काठमाडौं । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपालमा जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका बारेमा राष्ट्रिय प्रारम्भ कार्यशाला गोष्ठी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा गोष्ठी भएको हो ।
नेपालमा जलवायु परिर्वतनले स्वास्थ्य क्षेत्रमा पारेको असर, जोखिम तथा अनुकुलनको मूल्याङ्कनका विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा.मेधनाथ धिमालको प्रस्तुति रहेको थियो ।
डा. धिमालले जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा दुषित पानी र खाना, वायु प्रदुषण, खडेरी र पोषणको कमीबाट उत्पन्न हुने रोग, चोटपटक तथा मनोरोगहरु जस्ता समस्याहरु बढिरहेको बताए । तापमान वृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न किटजन्य र पानी जन्य जस्ता सरुवा रोगको प्रकोप बढेको छ । भारी वर्षाले निम्त्याउने बाढी र पहिरो जस्ता प्रकोपहरूले पिउने पानीलाई दूषित बनाई हैजा वा टाइफाइडको प्रकोप जस्ता जनस्वास्थ्य संकटहरू आइरहेको बारे जानकारी दिएका थिए ।
राष्ट्रिय जलवायु परिवर्तन स्वास्थ्य अनुकुलनको मुख्य सिद्धान्त स्वास्थ्य क्षेत्रमा आवश्यक मात्रामा साझेदारिता बढाएर जलवायु परिवर्तनबाट स्वास्थ्यमा पर्ने असरहरुको रोकथाम गर्नु हो ।
त्यसैगरी समग्रमा राष्ट्रिय अनुकूलन योजना तयार गर्न र त्यसको प्रभावकारी कार्यान्वयन गर्न पनि यसले सहयोग पुर्याउँनु पर्ने उनले बताएका छन् ।
सम्पुर्ण रणनीतिक साझेदारहरुसँग सहकार्य गदै जलवायु परिवर्तनबाट स्वास्थ्यमा पर्ने असरहरुको न्यूनीकरण गर्नु नै यस योजनाले निर्धारण गरेको लक्ष्य हो । यस योजनाले ध्यान दिन खोजेको पक्ष भनेको न्युनीकरण, अनुकूलन र समानुकूलनको रणनीतिद्धारा जलवायुपरिवर्तनको प्रभावबाट मानव स्वास्थ्यको संरक्षण गर्नु रहेको छ । यसै पृष्ठभूमिमा कुनै निश्चित अवधिभित्र उपलव्ध स्रोत र साधनको उचित प्रयोग गरेर राष्ट्रिय स्वास्थ्य अनुकूलन सम्वन्धी उद्धेश्य प्राप्तिका निम्ति यो योजना तयार गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डा. रोसन पोखरोलले जलवायु परिवर्तनको विषय महत्वपूर्ण रहेको र यसमा सम्बन्धित निकायले विषेश प्रथमिकताका साथ हेर्नुपर्ने र मिलेर अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रमका अतिथिहरुमा स्वास्थ्य मन्त्रालयका सचिब डा. रोसन पोखरेल ,स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमन सिंह , स्वास्थ्यकी अतिरिक्त सचिव डा संगीता कैशल मिश्र , राष्ट्रिय योजना आयोगका सहसचिब डा. किरण रुपाखेतीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रमको अधक्ष्यता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीको रहेको थियो ।
नेपालले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेका विभिन्न प्रतिबद्धता नेपालको संविधान २०७२, राष्ट्रिय स्वास्थ्य नीति २०७६, राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६, वातावरणसंरक्षण ऐन २०७६, जनस्वास्थ्य ऐन २०७५, राष्ट्रिय अनुकूलन योजना २०२१–२०५०,पन्धौं योजना आदि नीति तथा कार्यक्रमहरुले जलवायु परिवर्तनले स्वास्थ्य अनुकूलन रणनीति तथा कार्ययोजना तयार गरी लागु गर्नुपर्ने कुरा निर्देशित गरेको छ ।