जुम्ला। आँखा उपचार केन्द्र जुम्लाले आँखा अस्पताल स्थापना गर्नका लागि अभियान सुरु गएको छ। नेत्र ज्योति संघ जुम्लाले १० बेडको चन्दनाथ आँखा अस्पताल स्थापनाका लागि पहल गरिरहेको छ।
आँखा उपचार केन्द्रलाई स्तरोन्नति गरेर चन्दननाथ नेत्र ज्योति संघ आँखा अस्पताल स्थापना गर्न थालिएको छ। नेत्र ज्योति संघ जुम्लाका सभापति धनबहादुर बस्नेतका अनुसार हरेक वर्षको २र३ पटक आँखाको सल्यक्रिया गर्नका लागि शिविर सञ्चालन गर्नु परेको छ।
सधैँ बाहिरबाट चिकित्सक ल्याएर शिविर सञ्चालन गर्नुभन्दा दैनिक शल्यक्रिया हुने गरी आँखा अस्पताल नै स्थापना गर्न थालिएको उनले बताए। ‘वर्षमा एक पटक मात्रै शिविर सञ्चालन गर्दा तीन सय जना भन्दा बढीको आँखा शल्यक्रिया र ३५ सय भन्दा बढीको आँखा परीक्षण हुने गरेको थियो,’ उनले भने, आँखा अस्पताल स्थापना गर्नका लागि सहयोगको अपिल पनि गरेका छौँ । आजीवन सदस्यहरूले स्वयंसेवक काम गर्दै आएका छन्।’
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले नेपाल नेत्र ज्योति संघ केन्द्रले उपकरण र एक जना चिकित्सक पठाएको बताए।
‘चिकित्सकलाई सहयोग गर्ने दुई जना कर्मचारी भर्ना गर्नका लागि स्थानीय सरकारसँग सहयोग मागेका छौँ,’ उनले भने, ‘अहिले हामी यहाँका स्थानीय तह चन्दननाथ नगरपालिका, हिमा, सिँजा, कनकासुन्दरी, तिला, तातोपानी, पातारासी र गुठीचौर गाउँपालिका जुम्लासँग सहयोगका लागि भेटघाट कार्यक्रम थालिएको छ ।’
स्वर्गीय हरिचन्द्र महतले ०४८ सालमा नेपाल नेत्र ज्योति संघ जुम्ला स्थापना गरेका हुन्। अहिले २५० जना आजीवन सदस्य रहेका छन् । एक जना आजीवन सदस्यबाट दुई हजार ७०० रुपैयाँ शुल्क लिने गरिएको नेत्र ज्योति संघ जुम्लाले जनाएको छ।