बलेवा । छ सन्तानकी आमा भीममाया विक आजभोलि विगत सम्झेर झस्किन्छिन् । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विकले सबै सन्तान घरमै जन्माइन् । साठी वर्षीया उनले २० वर्ष उमेर नपुग्दै विवाह गरिन् । बच्चा जन्माइन् ।
'त्यतिबेला त्यस्तै थियो । सानैमा बिहे हुन्थ्यो, बालबच्चा पनि चाँडो चाँडो पाउँथ्यौँ । गर्भावस्था र सुत्केरी छँदा केही भइहाले ज्यान जोगाउन मुश्किल', विकले भने–'फुकफाक गर्न धामी झाँक्री कहाँ जाने चलन थियो ।'
विकलाई विगतले बेला बेलामा झस्काउने गर्छ । तर उनका सन्तान जन्मिने बेला खासै समस्या भने आएन् । 'कुनै सन्तान खेतबारी, कुनैलाई गोठमा जन्माइन्', उनले भने । सासूले उनलाई काम गर्दागर्दै पनि बच्चा जन्माउन सकिन्छ भनेर सम्झाइन् । छ सन्तान जन्माउँदासम्म पनि उनले कहिल्यै गर्भ परीक्षण गरिनन् ।
'नजिकमा स्वास्थ्य संस्था थिएनन् । गर्भ परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि थिएन । बच्चा जन्माउनुअघि स्वास्थ्यमा समस्या आउँदा झारफुकमा विश्वास गरेर बस्नुपथ्र्यो', विकले भनिन् । अहिले उनले छोरीबुहारीलाई महिनाबारी रोकिएकै दिनदेखि गर्भ परीक्षण र स्वास्थ्यचौकीमा सुत्केरी हुन प्रोत्साहन गर्न थालेकी छिन् ।
‘हाम्रा पालामा केही थिएन्, अहिले भएका सुविधा किन नलिने, ज्यान जोखिममा किन राख्नु', उनले भने । समय समयमा गर्भ परीक्षण, आइरन चक्कीको प्रयोग, पोषिलो खानेकुरा खानुपर्ने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुँदा जोखिम न्यूनीकरण हुनेलगायतप्रति विक सचेत छिन् । उनको गाउँमा घामपानी स्वास्थ्य आमा समूह सक्रिय छ । त्यही समूहमा सबै आमा जम्मा हुन्छन् र आफ्ना छोरीबुहारी गर्भवती भएमा जानकारी गराउँछन् । स्वास्थ्य स्वयंसेविकाबाट सल्लाह लिन्छन् ।
घामपानी समूहबाट आमाहरुले प्रजनन स्वास्थ्य तथा गर्भ, सुत्केरी अवस्थामा हुनसक्ने जोखिम र न्यूनीकरणका उपायबारे जानकारी पाउने गरेका छन् । 'सुत्केरी हुनु भनेको महिलाले अर्को चोला पाउनु हो, स्वाथ्यचौकी गएमा सुरक्षित भइन्छ', विकले भनिन्– 'स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुँदा तत्काल आउने सक्ने जोखिमबाट बच्न सकिन्छ ।'
स्वास्थ्य स्वयंसेविकाले विकले जस्तै अभिभावक र गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य आमा समूहको बैठकमा गर्भावस्था र सुत्केरी अवस्थाको विषयमा जानकारी गराउँछन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सरकारले दिने सुविधा, आमा र बच्चाको ज्यान जोखिममा नपर्ने अवस्थाका बिषयमा समेत स्वास्थ्य आमा समूहमा छलफल हुन्छ ।
समूहमा आवद्ध उनीहरुले गर्भवती बुहारीलाई नियमित स्वास्थ्य जाँच र स्वास्थ्यचौकीमा सुत्केरी हुन प्रेरित गर्ने गरेको स्वास्थ्य स्वयंसेविका बिमिना परियारले बताइन् । उमेरले ६० कटेका विक, कोपिला नेपाली र छमकुमारी कुँवर घामपानी गाउँका उदाहरण मात्रै हुन् । 'मेरा छ छोराछोरी छन्, उबेला स्वास्थ्यचौकी थिएनन्, कष्टका साथ सन्तान पाइयो, हुर्काइयो’ छमकुमारीले भनिन् ।
नरेठाँटीमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य छ । कुपोषित बालबालिकासमेत अहिलेसम्म नभेटिएको नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख जगन्नाथ सुवेदीले बताइन् । बिगत एक वर्षयता स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा २८ स्वस्थ बच्चा जन्मिएका छन् । घामपानी गाउँका जस्तै नरेठाँटीका गर्भवतीले नियमित गर्भपरीक्षण गराउने गरेका छन् ।
पोषणका विषयमा पनि गर्भवती, सुत्केरी र उनीहरुको परिवार सचेत रहेको सुवेदीले बताइन् । गलकोट नगरपालिकाले हरेक स्वस्थ आमा र बच्चाका लागि मापदण्डअनुसार गर्भ परीक्षण गरेका सुत्केरीलाई सरकारले उपलब्ध गराउँदै आएको बाहेक अतिरिक्त रु चार हजार पाँच सय पोषण भत्ता उपलव्ध गराउँदै आएको छ ।
रासस