गत फागुन ५ गते वीर अस्पतालको निर्देशकको रुपमा डा.सन्तोष पौडेल नियुक्त भएका थिए । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै अर्थोपेडिक सर्जन डा पौडेललाई वीर अस्पतालको कार्यकारी अधिकारीमा नियुक्त गरेका हुन् ।
उनको नियुक्तिले वीर अस्पतालमा रहेका बेथिती तथा विसंगतीहरु पन्छाउने चुनौती तथा अवसर दुवै खडा गरेको छ । काठमाडौंको मुटुमा रहेको यस अस्पताल उच्च तथा निम्न वर्गका मानिसहरुको उपचारको गन्तब्य बन्दै आएको छ । यो सँगै डा. सन्तोष पौडेलको वीर अस्पतालमा नियुक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आगामी दिनमा वीर अस्पताल सुधारमा उनको योजना, नीतिगत पाटो,तथा जनगुनासाहरुको सम्बोधनको पेरिफेरिमा रहेर महिला स्वास्थ्यका लागि आश्मा बमसँग गरिएको कुराकानीको सम्पादित अंश :
वीर अस्पतालको निर्देशकको जिम्मेवारी पाउनुभएको छ ,सुधारको के के पक्षहरु देख्नुभएको छ ?
अस्पताल निर्देशकको जिम्मेवारी लिएको खासै धेरै समय भएको छैन। अस्पताल सुधारका लागि के कस्ता कामहरु गर्न सकिन्छ भन्नेबारे म कार्ययोजना बनाउँदै छु । दैनिक जसो अस्पतालका प्रत्येक विभागका प्रमुखहरुसँग अस्पताल सुधारका लागि आगामी दिनमा गर्न सकिने काम तथा आगामी दिनका योजनाबारे छलफलमा नै छु । केही समयभित्र निश्चित योजनाका साथ अस्पताल सुधारमा केन्द्रित हुनेछौं ।
अस्पताल सुधारका लागि मुख्यतया दुईवटा काम गर्न आवश्यक छ। एउटा हाल भइरहेकोलाई व्यवस्थापन, अर्को नीतिगत सुधार । कतिपय कुराहरुलाई व्यवस्थित गर्नका लागि नीतिगत सुधार नै गर्नुपर्ने आवश्यक छ । पहिलो चरणमा व्यवस्थापन तर्फ नै केन्द्रित हुने मेरो सोच छ ।अहिलेकै अवस्थामा कसरी कामको बढी भन्दा बढी प्रतिफल लिने भन्नेमा केन्द्रित भएर काम गरिरहेका छौं ।
हामीले अहिले गर्न खोजेको आधारभुत खालको व्यवस्थापकीय परिवर्तन हो , जस्तै अस्पताल परिसरको सरसफाईमा ध्यान दिने, अस्पताललाई बिरामीमैत्री बनाउने,सवारी पार्किङको व्यवस्थापन,ह्विलचेयर थप्ने,अंपागमैत्री शौचालय बनाउने,स्वास्थ्य बिमा मार्फत् पाउने सेवा सुविधालाई कसरी व्यवस्थित गर्ने ,घन्टौ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य कसरी गर्ने भन्नेमा मेरो ध्यान केन्द्रित भएको छ।
अस्पतालमा सेवा पाउने समय कम भएको महसुस भएको छ । ९ देखी ५ सम्म सेवा अवधी रहेकोमा त्यसलाई बढाउने योजना छ । अस्पतालको सेवा दिने समयबढेपछि भीडभाड कम हुन्छ भन्ने विश्वास छ ।
बिरामीले शल्यक्रियाका लागि महिनौं कुर्नुपर्ने बाध्यता छ। अस्पतालका उपकरण अभाव तथा जनशक्तिका कारण नचलेका शल्यक्रिया कक्षलाई तत्कालै सञ्चालनमा ल्याउने तयारीका साथ काम गरिरहेका छौं । हाल ९ देखी ५ बजेसम्म चल्दै आएको शल्यक्रिया कक्षलाई बिहान ८ देखी साँझ ८ बजेसम्म चलाउन सकेमा शल्यक्रियाको लागि महिनौ कुर्नुपर्ने बाध्यतालाई कम गराउन सकिने थियो ।
मेरो आगामी दुई वर्षको कार्यकालमा स्वास्थ्य सेवा लिनेहरुको संख्या ३ गुणाले बढाउने योजना छ । हाल वार्षिक १० हजार शल्यक्रिया हुने गर्छ भने त्यसलाई बढाएर कम्तीमा पनि २० हजारमा लैजाने लक्ष्यका साथ काम गरिरहेको छु । सेवा अवधि हाल ६ घन्टा रहेको छ भने त्यसलाई बढाएर ८ देखी १२ घन्टासम्म लैजानुपर्ने अवस्था छ।
एउटै बेडमा तीन जना बिरामी सुत्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि हामीले आकस्मिक सेवामा बिरामीको वर्गीकरणको काम गरिसकेका छौं ।
नीतिगत सुधारका पाटाहरु के के छन् ?
