आज भोली युवा अवस्थामा नै धेरैलाई हृदयघात भएको सुन्ने गरिन्छ । हिडँडुल गर्दा ग्राहो महसुस हुने र कहिलेकाही बस्दा पनि ग्राहो हुने भएमा मुटु रोग लागेको होकी होइन भनी परीक्षण गराउदा राम्रो हुन्छ । आधुनिक जीवनशैली अपनाउने नाममा यस्ता रोगहरु भित्रिएका छन् ।
मुटु रोगको मुख्य लक्षण भनेकै सास फेर्न ग्राहो हुनु हो । मुटु ढुकढुक हुनु,गोडा सुन्निनु जस्ता लक्षणहरुले मुटु रोग लागेको शंका गर्न सकिन्छ । यद्यपि परीक्षण पश्चात मात्रै रोगको पहिचान गर्न सकिन्छ । जस्तै उच्च रक्तचाप भएका व्यक्तिहरुमा कुनै पनि लक्षण नहुँदा पनि मुटु रोग लागेको हुन्छ । रक्तचाप परीक्षणका क्रममा उनीहरुको रोग पत्ता लगाउन सकिन्छ । लक्षणको आधारमा भन्दा पनि मुटु रोगको पहिचानको लागि परीक्षण नै आवश्यक छ ।
सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटु रोग लागेका ३० देखी ४० प्रतिशत बिरामीहरु मात्रै समयमा अस्पताल आइपुग्ने गरेका छन् । पछिल्लो समय सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तथ्यांकलाई हेर्दा नेपालमा हृदयघात मुटु रोगीहरुको संख्या एकदमै बढेको छ । यहाँ मुटु रोगको उपचार हुनेमा करिब ५० प्रतिशत बिरामीहरु हृदयघात मुटु रोगका छन् । मुटु रोगको खासै कारक तत्व भने छैन । यद्यपि सूर्तीजन्य पदार्थको सेवन गर्ने, तनावपूर्ण जीवनशैली बिताउने,व्यायामको कमी,मोटोपना, मधुमेह, उच्च रक्तचाप भएका मानिसहरुमा मुटु रोग लाग्ने सम्भावना बढी हुन्छ ।
चुरोट खाने मानिसहरुमा चुरोट नखाने मानिसहरुमा भन्दा हृदयघात हुने सम्भावना कैयौं बढी हुन्छ । नेपालमा अहिले ४५ वर्ष भन्दा कम उमेरमा नै हृदयघात भएर आउने बिरामीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । अहिले २० -२५ वर्षकै उमेरमा हृदयघात हुने बिरामीहरुको संख्या बढिरहेको छ । करिब ७० प्रतिशत चुरोट तथा सूर्तीजन्य पदार्थको सेवन गर्नेहरुमा मुटु रोग लागेका तथ्यांक छ ।
त्यस्तै मानिसको जीवनशैलीमा आएको परिवर्तन, जंङफुडको अत्याधिक मात्रामा प्रयोग,तनावपूर्ण जीवनशैली पनि यसको कारक हो । जीवनशैलीमा आएको परिवर्तनका कारणले नै हामीले युवा अवस्थामा नै यस्ता रोगहरुलाई भित्र्याएका छौं ।
हृदयघात मुटु रोग विभिन्न प्रकारका हुन्छन् । जसलाई विभिन्न भागमा विभाजन गर्न सकिन्छ ।
- पहिलो क्रोनिक स्टोरेन्जना,जसमा मुटुको नशा साधुँरो भएको हुन्छ, जसकारण हिँडडुल गर्दा छाती भारी हुन्छ भने आराम गर्दा बिरामी ठिक हुन्छ ।
- अर्को हृदयघात भई मुटुको नशा तत्कालै बन्द भएको अवस्था हुन्छ । यस्ता बिरामीहरुलाई जतिसक्दो छिटो अस्पताल ल्याउन सकेको अवस्थामा त्यस्ता बिरामीलाई बचाउन सक्ने सम्भावना पनि त्यतिकै बढी हुन्छ । यस्ता बिरामीहरुको बन्द भएको नशा तुरुन्तै खोल्ने काम गरिन्छ । जसलाई प्राइमरी एन्जियोप्लास्टिक भनिन्छ । यस्ता बिरामीहरुलाई १२ घन्टाभित्र अस्पताल ल्याउन सकेको खण्डमा बचाउन सकिन्छ। नेपालका सबै अस्पतालहरुमा यसको उपचार नहुन पनि सक्छ ।
मुटु रोगको उपचार विधी
मुटु रोगको प्रकृति अनुसार कस्तो उपचार विधी अपनाउने भन्ने मुटु रोग विशेषज्ञमा निर्भर रहन्छ । क्रोनिक स्टोरेन्जनका बिरामीहरुको मुटुको नशा खोल्नुपर्ने हुन्छ । जसमा दुईवटा विधीबाट मुटुको नशा खोल्न सकिन्छ ।
एन्जियोप्लास्टिक तथा बाइपास सर्जरी दुईवटा विधिबाट मुटुको नशा खोल्न सकिन्छ । कुन उपचार विधिको प्रयोग गर्ने भन्नेबारे मुटु रोग चिकित्सकले पहिचान गर्छन् ।
नेपाल सरकारको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १२ घन्टासम्म हृदयघात भएर अस्पताल आइपुग्ने बिरामीको सफल उपचार गरिन्छ । यो उपचार विधि विश्वमे प्रभावकारी बनेको उपचार विधी हो, जुन सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा २४ सै घन्टा पाउन सकिन्छ । बिरामीलाई बेहोस नबनाइकन गोडा वा हातको नशाबाट सानो पाइप छिराएर यसको उपचार गरिन्छ ।
मुटु रोगबाट कसरी जोगिने ?
धुम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने , नियमित शारिरीक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने,
मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, मोटोपन बढ्न नदिने, नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।
मुटुका केही रोगहरू जस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कारणले हुन सक्ने हुँदा बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिप्पिँदै गए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महंगो हुन्छ ।
खानपानमा सन्तुलन मिलाउन सके, नियमित अभ्यास गरे र समय समयमा स्वास्थ्य जाँच गराए मुटु रोग लाग्नबाट बच्न सकिन्छ ।