काठमाडाैं । कान्तिको क्यान्सर वार्डको ३ सय ४६ नम्बर बेडमा दोलखाकी मेलिना बस्नेत यतिबेला क्यान्सरसँग लडिरहेकी छिन् । विद्यालय जाने उमेरकी मेलिनालाई यही वर्षदेखी विद्यालय पठाउने योजना बनाएका थिए उनका बाबु महेन्द्र बस्नेतले । तर विडम्बना यसै वर्षबाट छोरी स्कूल पठाउने महेन्द्रको चाहना पुरा हुन सकेन ।
विद्यालय पुग्नुपर्ने मेलिना यतिखेर अस्पतालका भित्तातिर टोलाउँदै, डाक्टर र नर्सको हेरचाहमा रहेकी छिन् । मेलिना तीन वर्षकी भइन् । तीन वर्षीया यी बालिका अहिले अस्पतालको बेडमा मृत्युसँग जुधिरहेकी छिन् । वैशाखको अन्तिममा अचानक मेलिनाको टाउकोमा सानो–सानो गिर्खा पलाउन थाल्यो । उनका अभिभावकले घर नजिकै रहेको मेडिकलबाट टाउकोको गिर्खा हटाउन औषधि ल्याएर खुवाउन थाले ।
औषधि खुवाइञ्जेल टाउकोको गिर्खा हटेपनि केही समयपछि पुनः उनको खुट्टा दुख्न थाल्यो । मेलिनाको अभिभावकले लडेर खुट्टा दुखेको होला भनी त्यतिञ्जेलसम्म वास्ता गरेनन्। जब झन–झन साह्रो हुँदै गयो तब मेलिनाका बा –आमा उनको स्वास्थ्यलाई लिएर त्रसित बने।
धामी–झाँक्रीको भर पर्दा
अहिले पनि गाउँमा मानिसलाई आराम नभए र स्वास्थ्य समस्याका लक्षण देखिए शुरूमै धामी झाँक्रीलाई सम्झने चलन छ । उनलाई पनि शुरूमा धामी झाँक्रीकहाँ लगियो। उनका अभिभावकले गाउँमा उपचारको विभिन्न उपाय अपनाउँदा पनि ठीक नभएपछि काठमाडौं लगी उपचार गर्ने निधो गरे ।
मेलिनाको खुट्टा दुख्ने क्रम बढिरहँदा देशभर कोरोना महामारी नियन्त्रण गर्न भन्दै लकडाउन थियो। उनको बाबा महेन्द्र बस्नेतले मेलिनालाई जेठको मध्य गर्मीमा दोलखाको मुढेसम्म बसमा राखेर ल्याए। मुढेसम्म गएका आफन्तले मोटरसाइकलबाट काठमाडौं ल्याएका थिए।
काठमाडौं आएको भोलिपल्ट मेलिनालाई कान्ति बाल अस्पतालमा उपचार गर्न लगियो। ओपिडीमा परीक्षण गरेपछि क्यान्सर आशंका गरी उनको बोनम्यारो परीक्षण गर्न भारत पठाइयो।
बोनम्यारो परीक्षण गरेपछि मेलिनालाई ब्लड क्यान्सर भएको पुष्टि भयो। उपचार निम्ति मेलिना, उनका बाबा र आमा ६ महिनादेखि अस्पतालमा बसिरहेका छन् ।
महेन्द्रले भने, भारतमा बोनम्यारो परीक्षण गर्न पठाउँदाभन्दा गाउँको मेडिकलमा नानीलाई उपचार गराउँदा धेरै खर्च भयो । उपचार गर्नुभन्दा पनि गाउँमा बसेर रोग पत्ता लगाउन खोज्दा धेरै खर्च भएको उनले बताए।
लकडाउन नभएको भए र लक्षण देखिनासाथ मेलिनालाई काठमाडौं ल्याउन सकेको भए छोरीको अवस्था सुधार भइसक्ने, तर सोही कारण अहिले आफूहरू निकै समस्या र चिन्तामा रहेको महेन्द्र बताउँछन् । औषधि उपचारमा हरेक साता कम्तिमा १० हजार रुपैयाँ खर्च हुने गरेको छ। कहिले त एकैदिन ५ हजार रुपैयाँको औषधि किन्नुपर्छ। चिकित्सकहरूले दुई वर्षसम्म मेलिनालाई निरन्तर उपचार गर्नुपर्ने बताएका छन्।
