काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले अध्यक्षता गरेका थिए।
समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताइन् ।
उनले भनिन्– ‘नेपाल सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमि अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिकाधिकारी सम्बन्धी सेवाहरु, करसँग सम्बन्धित कार्यहरु लगायत सेवाहरु उपलब्ध गराइरहेको छ ।’ यी सेवाहरु निरन्तर सुलभ रुपमा नागरिकलाई उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उनँले इंगीत गरिन् ।
मन्त्री शर्माले न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादनशीलता हासिल गरी ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा उपलब्ध गराई कर्मचारीका सेवासुविधाहरुलाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्ता शेयरधनीहरुलाई अधिकतम प्रतिफल दिनु कम्पनीको दायित्व रहेको पनि सो कार्यक्रममा बताइन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टी सर्वोपरी हुनुपर्ने बताए । ‘कम्पनीले सेवाहरु देशभर विस्तार गरेर मात्र पुग्दैन, वितरित सेवाहरु गुणस्तरीय, भरपर्दो र निरन्तर उपलब्ध गराउनु पर्छ ।’ उनले भने ।
सो कार्यक्रमका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारीसमेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजश्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि दिए ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले नयाँ प्रविधिका रुपमा इ–सिमको देशव्यापी वितरण गरिरहेको बताए ।