काठमाडौं । हातीपाइले रोगको जोखिममा रहेका नेपालभरका १५ जिल्लामा राष्ट्रिय हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान संचालन हुने भएको छ ।
ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडि)का अनुसार फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोतरी सर्लाही,रौतहट,बारा,रसुवा,लमजुङ,पर्वत,बागलुङ,कपिलबस्तु, दाङ,बाँके र कैलालीमा औषधि खुवाइदैछ ।
नेपालका ६४ जिल्लामा सञ्चालित यस अभियान ४८ जिल्लामा बन्द भइसकेको अवस्था छ । बाँकी जिल्लाहरुमा भने औषधि खान योग्य सबैले नखाईदिएको हुनाले र हरे दुई दुई वर्षमा रगत जाँच गरि हेर्दा समेत यी जिल्लाका रोग अपेक्षाकृत रुपमा नघटेकाले पटक पटक औषधी खुवाउन लागिएको ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमलाल दास बताउँछन् ।
नेपालमा हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि प्रत्येक वर्ष १ अर्ब लगानी हुँदै आएको महाशाखाले जनाएको छ। यसवर्ष भने स्थानीय तहका लागि २० करोड २०, प्रदेश-जिल्लामा १ करोड ६० लाख, संघमा १२ लाख र औषधिका लागि ८५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको उनले बताए।
हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ।
संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ।शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्। लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन।
हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ।
के हो हातीपाइले रोग ?
हात्तीपाइले मानिसलाई शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांगता बनाउने एक प्रकारको नसर्ने रोग हो । यो रोग मसिनो धागो आकारको जुकाजस्तै फाइलेरिया नामक परजीवीको संक्रमणबाट हुने गर्छ ।
क्युलेक्स वा एनोफिलिस नामक पोथी लामखुट्टेले टोक्दा फाइलेरिया परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ जसबाट हात्तीपाइले रोग लाग्ने गर्छ । संक्रमित भएको केही वर्षपछि मात्र मानिसमा यसका लक्षण देखिन्छन् ।
औषधि कसले नखाने ?
दुई वर्ष उमेर नपुगेका बच्चा ।
गर्भवती तथा सात दिन नपुगेका सुत्केरी।
सिकिस्त बिरामी भएका तथा कडा रोग, जस्तोः क्यान्सरपीडित।
मुटुरोगी, कलेजो तथा फोक्सोसँग सम्बन्धित रोग लागेका व्यक्ति, छारेरोगी तथा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकाले यो औषधि खानुहुँदैन ।
औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा
खाली पेटमा हात्तीपाइलेको औषधि सेवन गर्नुहुँदैन । शरीरमा हात्तीपाइलेको परजीवी भएका व्यक्तिमा औषधि सेवनपछि पनि सामान्य खालको टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन्छ । यी लक्षण देखिएमा औषधिले प्रभावकारी काम गरेको बुझ्नुपर्छ ।