काठमाडौं । हाल युवाहरुमा माइग्रेनको समस्या बढिरहेको छ । हतारको जिन्दगी, ढिला सुत्ने बानी, बिहान ढिला उठ्ने बानी, अव्यवस्थित खानाको समय एवं बढी तनाव लिएमा माइग्रेन युवाहरूमा बढी देखिन थालेको हो । सावधान हुन सकिएन भने यो जीवनमा खतरा बन्न सक्छ । यदि समयमा नै विज्ञ तथा चिकित्सकसँग सल्लाह लिन सकेमा यसलाई सामान्यरूपमा नै नियन्त्रण गर्न सकिन्छ । तर, यसबाट ठीक हुन केही समय लाग्न सक्छ ।
माइग्रेन रक्त वाहिकाहरूबाट रगत नर्भहरूमा फैलनु र यसबाट निस्कने केही केमिकलका कारण हुन्छ । माइग्रेनको चार वटा अवस्था हुन्छ ती प्रोडाम, आरा, हेडेक र पोस्ड्रोम हुन् । खास कुरा त के छ भने अहिले युवाहरू माइगे्रनबाट बढी प्रभावित भएको पाइन्छ । अहिले औषधिले माइग्रेन रोगबाट पूर्ण निको हुन सकिन्छ । यसको अलग अलग अवस्थाको आधारमा यसबाट पूर्ण निको हुन पनि अलग अलग समय नै लाग्ने दावी चिकित्सकहरूको रहेको छ ।
माइग्रेन भएको व्यक्तिले खान नहुने चिज:
दहीबाट बनेका परिकारहरू खान हुँदैन । जस्तै चिज र पनिर खाँदा टाउको दुख्ने हुन्छ । रक्सीको सेवन गर्न हुँदैन, विशेषगरी बियर र रेड वाइन सेवन गर्न नहुने विज्ञहरूले बताएका छन् ।
चकलेटले पनि माइग्रेनमा नकारात्मक असर गर्छ। विशेषगरी कालो चकलेटले टाउको दुख्ने गर्दछ। गुन्द्रुक वा खाँदेको अचार खाँदा पनि टाउको दुख्न सक्ने विज्ञहरूको भनाई रहेको छ।
त्यस्तै अजिनामोटो, कफी लगायतका खानेकुराले पनि टाउको दुखाउन सक्ने भएकाले यस्ता खानेकुरा नखान विज्ञहरूको सल्लाह रहेको छ ।यसैगरी अण्डा, गोलभेडा, प्याज, गहुँको पिठोबाट बनेका परिकार
जस्ता खानेकुराले पनि माइग्रेनमा असर गर्ने विज्ञहरूले बताएका छन् । तर व्यक्तिपिच्छे फरक हुन सक्ने भएकाले कुन खानेकुराले कस्तो असर गरिरहेको छ त्यसलाई ख्याल गरेमा माइग्रेन
कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ । यसबाहेक तनाव नलिने, मौसम परिवर्तन हुँदा ख्याल गर्ने, चिकित्सकको सिफारिसमा औषधी सेवन गर्ने जस्ता कार्यले माइग्रेनलाई कम गर्न सकिन्छ ।