काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सामग्रीको खरिदको प्रक्रियालाई पारदर्शी बनाउनका लागि निर्देशन दिएका छन्।
स्वास्थ्य सेवा विभागको अनुगमनमका क्रममा मन्त्री गिरीले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोजको व्यवस्था चाडैं गर्नुपर्ने बताए। उनले बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरुलाई निर्देशन दिए।
'छिमेकी राष्ट्रहरुमा कोभिड आइसकेको छ । हाम्रोमा पनि आउनसक्छ । बुस्टरडोज तत्काल लिएर नागरिकलाई लगाउनुपर्छ । त्यसका लागि योजना बनोस् । मन्त्रालयबाट खेल्नुपर्ने भूमिका म खेल्छु,' उनले भने।
उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन पनि निर्देशन दिए। 'खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको छ। यसलाई पारदर्शी बनाएर काम गर्नु होला ,' उनले भने।
विभागका कर्मचारीहरुलाई प्रभावकारी रूपमा काममा लाग्न उनले निर्देशन दिए। ' विभाग जति प्रभावकारी हुन्छ । त्यतीनै जनताप्रति उत्तरदायी हुन्छ। जनताले त्यति नै राम्रो स्वास्थ्य सेवा पाउँछन्,' उनले भने,'त्यसैले तपाईहरु अझै प्रभावकारी भएर लाग्नुस्। राम्रो काम गर्नुभएको छ। यसका लागि धन्यवाद दिन्छु। तर अब हामी कमीकमजोरी पहिल्याएर अझै जिम्मेवार भएर लाग्न आवश्यक छ।'
उनले थपे, 'जुन-जुन शाखाको जिम्मेवारी लिएको छ। त्यो पूरा गर्ने इच्छाशक्ति हुनुपर्छ। अनि बल्ल मन्त्रालय र विभागले आफ्नो जिम्मेवारी पूरा गर्नसक्छ। त्यहीकारण जिम्मेवारी बुझेर काममा जुटिदिनुस्।'
देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरु प्रयोगविहिन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन निर्देशन दिए। 'उपकरणहरु यहाँबाट विभिन्न ठाउँमा पठाएका छौं । तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ । त्यो कुन अवस्थामा छ ? कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामाग्री त्यसरी अलपत्र हुनुहुँदैन । यसतर्फ सजग रहनुस्।'
उनले स्वास्थ्य संस्थाहरूलाई प्रविधि मैत्री बनाउनुपर्ने बताए । 'घरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस् । सबै कुरा डिजिटलाईज हुनुपर्छ । मोबाइलबाट हेर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा उत्साहजनक रूपमा देखिनेगरी परिवर्तन आउनुपर्छ,' उनले भने,'बिरामी टिचिंग लग्यो, बेड हुँदैन । त्यसपछि वीर लग्यो, पाटन लग्यो, बाटोमै मर्छ भन्ने अवस्था रहनु हुँदैन।'
प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए । ' यो क्षेत्रलाई सुधार्ने अठोटका साथ आएको छु । आम जनतालाई मेरो देशले मेरो स्वास्थ्यको जिम्मेवारी लिन्छ भन्ने ग्यारेन्टी गराउनुपर्छ । '