काठमाडौं । हुम्लाकी सरस्वती भूमीकाको सुरुमा घाँटीमा डन्डिफोरजस्तो सामान्य गिर्खो देखियो । एकातिर निको भइसक्दा अर्कोतिर पनि देखिन्थ्यो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा उनलाई पहिलो चरणको क्यान्सर भएको थाहा भयो ।
दैनिक जीवन धान्न पनि धौं धौं हुने उनीहरुलाई क्यान्सर जस्तो भयानक रोग पत्ता लागेपछि उनीहरुको परिवारमा रुवाबासी चल्यो । विभिन्न सहयोगी संघ संस्था तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अथक मेहनतले उनी क्यान्सर जित्न सफल भईन् । अहिले उनी सामान्य बालबालिका झै बिद्यालय जाने गर्छिन् ।
भर्खरै बाल क्यान्सरको उपचार गर्न लागेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक प्रविधिको अभावका बिच पनि कैयौं बाल क्यान्सरका रोगीहरुलाई निको पारिसकेको छ । बाल क्यान्सर ठूला मानिसमा हुने क्यान्सर भन्दा भिन्नै प्रकारको छ । बाल क्यान्सर पत्ता लगाउनका लागि स्क्रिनिङ हुँदैंन ।
बाल क्यान्सर रोग विशेषज्ञ सुचरित तुलाधरका अनुसार रगतको कमि भएर छाला सेतो देखिने, त्यतिकै रगत बग्ने, असाधारण रूपमा तौल घट्नु, खोकी निको नहुनु, आँखाको सेतो नानी सानो हुँदै गएर दृष्टि गुम्ने, शरीर सुन्निने, पेट असामान्य रूपमा फुल्ने, बिहान अत्यधिक टाउको दुख्ने र बान्ता हुने, हड्डी दुख्ने चोट नलागी सुनिने, चाँडो गल्ने तथा चक्कर लाग्ने शरीरलाई सन्तुलनमा राख्न नसक्ने लक्षण देखिए आफ्ना बालबालिकालाई तत्काल अस्पताल लैजानुपर्छ ।
बालबालिकामा हुने क्यान्सर पनि विभिन्न किसिमका हुन्छन् । ती मध्ये धेरै देखिएको रक्त क्यान्सर हो ।
बालबालिकामा हुने क्यान्सर जति चाँडो पत्ता लाग्यो, त्यत्ति नै प्रभावकारी रूपमा निको पार्न सकिने डाक्टरहरु बताउँछन् । स्वास्थ्य, शिक्षा लगायतका विषय मौलिक अधिकारमा पर्छन् ।
त्यसकारण सरकारले बालबालिकामा देखिने क्यानसरको उपचारमा पनि सहयोग बढाउनुपर्ने अभिभावक र अस्पतालको माग छ ।