काठमाडौं । फागुन २५ र २६ गते नेपालमा पहिलो पटक दुई दिने महिला स्वास्थ्य सम्मेलन हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको आयोजनमा काठमाडौंको होटल याक एण्ड यतिमा दुई दिने महिला स्वास्थ्य सम्मेलन हुन लागेको हो ।
परिवार कल्याण महाशाखाले आज पत्रकार सम्मेलन गरी महिला स्वास्थ्यमो बहुआयामिक विषयवस्तुमा केन्द्रित हुने उक्त सम्मेलनमा विभिन्न छलफल तथा प्रस्तुतीहरु हुने बताएको हो । सम्मेलनमा कूल ८५ कार्यपत्रहरु पेश हुने तथा ३०० प्रतिनिधीहरुको सहभागिता हुने जनाइएको छ । महिला स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था,प्रतिष्ठान, शिक्षण संस्था लगायत विज्ञ व्यक्तित्वहरुको सहभागिता सम्मेलन रहनेछ ।
महिला स्वास्थ्यका विभिन्न आयामहरुका बारे हांसिल सफलता,चुनौती एवम् अवसर, अन्वेषण, विकसित घटनाक्रम र तथ्यांकहरुको लेखाजोखा गर्ने मुख्य लक्ष्यका साथ सम्मेलनको आयोजना गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ। मुख्यतया निम्नलिखित ४ लक्ष्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।
महिला स्वास्थ्यका विषयमा कार्यरत अनुसन्धानकर्ता, विज्ञ, र कार्यक्रमहरुका कार्यान्वयनकर्ताहरुबाट सिर्जित तथ्यांक, तथ्य,सिकाइ र दृष्टिकोणलाई साझा गर्ने, महिला स्वास्थ्यको क्षेत्रमा भएका नविन प्रयास र सफलतालाहरुलाई प्रर्दशित गर्ने,महिला स्वास्थ्यको विषयमा नीति निर्माणकर्ता र कार्यक्रमहरुका कार्यान्वयनकर्ताहरु बीचको साझेदारी र सहकार्यलाई सबल पार्ने, प्राथमितकताको सूचीमा राख्नुपर्ने महिला स्वास्थ्यका विषयहरु बारे पहिचान गर्ने र नीति निर्माणमा योगदान दिने लक्ष्यका साथ सम्मेलनको आयोजना भएको हो ।