सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । काठमाडौं उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निः शुल्क मिर्गौला प्रत्यारोपण गरिएको छ। प्रदेश अस्पतालले अनुमति पाएको ३ महिनापछि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेको हो।
प्रदेश अस्पतालका डाक्टर डम्बर खड्का र केन्द्रका तर्फबाट डाक्टर पुकार चन्द्र श्रेष्ठले ०७८ चैत १० गते मिर्गौला प्रत्यारोपण गर्नका लागि सम्झौता भएको थियो।यस्तै, कानूनी तथा व्यवस्थापिका प्रक्रिया पुरा गरेर शनिवार हिजो नवलपरासी जिल्ला बर्दघाट नगरपालिका-४ का ४३ वर्षीया आमाले २२ वर्षीया छोरालाई मिर्गौला दान गरेकी थिइन्।
प्रत्यारोपणमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डाक्टर पुकार श्रेष्ठको नेतृत्वमा उक्त प्रत्यारोपण सम्पन्न भएको प्रदेश अस्पतालले जानकारी दिएको छ।
केन्द्रका डाक्टर रवि किरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिष्ट डाक्टर सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डाक्टर सुमित आचार्य, डाक्टर दिपा लामिछाने रेडियोलोजीष्ट डाक्टर समीर दवाडी, डाक्टर पूजन बल्ल र डाक्टर जनी बज्राचार्य, फिजिसियन डाक्टर कुलराज शाही लगायतका टिम र ओ.टी. इन्चार्ज प्रभा रावल तथा ओ. टी र आई.सी.युमा कार्यरत नर्सिङ कर्मचारीहरू साथै प्रयोगशालाका इन्चार्ज भरत देवकोटा लगायतका कर्मचारीहरूको टीम मिर्गौला प्रत्यारोपण गरेको हो ।
प्रदेश अस्पतालले प्रत्यारोपण सेवा नियमित रूपमा सञ्चालन गर्ने प्रदेश अस्पतालेको योजना रहेको छ । उक्त सेवालाई निरन्तरता दिन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न केन्द्रमा तालिममा पठाउने डाक्टर डम्बर खड्काले बताए ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १ हजार ११ जनाको मिर्गौला र ९ जनाको कलेजो प्रत्यारोपण गरिएको डाक्टर पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘कुनै हालतमा प्रत्यारोपण सेवा बन्द हुने छैन । अब कर्णालीका बिरामीले काठमाडौं धाउनु पर्दैन, बिरामीले एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन ।