एजेन्सी । एक्काइसौँ शताब्दीको चरम विकाससँगै विज्ञान र प्रविधिको उपलब्धिका कारणले मानिसलाई एक पाइला हिँड्न र कुनै काम पनि आफूलाई गर्न परेको छैन ।
मानिसले गर्ने काम सबै मानव निर्मित यन्त्रहरूबाटै भइरहेका छन् । जसका कारण मानिस प्रविधिको दास भएको छ । खाना मीठो,चिल्लो र मसालादार खानुपर्ने,ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी बस्नुपर्ने आजका मानिसका दैनिकि बनिरहेका छन् ।
त्यस्तै मानिसमा आएका अधिक चेतनाका कारण विकसित प्रविधिसँगै हाल सरुवा रोगहरू नियन्त्रणतर्फ गइरहेका छन् तर नसर्ने खालका दीर्घकालीन रोगहरूले मानिसलाई ग्रस्त बनाइरहेको छ । त्यसमाथि वातावरण प्रदूषणले मानिसको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पु-याएको छ ।
कसरी बनाउने जीवनशैली स्वस्थ ?
१. गुलियो पेय पदार्थको सेवन घटाउने । पानीको मात्रा बढाउने,चिल्लोरहित दूध पिउने तर गुलिया खालका सोडा अथवा अन्य पेय पदार्थ नपिउने ।
२. खाना खाँदा परिवारसँगै बसेर घरमै खाने
परिवारसँग बसेर खाना खाँदा मीठोसँग बढी चपाएर खाने,बढी फलफूूल र तरकारी खाने,साना टुक्रा पारेर खाने,यसबाट कम खर्च हुने,परिवारसँग बसेर केही समय भए पनि कुराकानी गर्न पाउँदा आनन्द आउने ।
३. सक्रिय रहने
प्रत्येक दिन कम्तीमा १ घण्टा शारीरिक क्रियाकलाप गर्ने । यति गरे राति राम्ररी निदाउन सकिन्छ । तौल घट्न मद्दत पुग्छ,मन प्रसन्न रहन्छ । हाड,मांशपेसी,मुटु,फोक्सो स्वस्थ रहन्छ ।
४. प्रत्येक दिन बिहान स्वस्थकर खाजा खाने
कम्तीमा खानाका ३ समूह मिलाएर बिहानको खाजा खाएमा राम्रो शक्ति प्राप्त हुन्छ । सोचाइ राम्रो आउँछ,पौष्टिक तत्व पूरा पाइन्छ र शक्तिको ज्वलन भई मोटोपन नियन्त्रण हुन्छ ।
५. फलफूल र तरकारी अन्नको तुलनामा बढी खाने
एक दिनमा कम्तीमा ५ पटक फलफूल वा हरिया सागपातयुक्त तरकारी खानुपर्छ । विभिन्न रङ्गहरूयुक्त फलफूल र तरकारीले बलियो र स्वस्थ बनाउँछ ।
६. कम्प्युटर,टेलिभिजन वा मोबाइलको स्क्रिनमा एक दिनमा बढीमा २ घण्टाभन्दा बढी नबस्ने
आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगमा आउने कम्प्युटर,टेलिभिजन र मोबाइल फोनको कारण रक्तसञ्चार,स्नायु प्रणाली,आँखा र मष्तिष्कमा बढी असर गर्ने भएकाले यस्ता साधनको कम प्रयोग गर्ने वा एक दिनमा बढीमा २ घण्टासम्म (त्यो पनि लगातार होइन) मात्र बसी अत्यावश्यक कार्यहरू गर्न सकिन्छ । तर समय कटाउन मात्र स्क्रिनमा बसेर समय खेर फाल्नुभन्दा खेलकुद वा शारीरिक क्रियाकलापमा लाग्दा राम्रो हुन्छ ।
७. प्रशस्त निदाउने
ऊर्जा सञ्चय र आरामका लागि मस्तिष्कलाई पनि आराम गराउनुपर्छ । बच्चा अवस्थामा त कम्तीमा पनि ९ घण्टा निदाएको हुनुपर्छ । राम्रो निदाइले झर्कने,विद्यालयमा समस्या थप गर्ने र दुर्घटना हुने अवस्थामा कमी आउँछ ।