक्त औषधि शुरूदेखि यूकेमा पाइएको भए ५,००० जीवन जोगिने थियो भनी उल्लेख गरेका थिए।
प्लाज्मा थेरापीबारे पनि मतभेद
कोभिड-१९ का बिरामीमा प्लाज्मा थेरापीको पनि प्रयोग एवम् प्रभावकारितालाई लिएर एकमत नदेखिएको डा. कार्की बताउँछन्।
सङ्कटपूर्ण अवस्थामा पुगिसकेपछि अत्तालिएर मानिसहरूले यो गरे होला कि भन्दै प्रमाणित हुन बाँकी रहेको औषधोपचार खोज्नु अस्वाभाविक नभएको उनको तर्क छ।
"तर वैज्ञानिक तथ्य र प्रमाणमा टेकेर भन्नुपर्दा प्लाज्मा थेरापी अचूक उपाय हो अथवा अचूक उपचार विधि हो भनेर भन्ने बलियो आधार अहिलेसम्म पाइएको छैन," प्राध्यापक डा. कार्कीले भने।
"प्लाज्मा थेरापीकै कारण बिरामी निको भएको हो कि निको हुने क्रममा थियो भन्ने कुरा नछुट्ट्याई टुङ्गोमा पुग्न गाह्रो छ।"
आईसीयू फिजिसियन डा. हेम पनेरूका अनुसार पनि विभिन्न अध्ययनबाट प्लाज्मा थेरापी उपयोगी नदेखिएको पुष्टि भइसकेको छ।
"मेरो बुझाइमा प्लाज्मा अतिशयोक्ति नै हो। यसको खासै उपयोगिता छैन। मैले हेर्ने आईसीयूमा नदिऊँ नै भन्ने गरेको छु," उनले भने।
बिबिसी