शल्यक्रियाको प्रक्रियामा आवश्यक पर्ने सहायता उपलब्ध गराउन २४ सै घण्टा एनेस्थेसिया चिकित्सकको आवश्यकता पर्ने हुन्छ । एनेस्थेसिया भनेको शल्यक्रिया प्रक्रिया गर्नका लागि सहज होस् भन्दै शल्यक्रिया गर्ने चिकित्सकलाई सहयोग गर्ने चिकित्सक हुन् ।
चाहे जुनसुकै क्षेत्रमा होस् पेशागत रुपमा आफ्नो भूमिका निर्वाह गर्नका लागि महिलालाई चुनौतीपूर्ण नै छ । अझै चिकित्सकीय क्षेत्र महिलाका लागि बढी चुनौतीपूर्ण छ । जुनसुकै समयमा कामका लागि तयार हुनुपर्ने भएकोले विवाहपश्चात् महिलाहरुका लागि चिकित्सकीय पेशामा अझै चुनौती थपिन्छ । पेशागत दायित्व निर्वाह गर्ने क्रममा एक महिला चिकित्सकले भोग्नुपरेका संघर्ष, चुनौती तथा आगामी दिनका योजनाहरुका बारे महिला स्वास्थ्यका लागि लक्ष्मी चौलागाईंले जानकी मेडिकल कलेजकी एनेस्थेसिया चिकित्सक सँग गरेको कुराकानीको सम्पादित अंश
चिकित्सा क्षेत्रको अन्य विधा नरोजी किन एनेस्थेसिया नै रोज्नुभयो
बिरामीसँग सिधा सम्पर्कमा काम गर्न पाइने भएकोले मैले एनेस्थेसिया विधा रोजें । यदि चिकित्सा पेशामा नभएको भए म चार्टर एकाउन्टेन्ट हुन्थे होला । मेरो दिदी चार्टर एकाउन्टेन्ट भएकाले मलाई पनि चार्टर एकाउन्टेन्ट बन्नका लागि प्रेरणा दिनुभएको थियो । आफ्नै चाहनाले म चिकित्सक भए । स्वास्थ्य क्षेत्रमा काम गर्न चुनौतिपुर्ण भएपनि समाजलाई योगदान दिन पाँउदा आफ्नो पेशा प्रति गर्व महसुस हुन्छ ।
विवाहपछि महिलाहरुले पेशागत जीवन र पारिवारिक जीवनलाई सन्तुलनमा राख्नका लागि धेरै चुनौतीहरुको सामना गर्नुपर्ने हुन्छ । कुनै पनि चिकित्सकको पेशागत जीवनमा निश्चित समय हुँदैंन । बिरामीको अवस्था अनुसार जतिसुकै बेला पनि काम गर्नका लागि तत्पर हुनुपर्छ । जुनसुकै चिकित्सकले २४ सै घन्टा आवश्यकता अनुसार काम गर्न तयार हुनुपर्छ । यस अवस्थामा महिला चिकित्सकहरुलाई पारिवारिक सन्तुलन मिलाउन चुनौतीपुर्ण हुन्छ ।
पारिवारिक तथा पेशागत जीवनलाई कसरी अगाडि बढाइराख्नु भएको छ ?
