काठमाडौं । परिवार नियोजनलाई अंग्रेजीमा ‘फेमेली प्लानिङ’ भनिन्छ । वास्तवमा नेपालमा प्रायले परिवार नियोजन भन्ने वित्तिकै स्थायी बन्ध्याकरण भनी बुझ्छन् । तर, त्यसो नभएर परिवार नियोजन भनेको सहि परिवारको योजना नै हो । खासगरि परिवार नियोजन दुई प्रकारले गर्न सकिन्छ ।
एउटा स्थायी बन्ध्याकरण र अर्को अस्थायी साधनहरुको प्रयोग हो।तीन महिनादेखि १० वर्षसम्मको अवधिसम्म गर्भ निरोधकको रुपमा अस्थायी साधनको प्रयोग गर्न सकिन्छ। उपयुक्त जन्मान्तरको लागि यस्तो साधनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
अस्थायी साधन
महिलाले पिल्स ट्याव्लेड, डिपो (संगीनी सुई), इम्प्लान्ट र पुरुषले कण्डमको प्रयोग गरि सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ । अझै अहिले त पुरूषले प्रयोग गर्ने पिल्स ट्याव्लेड पनि बजारमा आइसककेको छ । अस्थायी साधनको रुपमा महिलाले कपर टीको पनि प्रयोग गर्न सक्छन्। यसलाई एक पटक पाठेघरमा राखेपछि पाँचदेखि १२ वर्षसम्म गर्भ निरोधकको काम गर्छ।
के हो स्थायी बन्ध्याकरण ?
खासगरि सन्तानको रहर पुगिसकेपछि स्थायी बन्ध्याकरणको साहारा लिने गरिन्छ। स्थायी बन्ध्याकरण पुरुष र महिलाको लागि फरक फरक तरिकाले गरिन्छ । पुरुषको लागि भ्यासेक्टोमी गरिन्छ भने महिलाको लागि मिनील्याप।
भ्यासेक्टोमी भनेको पुरुषमा रहेको शुक्रकिट बग्ने नलीलाई काट्ने हो । यसो गरेमा पुरुषबाट शुक्रकिट बाहिर झर्न पाउँदैन।मिनील्यापमा पुरुषको सुक्रकिट महिलाको पाठेघरहुँदै फर्टिलाइजेसन बच्चा बन्ने ठाउँसम्म पुगेपनि महिलाको डिम्ब, डिम्ब नली काटेका कारण महिलाको पाठेघरको डिम्ब नली जहाँ फरटिलाइजेसन हुने ठाउँसम्म आईपुग्न सक्दैन र बच्चा बन्ने प्रक्रिया रोकिन्छ।
यसरी गरिन्छ बन्ध्याकरण
सबैभन्दा पहिला त सम्बन्धित व्यक्ति इच्छुक हुनुपर्छ । त्यसपछि स्वास्थ्य परिक्षण गरिन्छ । अहिले पनि गाउँघरमा पुरुषले बन्ध्याकरण गरेपछि शारीरिक सम्पर्क गर्नै असमर्थ हुन्छ भन्ने जस्ता भ्रम पनि छन् । तर, यो निकै सहजताका साथ गरिन्छ । सामान्य शिविरमा भ्यासेक्टोमी गर्न सकिन्छ । पाँचदेखि सात मिनेटको समयमा भ्यासेक्टोमी गर्न सकिन्छ । यसलाई मिनी अप्रेशनको रुपमा लिने गरिन्छ।
बन्ध्याकरणको तुलनामा महिलामा गरिने मिनील्याप अलि जटिल हुन्छ । किनकी महिलाको डिम्बको दुई वटा नशा काट्नुपर्ने हुन्छ । यो चाहीँ पेटबाट अलिकति प्वाल पार्नुपर्छ । यस्तो गर्दा एकदेखि डेढ सेमीको प्वाल पारिन्छ। १४–१५ मिनेटको अवधिमा मिनी ल्यावको कार्य सम्पन्न सकिन्छ । भ्यासेक्टोमिको लागि कम्तिमा १५ देखि २० मिनेट र मिनिल्यापको लागि ३० मिनेटसम्म समय लाग्न सक्छ।
के कमजोर बनाउँछ ?
कतिपय पुरुष र महिलामा बन्ध्याकरणपछि साइकोलोजिकल समस्या आउन सक्छ । खासगरि चेतनाको कमीले यस्तो समस्या देखा पर्ने हो ।
– भ्यासेक्टोमीपछि कतिपयमा केही समय रगत बग्न सक्छ । रगत पातलो भएको अवस्थामा यस्तो समस्या आउँछ।
– जुन पहिले नै परिक्षण गरिन्छ । केही समयमा त्यस्ता रगतको चोक्टा निकालेर फालेमा कुनै समस्या हुँदैन ।
– हेमाटोमाको कारणले गर्दा कतिपयको अण्डकोषहरु सुनिन पनि सक्छ । त्यसलाई पनि एन्टिवायोटिक दिएर ठिक पार्न सकिन्छ । यो त्यति ठूलो समस्या होइन ।
– महिलाहरु तल्लो पेट दुखेको बताउँछन् । कहिलेकाँही घाउ पाक्यो भने यस्तो समस्या हुन्छ । जुन विस्तारै ठिक हुँदै जान्छ ।
तर, भ्यासेक्टोमी वा मिनील्याव दुवैले दैनिक जीवनमा त्यस्तो कुनै असर पार्दैन । केही दिन सामान्य सावधानी अपनाएपछि पुगिहाल्छ । यसकै कारण मानिस कमजोर हुन्छ भन्ने चाहीँ भ्रम मात्र हो।
समयमा नै परिवार नियोजन वा बन्ध्याकरणको प्रक्रिया अवलम्बन गरेमा अनावस्यक गर्भ पतनको कारण महिलाको स्वास्थ्यमा पर्न सक्ने तत्कालिक तथा दिर्घकालिन असरबाट बच्न सकिन्छ । परिवार र परिवारका सदस्यहरू थप सुदृढ र सशक्त हुनुको साथै आत्मबल पनि बलियो हुन्छ र सुखी परिवारको स्थापना हुन्छ ।