नेपालगञ्ज- नेपालगञ्जमा १५ शय्या क्षमताको नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलको उद्घाटन भएको छ।
हस्पिटलको उद्घाटन गत बिहिबार नेपाली कांग्रेसका प्रवक्ता एवम् पुर्व परराष्ट्रमन्त्री डा प्रकाशसरण महतले गरेका थिए।
आयुुुर्वेद चिकित्सा क्षेत्रमा दक्ष जनशंक्ति उत्पादन गर्दै गाउँघरका दुर्गम क्षेत्रमा नागरिकको उपचारमार्फत स्वास्थ्यमा सुधार ल्याउने अस्पतालले संकल्प लिएको नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष मैकुलाल वाल्मिकीले बताए। नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटल स्वास्थ्य क्षेत्रलाई नेपालगन्ज हेल्थ क्याम्पसद्धारा संचालित अस्पताल हो। अस्पतालको स्थापना गत कात्तिकमा धनवन्तरी जयन्तीको अवसरमा गरिएको हो।
आयुर्वेद शिक्षाको प्रचार–प्रसार गर्ने, दक्ष, योग्य जनशंक्ति उत्पादन गर्ने, नेपालको प्राकृतिक जडीबुटीको अध्ययन गर्ने, सरल, सहज र सुलभ आयुर्वेद चिकित्सा प्रदान गर्ने अस्पतालको लक्ष्य रहेको वाल्मिकीले बताए।
आगामी पाँच वर्षभित्र ५० शय्याको अस्पताल बनाउने, हाल एचए आयुर्वेद तिनवर्षे कोर्षको साथै चार वर्षे, आयुर्वेद शिक्षाको स्नातक तह सम्मको अध्ययन अध्यापनको व्यवस्था गर्ने, आयुर्वेद सम्बन्धी विभिन्न तालिम, योगा थेरापी, प्राकृतिक चिकित्सा र निशुल्क स्वास्थ्य शिविरहरु गर्ने अस्पतालले योजना बनाएको छ।
आगामी दिनमा विद्यार्थी, आम नागरिक, जनसमुदाय र सेवाग्राहीको हकहित, अधिकारको संरक्षण गर्दै हाल प्रदान भैरहेका सेवामा बृद्धि गर्नुको साथै थप प्रभावकारी, व्यवस्थित, सहज, सुलभ एवम् सस्तो स्वास्थ्य सेवा प्रदान गर्ने नेपालगन्ज हेल्थ क्याम्पसले प्रतिवद्धता गरेको छ।
अस्पतालमा डा शिवराज सुवेदी, डा मनोज कुमार यादव, डा मदन भण्डारी , डा योगेश वैद्य लगाएतले सेवा दिने छन्।
शिविर सम्पन्न
नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ। नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलले माघ १२ गते अस्पतालको उद्घाटनको अवसर पारेर दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो।
अस्पताल परिसर नेपालगञ्ज उप–महानगरपालिका वडा वडा नम्बर–१० आर्दश नगरमा भएको शिविरमा ३ सय २६ जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।
बिहिबार र शुक्रबार गरी दुई दिन चलेको शिविरमा विशेष छुटमा ३ जना पाईल्स र १ जना फिस्टुलाको बिरामीको सफल रुपमा शल्यक्रिया समेत गरिएको नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटलको प्रशासन प्रमुख प्रिन्सी मिश्रले बताईन्। यसैगरी गौरव स्मृति र ‘बियोर्ससेल्फ फाउण्डेसन’ सँगको सहकार्यमा शिविरमा आँखा परीक्षणको सेवा पनि उपलब्ध गराइएको थियो।
शुक्रबार डा मदन भण्डारी, डा मनोज कुमार यादव, सहायक सन्जिव कुमार थारु र सम्झनाको टिमले पाइल्स र फिस्टुलाको शल्यक्रिया गरेको थियो। स्वास्थ्य शिविरमा परीक्षण गराउन आएका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै ल्याब परीक्षण र शल्यक्रियामा विशेष छुटको व्यवस्था गरिएको थियो। अस्पतालले शिविरमा उपचार गराएकाहरुको एक महिना पछि पुनः निःशुल्क रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ।
अस्पतालले आगामी दिनमा पनि नियमित रुपमा ग्रामिण क्षेत्रमा गएर स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको अध्यक्ष मैकुलाल वाल्मिकीले बताए। यसले पश्चिम नेपालमा आयुर्वेद अस्पतालले गरिब, निम्न वर्गको जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ठुलो सहयोग गर्ने उनले बताए।
नेपालगञ्ज आयुर्वेद अस्पताल दक्ष जनशंक्ति र उच्च प्रविधिलाई भित्राएर खुलेको अस्पताल हो।