हरेक पेशामा सफलता हासिल गर्नका लागि परिवारको भूमिका महत्वपूर्ण हुन्छ । पारिवारिक सपोर्ट भएको अवस्थामा परिवार र पेशा दुवैलाई सँगै लैजान सहज हुन्छ। मेरो विवाह पछिको परिवारले मेडिकल क्षेत्रलाई बुझेको हुदाँ काममा सहज भएको छ । कहिलेकाही पारिवारिक कार्यक्रम छुटाउनुपर्ने पनि हुन्छ । यस्ता सम्पूर्ण कुराहरुको बारे जानकार भएर नै यस पेशामा आबद्ध भएको कारण त्यसमा दुख भने लाग्दैन । आफ्नै चाहनाले रोजेको यस पेशाप्रति सन्तुष्ट छु ।
जानकी मेडिकल कलेजमा काम गर्दाको तपाईंको अनुभवमा मधेशको स्वास्थ्य सेवाको स्थितीलाई नेपालको अन्य क्षेत्रको स्वास्थ्य सेवाको स्थितीसँग कसरी तुलना गर्नुहुन्छ
करिब डेढ वर्षको समय मैले काठमाडौंमा नै चिकित्सकको रुपमा काम गरें । जानकी मेडिकल कलेजमा आबद्ध भएको एक वर्ष भन्दा बढी नै भइसक्यो । चिकित्सक भएर कामको सुरुवात गरेदेखी नै जानकी मेडिकल कलेजसँग म कुनै न कुनै रुपमा जोडिएको नै थिए । यहाँका बिरामी र त्यहाँका बिरामीमा पाएको मुख्य फरक नै चेतनाको स्थिती हो । काठमाडौंमा सानोतिनो स्वास्थ्य समस्या आए पनि चिकित्सक कहाँ जाने संस्कारको विकास भइसकेको छ । व्यस्त जीवनशैलीका बाबजुत पनि काठमाडौंका मानिसहरु स्वास्थ्य परीक्षणलाई प्राथमिकता राख्छन् । मधेशका बिरामीहरुको रोगले अत्यन्तै च्यापेर दैनिक क्रियाकलाप गर्ननै अप्ठ्यारो स्थिती पैदा भएपछि मात्रै अस्पताल आइपुग्छन् । जसका कारण सजिलै हुने उपचारमा पनि जटिलता उत्पन्न हुन्छ ।
मधेसमा प्राय बुढाबुढीहरु मात्रै घरमा हुने भएकोले पनि उनीहरुलाई समयमै अस्पताल ल्याइदिने मान्छे हुँदैंनन् । यातायातको असुविधाका कारण पनि बिरामी ढिलो अस्पताल आइपुग्ने गर्छन् । बिरामीहरु चिकित्सकको पृष्ठभूमि अध्ययन नै नगरी उपचारका लागी आउने गर्छन् । हेल्थपोष्ट, मेडिकल कलेज क्ल्निीक लगायतका ठाउँहरुमा पाइने सेवाको बारेमा अन्तर बुझ्ने जनसंख्या त्यहाँ एकदमै कम छ । सकेसम्म घरनजिकैको मेडिकलबाट औषधि किनेर खाने र रोग निको पार्ने परिपाटी मधेसमा छ। चिनजान तथा सम्पर्कका आधारमा बिरामीहरु उपचारमा आउने गर्छन् । उपचारका क्रममा ग्यारेन्टी माग्ने चलन मधेसमा छ । बिरामी उपचारका लागि काठमाडौंको तुलनामा मधेसमा ग्राहै छ ।
मधेसमा महिला स्वास्थ्यको अवस्था कस्तो छ ?
महिला स्वास्थ्य र समंग्र स्वास्थ्य अवस्थामा खासै ठूलो फरक देखिदैंन । समंग्रमा नै एकै खालको समस्या त्यहाँ रहेको छ। अस्पताल ढिलो आइदिने तथा उपचार ढिलो सुरु हुनु नै स्वास्थ्यको प्रमुख समस्याका रुपमा देखिएको छ । सकेसम्म कम उपचारले नै निको होस् भन्ने धारणा, पेनकिलरले सबै खालका स्वास्थ्य समस्याको समाधान होस् भन्ने धारणा ,शल्यक्रिया गर्नु नपरोस् भन्ने धारणा छ । डेलिभरीका लागि बाहेक अन्य स्वास्थ्य समस्याको उपचारका लागि अस्पताल आउने महिलाहरुको संख्या एकदमै न्यून छ।
आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भन्नका लागि जानकी मेडिकल कलेजले ओपीडि सेवा निशुल्क, शल्यक्रिया, रगत परीक्षण लगायत विभिन्न सेवाहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । यसले उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा केही सुधार भएको छ । बेला बेलामा स्वास्थ्य शिविरको माध्यमबाट हामी बिरामीको पहुँचमा पुगिरहेका छौं ।