काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने प्रकृयामा अगाडि बढाउने बताएका छन्। आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले भने,‘तपाईहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ। तपाईहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुस्। सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध छ।’
प्रधानमन्त्रीले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए । उनले भने,‘गंगालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ। जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्। यसका लागि तपाईहरू धन्यवादको पात्र हुनुहुन्छ। यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ।’
‘यो केन्द्र केवल स्वास्थ्य केन्द्र मात्रै होइन, यसको नामले नै केन्द्रको औचित्य प्रमाणित गर्दछ’ प्रधानमन्त्रीले भने,‘शहीद गंगालाल हामी सबैले सम्मान गर्ने नाम हो। तानाशाहीविरोधी, निरंकुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको छ। बिपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
प्रधानमन्त्रीले भने–‘मेरो दोस्रो प्रधानमन्त्रीकाल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण रह्यो। उक्त कार्यकालमा स्वास्थ्य वीमा लागू गरियो। विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो। प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो। स्वास्थ्य सेवालाई देशैभरि बिस्तार गरियो। मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ। त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ।’
कार्यक्रममा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालले उत्कृष्ट सेवा दिएको बताए। अस्पतालमा विपन्न कार्यक्रम, बिमा कार्यक्रम, निःशुल्क कार्यक्रमले जनतालाई सहज भएको बताए। मन्त्रालयले अस्पतालका आवश्यक विषयलाई पूर्ण सहयोग गर्ने उनले बताए।
कार्यक्रममा बोल्दै स्वास्थ्यराज्यमन्त्री डा तोसिमा कार्कीले अस्पतालले उत्कृष्ट काम गरेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन्। मुटुका सेवा विकेन्द्रीकरण गर्नका लागि मन्त्रालयले सहयोग गर्ने उनले बताईन्।