विं. सं २०५९ सालदेखि नेपालमा पनि केही विशेष अवस्थामा गर्भपतन गर्न पाउने कानुनले व्यवस्था गरेको छ । गर्भपतन सम्बन्धी कानुनले बच्चा जन्माउने वा नजन्माउने निर्णय लिने अधिकार महिलालाई दिएको छ।
गर्भपतनले कानुनी मान्यता नपाउँदासम्म महिलाहरु अनिच्छित गर्भ रहँदा पनि बच्चा जन्माउन बाध्य हुन्थे । साथै धेरै महिलाहरुले लुकीछिपी असुरक्षित गर्भपतन गराउँदा जटिलताहरु उत्पन्न हुन गई ज्यानै समेत गुमाउनु परेको थियो भने कतिपय महिलाहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी जटिलताहरु भएका थिए । कानुनी व्यवस्थाले सुरक्षित गर्भपतन सेवा सर्वसुलभ गराई, मातृ मृत्युदर र स्वास्थ्य सम्बन्धी जोखिम घटाउन सहयोग गर्छ।
१.कानुन अनुसार कुन – कुन अवस्थामा गर्भपतन गर्न पाइन्छ ?
कानुनी व्यवस्था अनुसार सुरक्षित गर्भपतन सेवा प्रदान गर्न सुचिकृत स्वास्थ्य संस्थामा सुचिकृत स्वास्थ्यकर्मीद्वारा गर्भवती महिलाको मञ्जुीमा निम्न अवस्थामा गर्भपतन गर्न र गराउन पाइन्छ
गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ,
गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पर्न सक्ने अवस्थामा ,
जर्बरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भलाई महिलाको मञ्जुरीमा २८ हप्तासम्म गर्भपतन गराउन सकिने ,
महिलालाई एच.आई.भी जस्ता रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु तथा महिलालाई अन्य निको नहुने प्रकृतिको रोग लागेमा गर्भपतन गराउन सकिने ,
भ्रुणमा कमीकमजोरी भएको अवस्थामा गर्भ नष्ट गर्न सकिने ,
२ . कस्तो अवस्थाको गर्भपतनमा सजायको भागीदार हुनुपर्छ
गर्भवती महिलाको स्वीकृति बिना गर्भपतन गराउन बाध्य गराएको अवस्थामा ,
भ्रुणको लिगं पहिचान गरी गर्भपतन गराएको अवस्थामा ,
गर्भपतन गर्नका लागि कानुनले तोको अवस्था र अवधि बाहेक अन्य कुनै पनि अवस्थामा ।
३ं .सुरक्षित गर्भपतन भनेको के हो
कुनै पनि गर्भवती महिलाको मञ्जुरीमा , काननले मान्यता दिए अनुसार सुचिकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । यस बाहेक अरुबाट लिइएको गर्भपतन सेवा असुक्षित हुन्छ ।
४ .असुरक्षित गर्भपतन गराउँदा के – के समस्याहरु हुन सक्छन् ?
सरकारी तथा गैरसरकारी स्तरबाट सुरक्षित गर्भपतन सेवालाई जिल्ला एवं समुदाय तहसम्म नै लगिएको भएता पनि केही महिलाहरुले असुरक्षित तरिकाले जस्तै जठिबुटीको प्रयोग,सुचिकृत नभएको स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराइरहेका छन् । यसरी असुरक्षित तरिकाबाट गर्भपतन गराउँदा निम्न समस्याहरु हुन सक्छन् ।
गर्भपतन पूर्ण रुपमा नभई बढी रगत बग्ने ।
पाठेघरमा संक्रमण हुने ।
पाठेघर चोटपटक लागेर पाठेघर नै निकाल्नुपर्ने अवस्था आउन सक्ने ।
बाँझोपन हुन सक्ने ।
महिलाको मृत्यु समेत हुन सक्ने ।
असुरक्षित गर्भपतनबाट हुनसक्ने माथिका समस्याहरुबाट महिलाहरुलाई धेरै दिन अस्पतालमा बस्नुपर्ने हुनाले परिवारलाई आर्थिक र सामाजिक समस्या पनि हुनसक्छ । असुरक्षित गर्भपतन गर्नाले महिलाको ज्यानै जान सक्ने हुनाले असुरक्षित गर्भपतन कदापि गराउनु हुँदैंन ।
सुरक्षित गर्भपतन गर्ने तरिकाहरु के के हुन् ?
सुरक्षित गर्भपतन दुई तरिकाबाट गर्न सकिन्छ
१.औषधिको प्रयोगद्वारा
१० हप्ता भित्रको गर्भलाई औषधिको प्रयोगद्वारा सुरक्षित गर्भपतन गर्न सकिन्छ ।
उपकरणको प्रयोगद्वारा
–१२ हप्तासम्मको गर्भलाई साधारण उपकरणको प्रयोगद्वारा सुरक्षित रुपमा गर्भपतन गर्न सकिन्छ ।
– विशेष अवस्थामा १२ हप्ताभन्दा माथिको गर्भलाई पनि औषधिद्वारा र उपकरणद्वारा सुरक्षित साथ गर्भपतन गर्न सकिन्छ । हाल यो सेवा केही जिल्ला, अञ्चल, क्षेत्रिय र विशेष सुविधायुक्त अस्पतालहरुमा उपलब्ध छ ।