काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीतिका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताएकी छन्।
स्वास्थ्य सेवा विभागद्वारा आयोजना भएको महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ गर्दै उनले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
संविधानमा प्रजनन् स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि भएको भन्दै अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीर रुपमा ध्यान जानुपर्ने बताइन् ।
“हामीले प्रजनन् स्वास्थ्यलाई मौलिक हक त बनायौ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौँ,” उनले भनिन्, “अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा आमसञ्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ ।”
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले साझेदार संस्थाहरुसँग मिलेर महिला स्वास्थ्य सम्मेलन आयोजना गरेको हो । नेपालमै पहिलो पटक यो सम्मेलन आयोजना भएको हो ।
दुई दिन हुने सम्मेलनमा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर, किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, महिला स्वास्थ्य र पोषणको विषयमा चर्चा तथा छलफल हुने आयोजकले जनकारी दिएका छन्।