काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा १३ हजार बालबालिको मुटु परीक्षणका क्रममा १४६ जनामा जन्मजात मुटु रोगको समस्या देखिएको छ । जसमा ९ जनामा बाथ मुटु रोगको समस्या देखिएको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले गरेको उक्त अध्ययनमा ३८२० सरकारी तथा ९१८० निजी बिद्यालयलाई समावेश गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा . चन्द्रमणि अधिकारीले अनुसार जन्मजात मुटु रोगी बालबालिकाहरुको संख्या ग्रामीण दुर्गम भागमा अझै बढी हुनसक्ने बताए ।
सोमबार अस्पतालले बूढानिलकण्ठ नगरपालिकाका १३ हजार बालबालिकाको मुटु अवस्था सम्वन्धि अध्ययनको रिपोर्ट सार्वजनिकीकरण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नेपालकै पहिलो बाल मुटुरोग विशेषज्ञ डा.उर्मिला शाक्यले दीर्घ रोग भएका आमाबाट जन्मिने बालबालिकामा जन्मजात रुपमा नै मुटु रोगको समस्या हुने बताईन् । उनले मुटुको एक्सरे,इसिजी, मुटुको भिडियो एक्सरे तथा गर्भावस्थामा भ्रुणको मुटुको भिडियो गर्नाेले बाल मुटु रोग भए नभएको पत्ता लगाउन सकिन्छ ।
बालबालिकामा मुटु रोग भएको कसरी थाहा पाउने ?
कुनै जन्मजात मुटु सम्बन्धि रोगको कुनै लक्षण वा संकेत देखिदैन । जबकी केहीमा यसको लक्षण समेत देखिने गर्छ । जुन रोगको प्रकृति छेदको स्तर तथा त्यसको गम्भीरतामा पनि भर पर्छ । सामान्यतया, नवजात शिशुमा केही गम्भीर समस्या भएमा यसले लक्षण पैदा गर्न सक्छ, जुन यस प्रकार छ :
-छाला, ओठ तथा नङ निलो हुने
-मुटुको धडकन बाहिरबाटै सुन्न सकिने
-वजन कम हुने
-मुटुमा छेद भएका शिशुलाई खाना खाँदा तथा शारीरीक गतिविधिको दौरान छिटो थकान महसुस हुने गर्छ।
-मुटु रोग भएका बालबालिकाले राम्रोसँग दूध चुस्न सक्दैन ।
-बच्चामा छिटोछिटो निमोनिया हुनु ।
-शरीरमा अक्सिजनको मात्रा एकदमै कम हुनु ।
कसरी जोगिने ?
जन्मजातै मुटु सम्बन्धि समस्या हुनबाट बच्नका लागि गर्भ धारण गर्ने योजनामा रहेका महिलाहरुले विशेष सावधानी अपनाउनु पर्छ । विशेषगरी, उनीहरुले कुनै किसिमको औषधीको सेवन गरेमा चिकित्सकसित परामर्श गर्नुपर्छ ।
मधुमेहका विरामीले गर्भ धारण गर्नु पूर्व मधुमेहलाई नियन्त्रित गर्नु पर्छ । रुवेला लगायतका भाइरल संक्रमण हुनबाट जोगिनु पर्छ । परिवारमा कसैलाई यस प्रकारको समस्या छ भने चिकित्सकसित सम्पर्क गर्नुपर्छ । गर्भावस्थामा मदिरापान तथा धुमपान गर्नु हुँदैन ।