काठमाडौं । पाठेघरको ट्युमर हुँदा धेरै जसो महिलाहरुलाई केही पनि शारीरिक समस्या नदेखिन पनि सक्छ । नेपाल लगायत दक्षिण पूर्वी एसिया पाठेघरको ट्युमुर महिलाहरुको एकदमै साझा समस्याका रुपमा देखा परेको छ।
महिलाहरुको पाठेघरमा हुने ट्युमर पनि फरक हुने गर्दछ। चालीस वर्ष कटिसकेका महिलाहरुको पाठेघरमा देखिने ट्युमर दुई किसिमको हुन्छ,फाइब्रोइड र एडिनोमायोसिस।
सामान्यतया, एडिनोमायोसिस नामक ट्युमर औषधीको सेवनद्धारा निको पार्न सकिन्छ। धेरै जसो बिरामीहरुमा कुनै पनि लक्षणबिना नै यसप्रकारको समस्या देखा पर्ने भएकोले वर्ष एक पटक पाठेघरको परीक्षण गराउन आवश्यक छ । धेरै जसो महिलाहरु महिनावारीको गडबडीको समस्या लिएर अस्पताल आइपुग्ने गर्छन्। यदि महिनावारी पश्चात् ७ दिनपछि पनि रगत बगिरह्यो भने चिकित्सकको परामर्शमा जानु आवश्यक हुन्छ। विशेषगरी पाठेघरको ट्युमरको मुख्य लक्षणका रुपमा महिनावारीको गडबडीलाई लिन सकिन्छ।
महिनावारीको गडबडी भन्नाले लामो समयसम्म रगत बगिरहने,अत्याधिक मात्रामा रगत बगिरहने, चोक्टा चोक्टा भएको रगत बग्ने जस्ता समस्याहरु देखिएमा पाठेघरको ट्युमर भएको शंका गर्न सकिन्छ । त्यस्तै फोहोर पानी जाने,छिनछिनमा पिसाब आएको महसुस हुने,दिसा खुलेर नहुने जस्ता लक्षणहरु देखिएको अवस्थामा पाठेघरको ट्युमर भएको शंका गर्न सकिन्छ।
कस्ता ट्युमर क्यान्सरजन्य हुन्छ ?
सबै ट्युमर क्यान्सर हुँदैन । तर कतिपय ट्युमर क्यान्सरजन्य हुँदैन भन्न पनि मिल्दैन । विशेषगरी, किशोरकिशोरीमा देखिने ट्यूमरमध्य केही क्यासरजन्य ट्युमर हुने सक्ने भएकोले यसबारे विशेष सजगता अपनाउन जरुरी छ । यदी ट्यूमरको साइज आठ सेन्टिमिटर भन्दा सानो छ भने त्यस्ता ट्युमरलाई औषधी द्धारापनि निको पार्न सकिने भएकोले त्यस्ता ट्यूमरको शल्यक्रिया गरिहाल्न पर्दैन।
कुनै-कुनै ट्युमर छ सेन्टीमिटर भन्दा सानो छ भने पनि त्यसको शल्यक्रिया गर्नुपर्दछ ।कसैकसैलाई महिनावारी सुक्ने बेलामा पनि पाठेघर तथा डिम्बासयमा ट्युमर देखिन सक्छ । यस्ता ट्यूमर क्यान्सर हुनसक्छ भनेर विभिन्न अध्ययन अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको अवस्था छ ।
त्यसैले पनि चिकित्सकको परामर्शमा यस्ता ट्यूमर क्यान्सर हो कि हैन भनेर समयमा नै छुट्याउनु पर्दछ । यदी कुनै ट्यूमर क्यान्सर हैन तर पनि बढ्दै गयो भने पनि त्यस्ता ट्युमरलाई झिक्न आवश्यक छ । सानै उमेरमा विवाह,चाँडै महिनावारी हुने,धेरै जनासँग यौन सम्पर्क हुनुले क्यान्सर हुन सक्छ।
पाठेघरको ट्युमरबाट कसरी बच्ने ?
– सरसफाई तथा खानेकुरामा ध्यान दिने ।
– पाठेघरको मुखको पानी जाँच्ने अर्थात् प्याब्स मेड टेस्ट समय समयमा गराइरहने ।
– शरिरिक सम्बन्ध भएको ३ वर्षपछि प्याब्स मेड टेस्ट गर्ने ।
– समय समयमा अल्ट्रासाउण्ड गर्ने तथा स्वास्थ्य चेकअप गर्दै गर्ने ।
– विवाहित महिलाले सुइ लगायो, पिल्स खायो भने पनि त्यसले ओभरी र युट्राइङ ट्युमरबाट बचाउँछ । अण्डा बन्न दिँदैन र त्यसले इन्फेक्सन हुन दिँदैन ।