मौषम परिर्वतनसँगै रुघाखोकी, ज्वरो हुनु सामान्य हो ।तर, यी समस्या लामो समयसम्म रहनु भनेको असामान्य स्थिति हुनसक्छ । दम, हृदयका रोगीमा लामो समयसम्म रुघाखोकी र ज्वरो रहिरहे मुटुको धमनी खुम्चिने सम्भावना हुन्छ । केही योगासन वा प्राणयामको सहयोगले सामान्य रुघाखोकी, ज्वरो ठीक पार्न सकिन्छ ।
जानौं ती योगासन र प्राणायामको बारेमा :
मृत संजीवनी मुद्रा
मुटुरोगीमा यस आसनले हृदयघात हुने सम्भावनालाई कम गरेर शक्ति प्रदान गर्छ । यो आसन विशेषगरी रुघाखोकी लागेको समय नशा वा धमनीमा हुने दबाबलाई कम गर्न सहयोगी हुन्छ । साथै यसले रक्तचापलाई सामान्य राख्छ ।
विधि: शान्त स्थानमा पलेटी मारेर बस्ने । चोर औँलालाई बुढी औँलाको तल्लो भागमा लगाउने । त्यसपछि माँझी औँला र साईंली औंलालाई बुढी औंलाले छुने । कान्छी औँलालाई सिधा राखीराख्ने ।
ध्यान दिने: यस मुद्रालाई दिनमा १० देखि १५ मिनेटको लागि मात्र गर्ने
गौं मुखासन
यो योगासन गर्दा शरीरको मुद्रा गाईको मुख जस्तो बन्ने भएकाले गौ मुखासन भनिएको हो ।
विधि : सुखासन मुद्रामा बसेर देव्रे खुट्टाको कुरकुच्चालाई दाहिने तर्फको हिप नजिक राख्ने । दाहिने खुट्टालाई देव्रे खुट्टामाथि राखेर बस्नुस । यसरी बस्दा दुवै घुडा एक अर्कामाथि आओस् । त्यसपछि दाहिने हातलाई टाउको छेउबाट पिठ्यूतर्फ लिएर जाने । साथै देव्रे हातलाई कुहिनाले मोड्दै पेट तर्फबाट घुमाउँदै पिठ्यूतर्फ लिएर जाने । पछाडीबाट दुबै हातलाई मिलाउने समय एउटा सिधा रेखा बनाउने र सामान्य श्वास लिने । यो अवस्थामा केही समय रोकेर सुरुकै अवस्थामा फर्कने ।
ध्यान दिने: काँध, पिठ्यू, घाँटी, हिप वा घुडामा कुनै प्रकारको समस्यामा छ भन यो आसान गर्नु हुँदैन ।
सर्पासन : यो आसान स्वस्थ हृदय भएकाहरूका लागि राम्रो मानिन्छ । योगको बेला शरीरको मुद्रा सर्प जस्तै हुने हुँदा यसलाई सर्पासन भनिएको हो ।
विधि: भुईंमा घोप्टो परेर सुतेर दुबै खुट्टालाई सिधा पारेर राख्ने । त्यसपछि दुबै कुहिनालाई मोड्दै हत्केलाले छातीको छेउमा लगेर भुईमा टेक्ने । लामो सास फेर्दै ढाड भन्दा माथिको भाग उचाल्ने । घाँटी र ढाडको तल्लो भागलाई तन्काएर राख्ने । ढाड भन्दा माथिको भाग जबसम्म माथि उठ्दैन तबसम्म यो आसन गरिरहने ।
सावधानी: हर्निया रोगी, गर्भवती महिला, पेटमा घाउ भएका र ढाड दुख्ने समस्या भएकाहरुले यो आसान गर्नु हुँदैन ।