स्वस्थ जीवनका लागि शारीरिक व्यायामको निकै ठूलो भूमिका हुन्छ । व्यायामले शरीर फिट राख्ने मात्र काम गर्दैन, यसले त विभिन्न रोगबाट बचाउनुका साथै रोगको उपचार गर्न पनि सकिन्छ । तर, यस्तो व्यायाम चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ ।
ब्याकपेनको समस्छ छ भने पनि व्यायामको सहारा लिन सकिन्छ । बडी पोस्चर नमिलेर यस्ता समस्या निम्तिन्छ । काम गराइ, सुताइ नमिलेका कारण यस्तो परिणाम आउँछ । त्यसैले यस्तो समस्यालाई व्यायामका माध्यमबाट निको पार्न सकिन्छ ।
ढाड तथा कम्मरको मांसपेशीलाई तन्काउन विभिन्न व्यायामको सहारा लिन सकिन्छ । यससम्बन्धी समस्या समाधानका लागि समेत व्यायामले निकै ठूलो भूमिका निर्वाह गर्छ ।
पछिल्लो समय हड्डी खिइने समस्या बढेर गएको छ । अव्यवस्थित जीवनशैलीले यस्तो समस्या निम्तिन्छ । प्रौढ अवस्थाका मानिसलाई पनि यस्तो समस्या देखिन्छ । व्यायामका माध्यमबाट पनि यस्तो समस्याको केही हदसम्म समाधान गर्न सकिन्छ ।
कम्मरलाई लचिलो बनाउन पनि व्यायामको सहारा लिन सकिन्छ । योग, ताइचीलगायतका व्यायामबाट कम्मर लचिलो बनाउन सकिन्छ ।
हाड र मेरुदण्ड बलियो बनाउन पनि व्यायामको सहारा लिन सकिन्छ । जसलाई पारास्पाइनल एक्सरसाइज भनिन्छ । मेरुदण्डमा समस्या सिर्जना गर्ने मांसपेशीको समस्याका लागि पनि व्यायामको सहारा लिन सकिन्छ । यस्तो समस्याका लागि क्याल्सियम र प्रशस्त मात्रामा पानीको प्रयोग गर्नुपर्छ । यसका साथै सन्तुलित भोजनमा ध्यान दिनुपर्छ ।
नसा च्यापिने समस्याबाट थुप्रै मानिस ग्रसित हुन्छन् । यस्तो समस्याले दैनिक कार्यमै अवरोध सिर्जना गर्छ । यसको पनि मुख्य कारण अव्यवस्थित जीवनशैली नै हो । यस्तो समस्या आएमा पनि चिकित्सकको सल्लाहअनुसार व्यायाम गर्न सकिन्छ । यस्ता मानिसले फरक–फरक प्रकृतिको व्यायाम गर्नुपर्छ । व्यायामको तरिका नमिल्दा झन् ठूलो समस्या निम्तिने भएकाले होसियारी भने अपनाउनुपर्छ ।