काठमाडौं । नेपाल चिकित्सक सङ्घले आज (आइतबार) आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेपछि सङ्घले देशभरका स्वास्थ्य संस्थामा आन्दोलनका कार्यक्रम तय गरेको हो ।
शनिबारको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले सरकारी, गैरसरकारी, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा रोक्ने निर्णय गरेको हो ।
शुक्रबार संघीय संसद भवनमा राष्ट्रपतिको सवारीका बेला वीर अस्पताल (राष्ट्रिय ट्रमा सेन्टर)का वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंह लगायतका अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी प्रहार एवं दुव्र्यवहार गरेको थियो।
भीभीआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा चिकित्सकमाथि सांघातिक आक्रमण गरिनु समग्र स्वास्थ्य संस्थामाथिको हमला भएको सङ्घको ठहर छ। ‘हजारौंको सङ्ख्यामा स्वास्थ्य सेवा लिन आइरहेका बिरामीहरूलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरावस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक सङ्घ स्तब्ध भएको छ’, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
डिउटीमा खटिएका डा. सिंह लगायतका स्वास्थ्यकर्मीलाई वीर र ट्रमा सेन्टरको बीचमा प्रहरीले हातपात गरेको थियो। सडक खाली गराइएका बेला हिँडेको भन्दै प्रहरीले चिकित्सक र स्वास्थ्यकर्मीलार्य हातपात गरेको थियो। राष्ट्रपति भण्डारी संसद्बाट फर्कनेक्रममा सडक खाली गराइएको थियो।
यसैबीच, राष्ट्रपति भण्डारीको सवारीको क्रममा चिकित्सकमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको प्रहरी प्रवक्ता डिआइजी पोशराज पोखरेलले जानकारी दिए। गुरुङलाई निलम्बन गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।
राष्ट्रपति भण्डारी संसद् आउँदा जाँदा ठप्प पारिएको सडक र चिकित्सकमाथिको हातपातबारे सवत्र आलोचना सुरू भएको छ। लोकका लागि स्थापित लोकतान्त्रिक गणतन्त्रमा सवारीको बहानामा नागरिकलाई सास्ती दिनु, असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको सङ्घले जनाएको छ।