नीतिगत सुधारमा बिरामीको चाप अत्याधिक भएसँगै सेवाको अवधी बढाउनुपर्ने छ । कामको अवधि बढेपछि सेवा लिने बिरामी संख्या पनि बढ्न जान्छ। काठमाडौंको मुटुमा रहेको यस अस्पतालले कम्तीमा पनि काठमाडौं उपत्यका भित्रका आकस्मिक बिरामीहरुलाई सहजै एम्बुलेन्स सेवा दिने हिसाबले काम गर्ने योजना बनाएको छ । यसका लागि काठमाडौं महानगरसँगको समन्वयमा काम गर्ने हामीले योजना बनाएका छौं ।
वीर अस्पतालमा मृगौला रोगीहरुले डायलाइसिसका लागि कुर्नुपर्ने अवस्था रहेको भन्दै व्यापक गुनासाहरु आउने गरेका छन् ?यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
आकस्मिक रुपमा डायलाइसिस सेवा लिन आउने बिरामीहरुले कुर्नुपर्ने अवस्था छैन । जो रुटिङ अनुसार डायलाइसिसका लागि वीर अस्पताल आउँछन्, उनीहरुले कुर्नुपर्ने अवस्था रहेको छ। त्यसका लागि हामीले डायलाइसिस बेडहरु थप्ने योजना बनाएका छौं ।
आकस्मिक सेवा बढाउने तथा रुटिङ डायलाइसिसको सेवा थप्ने दुवै काम छिट्टै हुनेछ । वीर अस्पतालले मात्रै धान्न नसक्ने अवस्था भएपछि हामीले जिल्ला जिल्लामा डायलाइसिस बारेका तालिम चलाएका छौं । हाल गण्डकी प्रदेशका ८ वटा जिल्लाले डायलाइसिसको सेवा दिइरहेका छन् ।
वीर अस्पतालले दिने सेवाले मात्रै पुरै नेपाललाई धान्न सक्दैन भन्दै समाजिक उत्तरदायित्वको आधारमा वीर अस्पतालले काम गरिरहेको छ ।
वीर अस्पतालको आकस्मिक मेडिकल टिम मार्फत् सेवा दिनका लागि कस्तो योजना छ ?
यो हालको काम भन्दा पनि मेरो कार्ययोजना हो । अन्य देशमा ९११ डायल गरेपछि आकस्मिक स्वास्थ्य सेवा पाइन्छ । वीर अस्पतालको हकमा मुख्य मुख्य शहरहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्न सकेको अवस्थामा जनतामा स्वास्थ्य सेवाको प्रभावकारीता बढ्न सक्ने विश्वासका साथ वीर अस्पतालले काम गरिरहेको छ । आगामी दिनमा देशैभरि यस्तो सेवा लैजान सकिन्छ कि भन्ने हिसाबले यो योजना बनाइराखेको छौ ।
राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक हुँदा यसै अवधारणा अनुरुप काम गर्न मेरो पहलमा नयाँ एम्बुलेन्स समेत खरिद गरिएको थियो । आगामी दिनमा वीर तथा ट्रमा दुवैका लागि आकस्मिक मेडिकल टिम बनाएर काम गर्न सकिएको खण्डमा हामीले विभिन्न संघ संस्थाहरुबाट सहयोग समेत पाउने छौं । यसमा महानगर, रेडक्रसले सहयोग गर्छ भन्ने अपेक्षा छ ।
वीर अस्पतालको फार्मेसीमा औषधि अभाव रहेको गुनासाहरु आउने गरेका छन् कसरी व्यवस्थापना गर्ने योजना छ ?
टेन्डरको प्रक्रिया तथा सस्तो औषधी राख्नुपर्ने बाध्यताले गर्दा चिकित्सकले प्रेस्काइभ गरेको औषधि नपाइने कुरा साँचो हो । त्यसमा पछिल्लो दिनमा केही संसोधन भएको छ ।
चिकित्सकले लेखेको औषधि विभागबाट सिफारिस भएपछि औषधि र उपचार कमिटीबाट सिफारिस भएको अवस्थामा किन्न मिल्छ । कमिटीले सिफारिस गरेको औषधि चिकित्सकले नलेखेको अवस्थामा औषधि नपाइने समस्या भएको हो, फार्मेसीमा औषधि नै अभाव भएर होइन ।