पछिल्लो समय विश्वव्यापी रूपमा क्यान्सरको प्रकोपले द्रुत गति लिएको छ। यसले व्यक्ति, परिवार र समाजमा अत्यन्त ठूलो भौतिक, मानसिक एवं आर्थिक दबाबको सिर्जना गरेको छ । विकसित देशका स्वास्थ्य सेवामा क्यान्सर स्क्रिनिङ र उपचार सेवा गुणस्तरीय भएका कारण क्यान्सरका बिरामीको आयु लम्बिने र जीवनयापनसमेत सहज हुन थालेको छ । तर, न्यून तथा अल्पविकसित देशहरूमा भने गुणस्तरीय स्वास्थ्य उपचार सेवाको अभावका कारण क्यान्सरको उपचारमा भयावह स्थिति सिर्जना हुने देखिएको छ ।
नेपालमा पछिल्लो समय क्यान्सर रोगको अवस्था, उपचार प्रविधी,तथा क्यान्सर रोगको निदान तथा उपचारमा निजी अस्पतालले खेलिरहेको भूमिकाका बारेमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठसँग महिला स्वास्थ्यका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
क्यान्सर जस्तो भयानक रोग लागेपछि निको हुँदैन भन्ने आम धारणा रहेको छ , के यो साँचो हो ?
क्यान्सर एक प्रकारको दीर्घ रोग हो, यसको सही समयमा निदान हुन सक्यो भने पूर्णरुपमा निको बनाउन सकिन्छ । यसको निदानमा ढिलो भयो भने यसलाई निको बनाउन सकिदैन । नेपालको सन्दर्भमा तेस्रो तथा चौथो चरणमा मात्रै बिरामीहरु अस्पताल आइपुग्ने भएकोले धेरै मानिसहरुको मृत्युको कारण क्यान्सर बनेको छ ।
क्यान्सरको निदान सही समयमा गर्नका लागि यस रोग प्रति सचेत हुनु आवश्यक मानिन्छ । त्यसका लागि क्यान्सर कस्ता मानिसहरुलाई हुन्छ र यस रोगको लक्षणहरु के के हुन् भन्नेबारे जानकारी हुनु आवश्यक छ ।
केही क्यान्सरहरु जस्तै पाठेघरको मुखको क्यान्सर , प्रोस्टेट क्यान्सर,स्तन क्यान्सर, ठूलो आन्द्राको क्यान्सर लगायतलाई पहिले नै पहिचान गरी उपचार गर्न सकिन्छ । सूर्तीजन्य पदर्थको सेवन गर्ने व्यक्तिहरुमा फोक्सो तथा नाक, कान घाँटीको क्यान्सर बढी मात्रामा भएको पाइन्छ ।
नेपालमा बढी मात्रामा देखिएको क्यान्सर कुन-कुन हो ?
नेपालमा बढी मात्रामा देखिएको क्यान्सरमा फोक्सोको क्यान्सर परेपनि महिलाहरुको संख्यालाई आधार मान्ने हो भने स्तन क्यान्सर पहिलोमा पर्छ भने पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा पर्छ । त्यस्तै नाक, कान, घाँटी तथा पेटको आमाशयको क्यान्सरका बिरामीहरु पनि नेपालका रहेका छन् ।
कुन-कुन क्यान्सरलाई उपचारपछि पूर्णरुपमा निको पार्न सकिन्छ ?
जुनसुकै क्यान्सर पनि पहिलो र दोस्रो चरणमा पत्ता लगाएर उपचार गर्न सकेको खण्डमा निको हुने सम्भावना बढी हुन्छ ।
बच्चा तथा वयस्कमा हुने धेरै क्यान्सरहरु भने दोस्रो तथा तेस्रो चरणमा पत्ता लगाएमा पनि निको पार्न सकिन्छ । बालबालिकामा हुने क्यान्सरलाई ९० प्रतिशत सम्म निको पार्न सकिन्छ । त्यसैले सबै प्रकारको क्यान्सर एकै खालको हुँदैन । क्यान्सर हुनेबितिकै जीवन नै सकियो भन्ने सोचाई राख्नु गलत छ।
नेपालमा अस्पतालहरुले गर्ने क्यान्सर उपचार कतिको भरपर्दो छ, क्यान्सर उपचारका लागि विदेश धाउनुपर्ने अवस्था छ कि छैन ?
