पेशाको हिसाबले म एक इन्जिनियर । आइटिको प्रोजेक्ट लिएर सन् २००४ मा हामी कास्कीको गाउँमा कम्युटर तालिम दिन गएका थियौँ । त्यहाँका महिलाहरुलाई प्रविधि सम्बन्धि तालिम दिने काम गरेका थियौ । माओवादी जनयुद्घको समय भएकाले विभिन्न कलेजका बिद्यार्थीहरुलाई तालिमका लागि गाउँसम्म पुग्न पनि हामीलाई भयको स्थिती थियो ।
कुनै नयाँ मान्छे गाउँमा प्रवेश गरेको थाहा पाउनासाथ सरकार र माओवादी दुवै पक्षले दुख दिने गर्थे । विभिन्न तालिम नै दिने लक्ष्यका साथ हामीले स्कूलका विद्यार्थीहरुका लागि दुई महिने तालिम आयोजना गरेका थियौँ। गाउँका महिलाहरु प्रविधिसँग जानकार हुनका लागि उत्सुक देखिन्थे । त्यतिबेलाको समयमा या्हु मेसेन्जरको प्रचलन रहेको थियो । इन्टरनेटको प्रयोग गर्न जानेमा विदेशमा रहेका श्रीमानँग कुरा गर्न सहज हुने कारणले गर्दा पनि उनिहरुमा उत्साह थियो ।
वर्षेनी हामीले विभिन्न प्रकारका कार्यक्रमहरु लिएर गाउँ जाने कार्यलाई तिव्रता दियौं । दुर्गम क्षेत्रका महिलासँगको भेटघाटलाई तीव्रता दिने क्रममा हामीले महिलाहरुले आफ्नो कुरा राख्न गोप्यता खोजेको महसुस गरेउ । त्यो महसुस सँगै हामीले महिलाहरुका लागि कुराकानी गर्ने अलग्गै ठाउँको व्यवस्थापन गरेका थियौँ।
महिला र पुरुषबीच कस्ता कुराकानी हुन्छन् भनी हामीले एउटा सर्वे पनि गरेका थियौं । सर्वेबाट हामीले कुनै पनि महिला आफ्नो श्रीमानसंग टाढा हुनुपर्दाको अप्ठ्यारो ,पारिवारिक योजना तथा महिला स्वास्थ्यसँग सम्बन्धित कुराहरु बढी गर्ने गरेको पत्ता लगायौं । महिला सहकर्मीको सहयोगले उनीहरुका समस्या खोतल्दा महिला स्वास्थ्यका विषयमा ग्रामीण महिलाहरुमा कुनै पनि सचेतना नभएको पाइयो । त्यतिबेला घरदेखि टाढा गोठमा डेलिभरी गराइने भएकाले मातृ शिशु मृत्युदर उच्च थियो । श्रीमान् विदेश मा भएको अवस्थामा समस्या बाँड्ने मान्छे नहुँदा महिलाहरुलाई कस्ता समस्या आइपर्छन् र त्यसलाई कसरी हटाउने भन्ने अध्ययनमा हामी लाग्यौं ।
महिला स्वास्थ्यको क्षेत्रबारे पुरुषलाई पनि पढाउन पर्छ भन्ने निश्कर्ष निकालेपछि हामीले त्यसलाई योजना बनाएर अगाडि बढायौं । गर्भवती भएदेखि डेलिभरी नभएसम्मका अवस्थामा महिलाले भोग्नुपरेका समस्याका बारेमा पुरुषलाई पढाउनु अत्यावश्यक थियो । सन् २००६ देखि २०११ सम्म देशका विभिन्न ठाउँको अवलोकनले महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने आमाको माया भन्ने एप्सको जन्म हुनपुग्यो ।
लामो अनुभवले कन्टेन्ट जम्मा गरेपछि सन् २०११ को अप्रिलमा हामीले आमाको माया भन्ने एप्सलाई संस्थागत रुप दिएका हौं । म सहित तीनजना मिलेर यस एप्सको निर्माण भयो । एप्स प्रक्षेपण गर्ने बितिकै हामीले ३० हजार अस्ट्रेलियन डलरको आर्थिक सहायता पायौं । उक्त बजेटबाट पहिलो चरणमा एन्ड्रोइड मोबाइल किनेर महिला स्वास्थ्य स्वयंसेविकालाई वितरण गर्ने काम भयो । त्यतिबेला अहिले जस्तो महिलाहरुको हात हातमा मोबाइल थिएन । स्वास्थ्य स्वयंसेविकाले कन्टेन्ट जम्मा गरेर महिलाहरुलाई घर घरमा लगेर देखाउने गर्थे । धेरैले यस प्रकारको कार्यक्रम रुचाएपछि हाम्रो संस्थालाई प्रोजेक्टहरु लगातार आउन थाले ।
प्रोजेक्टहरु आउन थालेपछि हामीले हाम्रो कामले महिला स्वास्थ्यको क्षेत्रमा पारेको प्रभावबारे रिसर्च गर्ने आवश्यक ठान्यौं। गर्भवती महिला दर्ता प्रक्रियाले कुन कुन गर्भवतीले हाम्रो कन्टेन्ट हेरे भन्ने थाहा पाइने भएकाले दर्ता प्रक्रियालाई हामीले अगाडि बढायौं । पहिलोपटक युनिसेफको सहयोग हामीले मुगु जिल्लामा यस प्रोजेक्टको लन्च गरेका थियौं । प्रोजेक्टले मुगु जिल्लामा राम्रै प्रभाव पनि पारेको थियो । सन् २०१८ मा हामीले संस्थागत रुप दिनका लागि आमाको माया प्राइभेट लिमिटेड कम्पनीको दर्ता गरेका हौं । हाल ११ हजार भन्दा बढी आमाहरु हामीसँग जोडिनु भएको छ ।
आमाको माया एप्स र कोरोना महामारी
सन् २०२० मा कोरोना महामारी आएसँगै आमाको माया एप्सबारे धेरैले जानकारी पाए । आमा माया एप्समा जोडिएका महिलाहरुको कोरोना महामारीको समयमा स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि हामीले उनीहरुलाई बेला बेलामा फोनमा सम्पर्क गरिरह्यौं । कोरोना महामारीको समयमा गर्भवती महिलाले भोगेका समस्याबारे उनीहरुसँगको सम्पर्क पछि हामीले जानकारी पायौं । त्यतिबेला गर्भवती महिलाहरु खोप, आइरन चक्कीको सेवन, नियमित स्वास्थ्य परीक्षण लगायतका सुविधाबाट वन्चित थिए ।
हामीले कोरोना महामारीको समयमा गर्भवती महिलाले भोग्नु परेको समस्या स्वास्थ्य मन्त्रालयसम्म लग्यौं । कोरोना महामारीको समयमा हामीले प्रसुती गृहको सहकार्यमा प्रसुती गृह परिसर भित्र ३ जना मिडवाइफ राखेर निन्तर गर्भवती महिलाहरु संग टेलिफोन मार्फत सम्पर्कमा बस्यौ । टेलिफोनमा जोडिनको लागी छुट्टै टोल फ्रि नम्बरको पनि व्थवस्था गरेका थियौ । आमाको माया एप्सको प्रयोगकर्तामा सहरी क्षेत्रका महिलाहरु धेरै छन् । कोरोना महामारी पश्चात् पनि हामीले आमाको माया संस्थामा नै मिडवाइफ राखेर काम गरिरहेका छौं । हाल ११ हजार आमाहरु हाम्रो नेटवर्कमा छन् ।
योजना
सहरी क्षेत्रका आमाहरुको सहज पहुँच एप्समा भएपनि पहुँचमा नभएका ग्रामीण क्षेत्रका महिलाहरुलाई कसरी नेटवर्कमा जोड्ने भन्नेबारे हामी अध्ययनमा नै छौं । त्यसका लागि स्थानीय निकायसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु बनाउने तयारी हाम्रो छ । सबै महिलाको पहुँच यसमा पुर्याउनका लागि हामीले स्थानीय निकायसँगको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गर्ने कार्यको थालनी समेत गरिसकेका छौं । काठमाडौं महानगरको वडा नं १६ बाट हामीले स्वास्थ्य शिविर सञ्चालन कार्यको थालनी गर्ने भएका छौ । वडा १६ मा सुकुम्बासीहरुको संख्या धेरै भएकोले हाम्रो पहिलो छनोटमा काठमाडौंको वडा १६ परेको हो ।
