पाठेघर झर्नु भनेको के हो ?
काठमाडौं । पाठेघर झर्ने समस्या भएका महिलाहरुको संख्या दिनप्रति दिन बढ्दो अवस्थामा रहेको छ । महिलाहरु पाठेघर झर्ने समस्या लिएर कहिल्यै पनि आउनु हुँदैन अन्य स्वास्थ्य समस्या भएर उपचारका क्रममा आउँदा पाठेघर झर्ने समस्याको पहिचान हुन्छ ।
यसबारेमा महिलाहरुलाई सोध्दा उनीहरुलाई त्यसबारे थाहा नै नभएको बताउँछन् । पाठेघर खस्ने समस्या भएको धेरै वर्ष भइसक्दा पनि महिलाहरुले त्यस्तो समस्या लुकाएर बसेका हुन्छन् ।
पाठेघर योनीमार्गमा आउनुलाई पाठेघर खसेको भनिन्छ। पाठेघर हाम्रो पेल्भिक क्याभिटीभित्र मूत्रथैलीको पछाडि, मलाशयको अगाडि हुन्छ। यसलाई मांसपेसी र लिगामेन्टले पेल्भिक क्याभिटीमा अड्याएर राख्न मद्दत गर्छ। जब यो मांसपेशी र लिगामेन्ट्सको लचकतामा कमी हुन्छ, कमजोर हुन्छ वा कुनै समस्या आउँछ, तब पाठेघर आफ्नो ठाउँ छोडी तलतिर झोलिन्छ। यसरी झोलिनुलाई नै पाठेघर खस्नु भनिन्छ।
महिलाहरुले आफू स्वस्थ भएका परिवार स्वस्थ हुन्छ भने परिवार स्वस्थ भएमा समुदाय तथा समुदाय स्वस्थ भएमा देश नै स्वस्थ हुन्छ भन्ने कुरालाई ध्यान राख्नु् आवश्यक छ । उपचारका लागि जति छिटो गयो त्यति नै सहज हुन्छ।
यति धेरै जचेतना तथा सरकारी प्रयासले महिलाहरुमा हुने यो समस्या घट्दो क्रममा हुनु पर्ने हो । सहरी क्षेत्रमा घट्दो क्रममा रहेपनि ग्रामीण भेगका महिलाहरुमा भने यो समस्या बढ्दो क्रममा नै रहेको छ । वास्तविक तथ्यांक पत्ता लगाउनका लागि हामीले ग्रामीण क्षेत्रमा सर्वेक्षण गर्नुपर्ने हुन्छ। सामान्यतया महिनावारी सुकिसकेका महिलाहरुमा यस्तो समस्या बढी मात्रामा देखिन्छ । बाँझोपनाको समस्या बढ्दै जाँदा पनि पाठेघर झर्ने समस्या बढेको पाइन्छ ।
यो समस्या कसलाई हुन्छ?
- सामान्यतः वृद्ध महिला, महिनावारी बन्द भएका ४०-४५ वर्ष माथिकालाई।
- धेरै बच्चा पाइसकेका महिला। अचेल बच्चा नजन्माएकाहरूमा पनि यो समस्या देखिन थालेको छ।
- सुत्केरी अवस्थामा बलपूर्वक र भारी काम गर्नेमा। सुत्केरी अवस्थामा पाठेघर फुलेको हुन्छ। फुलेको पाठेघर ठीक ठाउँमा आउन करिब दुई महिना लाग्छ। पाठेघर ठीक ठाउँमा नआइकनै भारी काम गरेमा पाठेघर खस्ने समस्या हुन सक्छ।
पाठेघर झर्ने समस्याबाट कसरी बँच्ने ?
अहिले पनि नेपालभरको तथ्यांकलाई आधार मान्दा नेपालमा ४० देखी ५० प्रतिशत महिलामात्रै अस्पतालमा डेलिभरी हुन्छन् ।
कतिपय महिलाहरु त एक पटक पनि गर्भ जाँच नगरीकन नै घरमा नै डेलिभरी हुने गर्छन् । नेपाल सरकारले आमा सुरक्षाका विभिन्न प्रकारका कार्यक्रमहरु ल्याए पनि अस्पताल नै डेलिभरी हुने महिलाहरुको संख्या १०० प्रतिशत छैन ।
-गर्भ बसेपछि स्वास्थ्य संस्थामा गएर परीक्षण गरी स्वास्थ्यकर्मीको परामर्श अनुसार गर्नुपर्ने हुन्छ ।
-डेलिभरीका क्रममा लामो व्यथा खप्नुहुँदैंन ।
-५ वर्षको जन्मान्तरमा मात्रै बच्चा जन्माउने ।
-सुत्केरी अवस्थामा प्रशस्त मात्रामा आराम गर्ने ।