करिब ९० प्रतिशत भन्दा बढी क्यान्सर रोगीहरु उपचारका लागि विदेश धाउनुपर्ने अवस्था छैन । एकदमै नगन्य मात्रामा मात्रै बिरामीहरुलाई क्यान्सर उपचारका लागि विदेश रेफर गर्ने गरिन्छ । एक चिकित्सक तथा नर्सले मात्रै सम्भव छैन ।
क्यान्सरको उपचारका लागि ठूलो टिम चाहिन्छ,जुन नेपाल क्यान्सर अस्पतालमा रहेको छ । नेपाल क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि विभिन्न अत्याधुनिक प्रविधि तथा उपकरणहरुको प्रयोग गरिन्छ।
विदेशका अस्पतालहरुमा पाइने क्यान्सर उपचारको सेवा नेपालमा नै प्रदान गर्न सक्नुपर्छ भन्ने लक्ष्यका साथ नेपाल क्यान्सर अस्पतालले क्यान्सर बिरामीहरुको उपचार गर्दै आइरहेको छ । नेपाली क्यान्सर बिरामीहरुको उपचार नेपालमा नै भन्ने नाराका साथ हामीले काम गरिरहेका छौं ।
पछिल्लो समय अस्पतालका गतिविधीहरु कसरी अगाडि बढिरहेका छन् ?
विगतका तुलनामा देशभरी नै क्यान्सर रोगीहरुको संख्या एकदमै बढ्दै गएका कारण नेपाल क्यान्सर अस्पतालमा आउने क्यान्सर बिरामीहरुको संख्या पनि बढि नै रहेको छ । बिरामीको चाप बढ्दै जाँदा हामीले अत्याधुनिक प्रविधीद्वारा उपचार गरिरहेका छौं ।
बढ्दो बिरामीको चापलाई थेग्नका लागि हामीले बेड संख्या बढाउने योजना पनि बनाइरहेका छौं । शल्यक्रियाका लागि रोबोटिक प्रविधि ल्याउने,ल्याबका सेवाहरुलाई थप विस्तार गर्ने,एकेडेमिक कार्यक्रमहरु सञ्चालन गर्ने जस्ता योजना अस्पतालले बनाइरहेको छ ।
नेपाल क्यान्सर अस्पतालमा निम्न वर्गीय मानिसहरुले उपचार पाउन सक्ने अवस्था छ कि छैन?
क्यान्सर उपचारमा प्रयोग हुने उपकरण तथा जनशक्ति पनि महँगो भएका कारण यसको उपचार महँगो भएको हो ।
सरकारले दीर्घ रोगीहरुलाई दिदैं आएको सहुलियत रकमलाई हटाएर निजी अस्पताललाई उपचारको जिम्मेवारी दिने हो भने संसार भरमा नै सस्तो क्यान्सरको उपचार भएको मुलुकका रुपमा नेपाललाई चिन्न सकिन्छ ।
नेपाल क्यान्सर अस्पतालमा उपचारका लागि आउने ८० प्रतिशत बिरामीहरु मध्यम आर्थिक अवस्थाका छन् । यहाँ उपचारका लागि आउने ५देखी १० प्रतिशत बिरामीहरु निम्न वर्गका रहेका छन् । उनीहरुलाई हामीले हाम्रो सामाजिक उत्तरदायित्व अनुसार उपचार गराउने गरेका छौं ।
नेपालमा क्यान्सर उपचारका लागि सरकारले गर्ने सहयोग एकदमै न्यून रहेको छ । साथै बिरामीले उक्त पैसा पाउनका लागि गर्ने प्रक्रिया पनि एकदमै अवैज्ञानिक रहेको छ । वैज्ञानिक रुपमा त्यसको प्रयोग हुन नसकेका कारण पनि सरकारले सही प्रतिफल पाउन सकेको छैन ।
स्वास्थ्य बिमाका कार्यक्रम मार्फत् क्यान्सर उपचारका लागि ५ देखी १० लाखसम्म उपलब्ध गराउन सकेको खण्डमा क्यान्सर रोगीहरुले उपचारका लागि कसैको पनि मुख ताक्नुपर्ने अवस्था रहने छैन ।
एक क्यान्सर रोगीले पूर्ण उपचारका लागि कति रकम खर्च गर्नुपर्ने हुन्छ ?
बालबालिकामा हुने विभिन्न प्रकारका क्यान्सर तथा निको हुने प्रकृतिका क्यान्सरको उपचारका लागि ५ देखी १० लाख रुपैंयासम्म खर्च गर्नुपर्ने हुन्छ ।
यदि क्यान्सर सुरुवाती चरणमा पत्ता लागेन तथा त्यसलाई जीवनभर उपचार गराउनुपर्ने अवस्था आएमा भने त्यो महँगो हुन्छ ।