कुनै पनि महिला गर्भवती भएदेखि बच्चा नजन्मिदा सम्म विभिन्न समस्यामा पर्ने गर्छिन् । जसको पहिलो कारण अज्ञानता नै हो । गर्भवती अवस्थामा गर्न हुने तथा नहुने कामका बारेमा थाहा नहुँदा अझै पनि धेरै आमाहरुको मृत्यु हुने गर्छ । त्यसका लागि गर्भवती अवस्थामा के गर्न हुन्छ तथा के हुँदैंन भन्नेबारे जानकारी गराउनु नै हाम्रो पहिलो काम हुनेछ । स्वास्थ्यकर्मीसँगको पहुँचमा हरेक आमाहरुलाई लैजानु हाम्रो दोस्रो काम हुनेछ । हाम्रो संस्थामा दर्ता हुनु भएका आमाहरुको नामावली हामीले स्थानीय तहलाई दिन्छौं । हामीले सुर्खेतको वीरेन्द्रनगर,पोखरा महानगरपालिका,तथा मुगुमा समेत काम गरिरहेका छौं । स्थानीय निकायले आफूलाई चाहिने उपकरणहरु किन्ने र हामीले तालिम तथा सफ्टवेयर दिने गरी काम भइरहेका छन् ।
कामको चुनौती
सबैभन्दा ठूलो चुनौती नितीमा नै रहेको छ । गर्भवती महिलाको ज्यान जोगाउनुमा नै ठूलो चुनौती रहेको छ । यदि बिद्यालय तहदेखि नै गर्भावस्थाको बारेमा विभिन्न जानकारी दिन सकिएको खण्डमा यस क्षेत्रमा पक्कै पनि सुधार गर्न सकिन्छ । गर्भवती स्याहार सम्बन्धि शिक्षा पुरुषलाई पनि दिन आवश्यक हुन्छ । गर्भावस्थालाई स्मरणीय र भयरहित कसरी बनाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित भएको छ ।
बच्चा जन्माउने क्रममा शल्यक्रियाको गर्नु अहिले फेसनको रुपमा नै चलेको छ । यदि प्रेग्नेन्सीलाई खुसी र भयरहित बनाउन सकिएको खण्डमा शल्यक्रियाको संख्यालाई कम गर्न सकिन्छ । बच्चा गर्भमा बसेदेखि डेलिभरीसम्मको अवस्थामा आइपुग्दा श्रीमान श्रीमतीबीच हुने सञ्चारलाई महत्वपूर्ण मानिन्छ । यदि श्रीमानले हरेक दिन श्रीमतीलाई खुसी बनाउन सकेको खण्डमा पीडालाई कम गर्न सहयोग पुग्छ।
भयरहित प्रेग्नेन्सी बनाउन पुरुषको भूमिका
प्रेग्नेन्सीको समयमा पुरुषको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । हर्मोनमा हुने परिवर्तनका कारण प्रेग्नेन्सीको समयमा महिलाहरुमा विभिन्न प्रकारका शारीरिक तथा मानसिक परिवर्तन हुन्छन् । श्रीमानले प्रेग्नेन्सीका समयमा महिलालाई दिने समय पनि महत्वपूर्ण हुन्छ । आमालाई नौ महिनासम्म तनावरहित बनाउन सकेको खण्डमा बच्चा स्वस्थ जन्मन सक्छ । गर्भावस्थामा आरामदायी बनाइदिन सकेको खण्डमा डेलिभरीमा खासै समस्या नै आउँदैन । डेलिभरीका क्रममा हुने शल्यक्रियालाई कम गर्न सकेको खण्डमा महिला स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिन्छ।