मेलिनालाई पहिलो स्टेजको ब्लड क्यान्सर छ। उपचार गरिरहे निको हुने डाक्टरले बताउने गरेको महेन्द्र सुनाउँछन्। ऋण खोजी उपचार गरिरहेको छु, खर्च सकिँदै गएकोले थप ऋण खोज्दा पनि पाउन छाडेको छु, बिस्तारै छोरीको उपचार गर्न आफ्नो जागिरे जीवन त्याग्ने सोचाइमा छु, जागिर छोडेर उपदान स्वरूप आएको पैसाले छोरीको उपचार गर्छु, भावुक हुँदै महेन्द्रले भने, जनताको भनिएको सरकारले त क्यान्सरजस्तो गम्भीर बिरामीहरूको उपचार निशुल्क गरिदिनुपर्ने हो नि।
बिरामी सन्तानलाई अस्पतालको बेडमा देखेपछि माया के हो भनी बुझेको उनी बताउँछन् । उपचार गर्न थालेपछि छोरीको कपाल झरेको छ। कडा औषधिको प्रयोग गर्नुपर्ने भएकोले सबै कपाल झरेको उनले बताए।
ऋण पत्याउन छाडे
मेलिनाका बुबा महेन्द्र १२ वर्षदेखि नेपाली सेनामा कार्यरत छन्। छोरी बिरामी परेपछि काममा नियमित हाजिर हुन नपाएको उनी सुनाउँछन्। लकडाउनमा घर आएको थिएँ, बिरामी हुन थालेपछि जाँदै आउँदै गरेको थिए, उनले भने।
उनको दरबन्दी चितवनमा छ । काममा जान नसकेकाले मेरो खोजी भइरहेको छ, उनी सुनाउँछन्, काम गर्न जाउँ भने यहाँ आमा र छोरी मात्र हुन्छन्, औषधि ल्याउन जाँदा श्रीमतीले छोरीलाई हेरिरहेकी हुन्छिन्। महेन्द्र छोरीको उपचार गर्न भएपनि जागिर छोड्ने विचारमा छन्। उपचार गर्न ऋण खोजेका उनीसँग भएको पनि पैसा सकिएको छ। छोरीको उपचार गर्न ऋण माग्दा पनि कसैले नदिने गरेको उनीसँग तितो अनुभव छ।
आधा दशकमा २ हजार बढी क्यान्सरपीडित बालबालिका भर्ना
क्यान्सरपीडित बालबालिका उपचारका निम्ति भर्ना हुने क्रम बढेको कान्ति बाल अस्पतालले जनाएको छ। अस्पतालका अनुसार पछिल्लो ५ वर्षमा २ हजार ५८ बालबालिकाहरूलाई क्यान्सरको उपचार गर्न ल्याइएको हो । ७ सय ८ बालिका र १३ सय ५० बालकहरू विभिन्न प्रकारको क्यान्सरको उपचार गर्न आएका थिए। उपचाररत ३९ बालबालिकाको मृत्यु भएको छ। क्यान्सर वार्डमा हाल २६ वटा बेड छन् । त्यहाँ क्यान्सरपीडित १९ जना बालबालिका छन् ।
सबैभन्दा बढी ब्लड क्यान्सरपीडित बालबालिका आउने गरेका चिकित्सकहरू बताउँछन्। ब्लड क्यान्सरको पनि धेरै रूप देखिने गरेको छ। किड्नी, आँखा र लिभरमा क्यान्सर भएका बिरामीहरू बढी आउने गरेका छन् । अस्पतालका डा. विष्णु गिरी जटिल अवस्थामा पुगेका केही पीडितको फरक परिणाम आएपनि उपचार गराउन आएका क्यान्सरपीडित बालबालिका निको भएर जाने गरेको बताउँछन्।अस्पतालमा क्यान्सरका बिरामीलाई हेर्न चिकित्सक अभाव छ। ५ जनाको टिमले १९ जना बिरामीलाई हेरिरहेको उनले जानकारी दिए।