जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा दुषित पानी र खाना, वायु प्रदुषण, खडेरी र पोषणको कमीबाट उत्पन्न हुने रोग, चोटपटक तथा मनोरोगहरु जस्ता समस्याहरु बढिरहेको छ ।
तापमान वृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न किटजन्य र पानी जन्य जस्ता सरुवा रोगको प्रकोप बढेको छ । भारी वर्षाले निम्त्याउने बाढी र पहिरो जस्ता प्रकोपहरूले पिउने पानीलाई दूषित बनाई हैजा वा टाइफाइडको प्रकोप जस्ता जनस्वास्थ्य संकटहरू आइरहेको छ।
जलवायु परिवर्तन र महिलास्वास्थ्य
जलवायु परिवर्तनको असर महिला तथा पुरुष दुवैलाई परेको हुन्छ तर विभिन्न अध्ययन अनुसन्धानहरुले जलवायु परिवर्तनले महिलाहरुमा बढि असर पार्ने देखाउँछ । जल वायु परिवर्तनको क्षेत्रमा कार्यरत व्यक्तिहरुका अनुसार यसले स्वास्थ्यमा पार्ने प्रभाव तठस्त हुँदैन । महिला र पुरुषमा फरक फरक असर हुने बताउँछन् । जलवायु परिवर्तनका कारण महिलाको स्वास्थ्य, शिक्षा, तथा रोजगारीमा समेत असर पुगेको छ ।
अहिले पनि हाम्रो समाजमा घर गृहस्ति को सम्पुर्ण जिम्मेवारी महिलाको हुन्छ । दुरदराजमा घरमा पानी ल्याउनुपर्दा पुरुषभन्दा महिला नै अगाडि हुन्छन् । घरका कोही सदस्य बिरामी भएमा त्यसको रेखदेखको पूर्ण जिम्मेवारी महिलाकै हुन्छ । जलवायु परिवर्तनको असरले झाडा पखाल, डेंगु जस्ता रोगहरुको संख्या दैनिक जसो बढि रहेको छ । यसरी बिरामीको संख्या बढ्दै जाँदा महिलाहरुको समय बिरामीको स्याहारमा जाने गर्छ ।
जलवायु परिवर्तनको असरले कतिपय ठाउँहरुमा पानीको मुहान सुकेका छन् । पानीका मुहानहरु सुक्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव महिलाहरुलाई नै पर्छ । पानीको मुहान सुकेपछि उनीहरुसँग दुईवटा विकल्प हुन्छन् कि लामो समय कुरेर पानी ल्याउनुप¥यो कि त अझै टाढा गएर पानी ल्याउनुप¥यो । यस्तो अवस्थामा गर्भवती भएकी महिलाको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्छ । साथै डेलिभरी लगतै काम गर्दा महिलाहरुमा आङ खस्ने समस्या आउन सक्छन् ।
यसको कारण खडेरीको समस्या उत्पन्न हुन्छ । खडेरीका कारण अन्नवाली उत्पादनमा कमी आउँछ । अन्नबालीको उत्पादन कम हुँदा घरमा पाक्ने खानाको मात्रामा कमि आँउछ । जसका कारण अन्त्यमा खाने महिलाको शरीरलाई आवश्यक खानाको परिपूर्ति नहुन सक्छ । यसको प्रत्यक्ष प्रभाव महिला स्वास्थ्यमा पर्न जान्छ। उनी कुपोषित हुन पुग्छिन् र स्तनपान गरिरहेका बच्चामा पनि असर पुग्छ ।
यसका कारण किशोरीहरु उमेर नै नपुगी महिनावारी हुने गरेको देखिन्छ । हामीले महिला सशक्तिकरणको लागि शिक्षा दियौ तर कक्षामा अनुपस्थित हुनुपर्दा एउटी बालिका अथवा काममा एउटा महिला नै हुन्छे । यसलाई सम्बोधन गर्ने खालको कार्यक्रम हुन आवश्यक छ ।
निर्णय प्रक्रियामा महिलाको संलग्नता
प्राय विकास निर्माणका कार्यमा पुरुषहरु अग्रसर हुन्छन्। तर कुनै पनि गाउँमा धारा बनाउनुपर्यो भयो भने त्यसको निर्णय गर्ने अधिकार महिलाहरुलाई दिनुपर्छ ।
खडेरी बढिरहेको अवस्थामा त्यस संग जुध्न कस्ता बोट बिरुवा लगाउने भन्ने विषयमा महिलाको भुमिका महत्वपुर्ण हुन्छ । महिलाहरुको बिज्ञता भएको क्षेत्रमा काम गर्दा उनिहरुको सल्लाहले सफल योजना बनाउन सहयोग गर्छ ।
पानी नपर्दा पार्ने असरबारे पुरुषलाई सोध्नुपर्दा उसले खेतिपातिमा हुने प्रभाव बारे भन्छ तर उसले महिलालाई दिनचर्यामा पार्ने असर बारे ख्यालनै गरेको हुदैन । हरेक व्यक्तिले आफ्नो अनुभव र ज्ञान अनुसार योजना बनाउछ । पुरुषका लागि जीवीकोपार्जन महत्वपूर्ण हुन्छ भने महिलाहरुका लागी दिनचर्या ।
यी सबै परिणामबाट हामी एउटै निश्र्षमा पुग्न सक्छौ , विकास निर्माणका योजनाहरु निर्माण हुँदा हामीले लैङ्गिक संवेदनशील योजना बनाउन आवश्यक छ । महिलालाई विकास योजनाका कार्यहरुमा संलग्न गराउदा सफल योजनाको निर्माण हुन्छ।
पछिल्लो अध्ययनमा के छ ?
पछिल्लो समयमा गरिएका विभिन्न अध्ययन अनुसार जलवायु परिवर्तनको प्रत्यक्ष असर मानवीय मानसिक स्वास्थ्यमा परेको छ ।
त्यस्तै जलवायु पविर्तनका कारण मृगौला रोगीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । असन्तुलित वातावरण, उच्च तापक्रममा काम गर्ने भएकोले आजकाल मानिसहरुमा अन्य स्वास्थ्य समस्याहरु समेत बढिरहेको छ । अन्नबालीमा बढी मात्रामा बिषादीको प्रयोग हुनुले मानव स्वास्थ्यलाई झनै नकारात्मक प्रभाव पारिरहेको छ । खेतीपातीको काममा प्रयोग हुने विषादीले विभिन्न प्रकारका क्यान्सरको जोखिम समेत बढाउँछ ।
जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भएकोले यसको न्यूनीकरणका लागि बेलैमा सचेत हुनु आवश्यक छ । विभिन्न प्रकारका अध्ययन तथा अनुसन्धान गरी विश्व मै जलवायु परिवर्तनको असर न्युनीकरण गर्नतर्फ लाग्नु अहिलेको आवश्यकता बनेको छ ।जलवायु परिवर्तनबाट स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्नका लागि सम्पुर्ण रणनीतिक साझेदारहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ ।